निगम र हिमालय एयरलाइन्सका चालक दलका १४ जना संक्रमित

सुरज कुँवर

काठमाडौँ — विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार उडानमा संलग्न नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सका १४ जना कोरोनाबाट संक्रमित भएका छन् । निगम प्रवक्ता अर्चना खड्काका अनुसार मंगलबारसम्म निगमका ३ पाइलट र ६ जना क्याबिन क्रू (एयरहोस्टेस र फ्लाइट एटेन्डेन्ट) गरी ९ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि भएका उनीहरूलाई मंगलबार दिउँसो बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लगिएको छ । निगमले उद्धार उडानमा जाने चालक दल तथा प्राविधिकका लागि सोल्टी क्राउन प्लाजामा क्वारेन्टाइन बनाएको छ ।

त्यसैगरी, उद्धार उडानमै रहेको हिमालय एयरलायन्सका ५ जनामा पनि संक्रमण पुष्टि भएको छ । मंगलबार एक पाइलट र दुई क्याबिन क्रूमा कोरोना पुष्टि भएको प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले बताए । यसअघि हिमालयका एक विदेशी पाइलट र नेपाली फ्लाइट एटेन्डेन्टमा संक्रमण पुष्टि भइसकेको छ ।

निगमका ४ वटा विमान उद्धार उडानमा छन् । जसमा विदेशीसहित ५४ पाइलट र सयभन्दा बढी क्याबिन क्रू छन् । उद्धार उडानमा ४ विमान रहेको हिमालयमा ४३ पाइलट र ८० हाराहारी क्याबिन क्रू संलग्न छन् ।

प्रकाशित : असार २३, २०७७ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

कान्तिपुर संवाददाता

भक्तपुर — बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । २०७५ चैत्र २४ मा उच्च अदालत पाटनले २ महिना कैद ५० लाख रुपैयाँ जरिवानाको फैसला गरेपछि फरार सूर्यविनायक नगरपालिका–५ बासुटोलका ४२ वर्षीय भुपेन्द्र गोराजुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउपछि गोराजुलाई मंगलबार जिल्ला अदालत भक्तपुरमा पेस गरेको थियो । अदालत फैसला कार्यान्वयनका लागि केन्द्रीय कारागार जगन्नाथ देवल सुन्धारा पठाइएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी दिपक गिरीले बताए । उनलाई कृष्ण गोपाल राजलवट उजुरीबमोजिम उच्च अदालतले फैसला गरेको थियो ।

यसैबीच उपत्यकाका विभिन्न सुनचाँदी पसलको सटर फोडेर सुन तथा चाँदीका गरगहना र नगद चोरीको अभियोगमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिकाका ३७ वर्षीय गंगाबहादुर तामाङ, महोत्तरी बर्दिबास नगरपालिका–४ का ४५ वर्षीय बुद्धबहादुर माझी र उदयपुर रामपुर गाउँपालिका–३ का ४९ वर्षीय जङ्गबहादुर माझी रहेका प्रहरीले जनाएको छ । उनीहरुमाथि गत फागुनमा काठमाडौंको लाजिम्पाटमा रहेको ज्वेलर्सबाट १ किलो १ सय ५० ग्राम बराबरको सुनका गहना, ८ किलो ५ सय ६० ग्राम चाँदीका गहना र नगदगरी ८५ लाख रपैयाँ बराबरको धनमाल चोरीको आरोप छ ।

प्रकाशित : असार २३, २०७७ २०:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×