कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण

एजेन्सी

ब्रासिलिया — ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित भएका छन् । ६५ वर्षीय राष्ट्रपति बोलसोनारोले मंगलबार टेलिभिजनमार्फत सम्बोधन गर्दै आफू कोरोना भाइरसबाट संक्रमित भएको बताएका हुन् ।

ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण

सोमबार उच्च ज्वरो आएपछि उनले कोरोना भाइरसको परीक्षण गराएका थिए । मंगलबार आएको रिपोर्टमा उनमा कोरोना पोजिटिभ देखिएको हो । आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिँदै उनले भने, ‘डराउनुपर्ने कुनै कारण छैन । यही हो जीवन । जीवन यसरी नै चल्छ ।’

राष्ट्रपति बोलसोनारोले यसअघि पनि पटक–पटक कोरोना भाइरसबाट डराउनु नपर्ने बताउँदै आएका छन् । उनले कोरोना महामारीलाई पटक–पटक सामान्य रुपमा मात्रै लिएको अभिव्यक्ति दिइरहेका छन् । उनले कोरोना भाइरसको संक्रमणलाई सामान्य ज्वरोको पनि संज्ञा दिएका थिए ।

उनले सामाजिक दूरी राख्नुपर्ने चिकित्सकको सल्लाहलाई पनि पटक–पटक मजाकमा उडाएका छन् । कोरोना संक्रमणका हिसाबले अमेरिकापछि सबैभन्दा बढी प्रभावित मुलुक ब्राजिल हो । र पनि उनले यसलाई सामान्य रुपमा लिन आग्रह गरिरहेका छन् । ब्राजिलमा मंगलबार बेलुकासम्म १६ लाख २३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ६५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । संक्रमण पुष्टि भएकामध्ये ब्राजिलमा १० लाख ६२ हजारभन्दा बढी निको भएका छन् ।

ब्राजिलमा गत मार्चमा पहिलो संक्रमण पुष्टि भएको थियो । त्यसपछि भने लगातार संक्रमण बढेको बढ्यै गऱ्यो । कोरोना संक्रमण व्यापक रुपमा फैलिए पनि राष्ट्रपति बोलसोनारोले राजनीतिक सभा सम्मेलनमा सहभागी भए । त्यो पनि कहिले गलत तरिकाले मास्क लगाएर त कहिले मास्क नै नलगाई सभा सम्मेलनमा सहभागी भएको भन्दै उनको व्यापक आलोचना भइरहेको छ ।

आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिँदै उनले आफ्नो स्वास्थ्य अवस्था एकदम ठीक भएको बताए । मास्क फुकालेर पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘मेरो अनुहारमा हेर्नुहोस् । म एकदमै ठीक छु । भगवानलाई धन्यवाद । मेरो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद । मेरो आलोचना गर्नेलाई पनि धन्यवाद, मलाई केही आपत्ति छैन । तपाईंले चाहेजति आलोचना गर्नुहोस् ।’

ब्रासिलियामा अमेरिकी राजदूत टोड च्यापम्यानको निवासमा लन्चमा सहभागी भएको तीन दिनपछि राष्ट्रपति बोलसोनारोमा कोरोना पोजिटिभ देखिएको हो । उनीसँगै ब्राजिलको मन्त्रिपरिषद्का केही सदस्य र उच्च अधिकारी पनि सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रकाशित : असार २३, २०७७ २२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?