कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

घना बस्तीमा अकासिँदो संक्रमण

सम्पादकीय

मुलुकका अन्य स्थानमा जस्तै काठमाडौं उपत्यकामा पनि कोभिड–१९ संक्रमितको संख्या अकासिँदै गएको छ । सुरुका पाँच महिनासम्म यहाँ फाट्टफुट्ट मात्रै संक्रमण पुष्टि भए पनि पछिल्लो ६ दिनमै संक्रमितको संख्या ९२ बाट तीन गुणा बढेर २ सय ७६ पुगेको छ ।

घना बस्तीमा अकासिँदो संक्रमण

‘यात्रा इतिहास’ नै नभएका र रोगको लक्षण पनि नदेखिएकामा संक्रमण पाइनु चिन्ताको विषय हो । यसले घना बस्ती भएको काठमाडौंमा कतै समुदायमै संक्रमण त फैलिसकेको छैन भन्ने भय बढाएको छ । तसर्थ, सरकारले संक्रमित पहिचानका लागि ‘कन्ट्याक्ट ट्रेसिङ’ र परीक्षण बढाउनुपर्छ भने, नागरिकले खुकुलिएको लकडाउनमा होसियारीपूर्वक स्वास्थ्य सावधानी अपनाउनुपर्छ । केही व्यक्तिको थोरै असावधानीले पनि स्थिति नियन्त्रणबाहिर जान सक्छ भन्ने बोध सबैले गर्नुपर्छ ।

जिल्ला र विदेशबाट आउने क्रम सुरु भएसँगै काठमाडौंमा संक्रमितको संख्या बढेको हो । ढलमा पनि कोरोना भाइरस भेटिएकाले संक्रमण समुदायमै फैलिसक्यो कि भन्ने आशंका बढेको हो । यही कारण, सरकारले बस्ती–बस्तीमा नमुना स्वाब संकलन गर्न थालेको छ, जसलाई तीव्रता दिइनुपर्छ । अन्य कतिपय जिल्लाको तुलनामा काठमाडौंमा संक्रमितको संख्या कम भए पनि यहाँको जोखिम बढी छ । देशका १५ प्रतिशतभन्दा बढी अर्थात् हरेक ६ मध्ये एक नागरिक यही उपत्यकामा बसोबास गर्छन् । जनघनत्व बाक्लो भएको यो उपत्यका कदाचित ‘हटस्पट’ बन्न पुग्यो भने संक्रमण नियन्त्रणमा ल्याउन मुस्किल पर्छ । त्यसैले बेलैमा सरकार र नागरिक दुवै तहबाट सावधानीपूर्वक पाइला चाल्नुको विकल्प छैन ।

संक्रमण बढी रहेका जिल्ला तथा स्थानबाट काठमाडौं आउने क्रम जारी रहँदा पनि तिनीहरू निगरानी/स्वनिगरानीमा बसे–नबसेको कसैले ख्याल गरेको छैन । अधिकांश संक्रमित सामान्य नै देखिएको अवस्थामा ‘लक्षण नभएकालाई टेस्ट नगर्नू’ भन्ने वर्तमान निर्देशिका मात्रै पछ्याइए स्थिति भयावह बन्न सक्छ । तसर्थ, यात्रा विवरण भएकाहरूलाई कि निश्चित समयसम्म निगरानीमा बस्ने व्यवस्था मिलाइनुपर्छ, कि परीक्षण गरिनुपर्छ । नत्र, उनीहरू संक्रमित रहेछन् र ढुक्कसँग सामाजिक सम्पर्कमा गए भने संक्रमण धेरैमा फैलिने निश्चित छ । साथै, कति स्थानमा यात्रा इतिहास नै नभएकालाई पनि संक्रमण देखिएकाले सरकारले धेरैभन्दा धेरैको नमुना परीक्षण गर्नुपर्छ । संक्रमण थप फैलिन नदिन संक्रमितको सम्पर्कमा आएकाहरूको ‘कन्ट्याक्ट ट्रेसिङ’ र परीक्षणलाई तीव्र बनाइनुपर्छ । र, परीक्षणको नतिजा नआउन्जेल उनीहरूको निगरानी गर्नुपर्छ ।

संक्रमण फैलन नदिनु सरकार मात्र होइन, संक्रमित व्यक्ति र हरेक नागरिकको दायित्व हो । अहिले कतिपय संक्रमितहरू इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको ‘कन्ट्याक्ट ट्रेसिङ कन्ट्रोल रुम’ ले प्रयास गर्दा पनि सम्पर्कमा नआएको खबर छ । एकपटक सम्पर्कमा आएकाले पनि पछि ‘फोन अफ’ गरेको दुखेसो महाशाखाको छ । आफूलाई ‘आइसोलेसन’ मा राख्नु र आफ्नो यात्रा विवरण तथा सम्पर्कमा आएका व्यक्तिबारे सरकारलाई जानकारी दिनु संक्रमितहरूको मानवीय र नैतिक दायित्व हो । कसैले प्रकोप नियन्त्रण प्रयासलाई जानीजानी नसघाएर आफूलाई अलग्गै पनि राखेको छैन भने त्यो उसको अपराध हो, कानुनअनुसार यस्तो कार्य दण्डनीय हुन्छ । काठमाडौंवासीहरू महामारीप्रति धेरै सचेत नदेखिनु उत्तिकै उदेकलाग्दो पक्ष छ । अनावश्यक भीडभाड गर्नेदेखि मास्क नलगाई यात्रा गरेका दृश्य कैयौं देखिन्छन् । समाजका सचेत भनिएकै तह–तप्काबाट यस्ता गतिविधि भइरहेका छन् । राजनीतिक सरगर्मीबीच समूहगत बैठक/भेला त भइरहेका छन् नै, यसबीचमा प्रधानमन्त्रीको बचाउको नाममा भीडभाडपूर्ण जुलुस नै निस्कियो, जहाँ भौतिक दूरीको ख्याल गरिएकै थिएन । नेपाल विद्यार्थी संघले गरेको एक कार्यक्रममा त कांग्रेस सभापति शेरबहादुर देउवाले ‘सोसल डिस्ट्यान्सिङ नगरीकन टाँसिएर बसेको’ भन्दै रोष नै प्रकट गरे । त्रिभुवन विश्वविद्यायलय सभामा पनि न भौतिक दूरी कायम गरिएको थियो न सबैले मास्क लगाएका थिए । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा देखिने यस्ता दृश्यबाट आम नागरिकले के सिक्लान्, कसैले पनि सोचेको पाइएन । भाइरसले कुनै वर्ग, पेसा र पहुँच केही हेर्दैन, त्यसैले सबै जना जिम्मेवार बन्नैपर्छ ।

यो पहिलेजस्तो सामान्य अवस्था होइन । लकडाउन खुकुलो भएको हो, कोरोनाकाल सकिएको होइन, यो समस्या त झन्झन् गहिरिँदो छ । त्यसैले यसलाई एउटा निश्चित विन्दुबाट अघि बढ्न नदिन हामी सबै सजग बन्नैपर्छ । कोरोनाकाललाई कति अघिसम्म बढ्न दिने भन्ने सरकारले कसरी काम गर्छ र हामी नागरिक कति सतर्क रहन्छौं भन्नेमै भर पर्छ । सरकारले सोमबार मास्क नलगाई बाहिर ननिस्किन सार्वजनिक आग्रह गरेको छ । यसको सबैले पालना गर्नुपर्छ, मास्क लगाउँदा पनि झारा टार्न मात्र होइन, स्वास्थ्य सुरक्षाका लागि प्रभावकारी तरिकाले लगाउनुपर्छ । सरकारी होस् या निजी, सबै कार्यालयले आफ्ना कामकाजमा व्यक्तिगत दूरी कायम राख्नुपर्छ । भोलिका दिनमा सार्वजनिक यातायात सञ्चालन गर्दा पनि यो पक्षलाई ध्यान दिइनुपर्छ । भित्री सहरहरूमा फुटपाथ पसलका कारण पनि भीडभाड बढेको देखिन्छ, यसतर्फ सचेत बन्नुपर्छ । करिब आधा करोड मानिस बस्ने उपत्यकामा स्थिति नियन्त्रणबाहिर नजाओस् भनेर सबैको सचेत प्रयत्न जरुरी छ । यहाँको स्वास्थ्य पूर्वाधार र जनशक्तिको क्षमताले थेग्न नसक्ने स्थिति ननिम्त्याउनुमै हामी सबैको कल्याण छ ।

प्रकाशित : असार २४, २०७७ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?