२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘फ्रन्टलाइनर’ लाई संक्रमणमुक्त चिकित्सकको सुझाव : ‘उपचार गर्दा अनिवार्य पीपीई प्रयोग गरौं’

कर्णाली प्रदेश अस्पतालका संक्रमित ९ जनै स्वास्थ्यकर्मी आइतबार डिस्चार्ज भए । उनीहरूले आफूजस्तै चिकित्सक र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणको डरले बिरामीलाई नछुने वा उपचारै नगर्नेभन्दा पनि व्यक्तिगत सुरक्षामा ध्यान दिन सुझाएका छन् । भन्छन्– ‘हामी स्वास्थ्यकर्मी नै कोरोनासँग डरायौं भने यसलाई जित्न सकिँदैन ।’
कलेन्द्र सेजुवाल

वीरेन्द्रनगर — चैत पहिलो साता कर्णाली प्रदेश अस्पतालले कोरोना ‘फोकल पर्सन’ को जिम्मेवारी दिनेबित्तिकै डा. केएन पौडेललाई ढिलोचाँडो एक दिन आफूलाई पनि संक्रमणले छुन्छ भन्ने थियो । त्यसैले चैतमै दुई वर्षीय छोरासहित श्रीमतीलाई बुटवलस्थित माइती घर पठाएका थिए । ६० वर्षीया मुटुरोगी आमा भने उनीसँगै सुर्खेतमा थिइन् । नभन्दै दोस्रो पटक स्वाब परीक्षण गर्दा असार ११ मा रिपोर्ट पोजिटिभ आयो ।

‘फ्रन्टलाइनर’ लाई संक्रमणमुक्त चिकित्सकको सुझाव : ‘उपचार गर्दा अनिवार्य पीपीई प्रयोग गरौं’

‘कोरोना देखिएपछि सबैभन्दा बढी चिन्ता परिवारको हुँदोरहेछ,’ संक्रमितको उपचार गरिरहेकै बेला आफैं संक्रमित भएपछिको अनुभव सुनाउँदै उनले भने, ‘कतै आमालाई पनि संक्रमण भयो कि भन्ने डर लाग्यो, धन्न आमालाई संक्रमण देखिएन ।’

३९ वर्षीय डा. पौडेल अहिले कोरोनामुक्त भएर एक हप्ताका लागि क्वारेन्टाइनमा बसेका छन् । तर, उनीसहित अर्का एक जना चिकित्सक र सात जना स्वास्थ्यकर्मी संक्रमित हुनुले अग्रपंक्तिमा खटिएकाहरू कति जोखिममा छन् भन्ने देखाएको छ । उपचार गर्ने चिकित्सक नै बिरामी परेपछि स्वयं चिकित्सक, उनको परिवार र समाज मनोवैज्ञानिक रूपमा बढी दबाबमा पर्ने डा. पौडेल बताउँछन् । ‘उपचारका क्रममा विभिन्न रोग लागेका बिरामीसँग सम्पर्कमा रहनुपर्ने हुँदा बिरामीलाई पनि कतै सर्‍यो कि भन्ने चिन्ता थपिँदो रहेछ,’ उनले भने, ‘तर कोरोना प्रतिकार्यको जिम्मेवारीले पहिलेभन्दा कम बिरामीलाई हेरेकाले केही राहत मिल्यो ।’

संक्रमण कसरी सर्‍यो त ? कान्तिपुरको प्रश्नमा उनले कोरोना पुष्टि भएकाभन्दा पुष्टि नभएका व्यक्तिमार्फत सरेको हुन सक्ने अनुमान गरे । उनका अनुसार क्वारेन्टाइनका साथै समुदायबाट आएका अन्य बिरामीलाई जाँच्दा सामान्यतया पीपीई (व्यक्तिगत सुरक्षा सामग्री) लगाइँदैन । कर्णाली प्रदेश अस्पतालमा आएका सर्पले टोकेका, विष सेवन गरेका र झुन्डिएर आत्महत्या गरेका व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ । ‘यस्ता व्यक्तिको उपचार र पोस्टमार्टम गर्दा पीपीई लगाउनतिर ख्याल हुने कुरै भएन,’ उनले भने, ‘तर पछि ती व्यक्तिहरूमा कोरोना पुष्टि भएको पाइयो ।’

कर्णाली प्रदेश अस्पतालले दुई सय बेडको कोरोना विशेष अस्पतालको व्यवस्थापन र संक्रमितको उपचारका लागि डा. पौडेलका साथै डा. नवराज केसी र वरिष्ठ नर्सिङ अधिकृतहरू पदमा देवकोटा र कल्पना थापालाई जिम्मेवारी दिएको छ । यही टोलीले अस्पताल निर्देशक डा. डम्बर खड्काको निर्देशन र समन्वयमा विशेष अस्पताल तथा अन्य अस्पताल, आइसोलेसन र क्वारेन्टाइनको व्यवस्थापन गर्दै आएको छ । यस क्रममा फोकल पर्सनको हैसियतमा डा. पौडेल मेहलकुना अस्पताल र दैलेख अस्पताल पुगेका थिए । क्वारेन्टाइनमा रहेका व्यक्तिको स्वास्थ्य परीक्षण गर्नुका साथै उपचार पनि अग्रपंक्तिमै खटिएर गरे । उनका अनुसार करिब एक सय जना व्यक्ति त क्वारेन्टाइनबाट उपचारका लागि प्रदेश अस्पताल पुगेका थिए । ‘चिकित्सक भएपछि जस्तोसुकै बिरामीलाई उपचार गर्नैपर्छ, सक्दो सावधानी भने अपनाउने प्रयास गरियो,’ उनले भने, ‘रिपोर्ट पोजिटिभ आएपछि जोखिमपूर्ण उपचार गर्दाका क्षण सम्झिएँ, तर सयौं ठाउँ गएको र थुप्रै सम्भावित संक्रमितको उपचार गरेको हुनाले कताबाट सर्‍यो भन्ने सम्झिनै सकिएन ।’

डा. पौडेलले संयोजन गरेको कालागाउँस्थित कोरोना विशेष अस्पतालमा मंगलबारसम्म १ सय ९२ जना संक्रमित भर्ना भएका छन् । तीमध्ये १ सय ७२ जना निको भएर घर फर्किएका छन् भने १९ जना अझै आइसोलेसनमै छन् । चिनीरोग (सुगर) लागेका एकको मृत्यु भएको छ । सात जनालाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको डा. पौडेलले बताए । ‘संक्रमण पुष्टि भएका व्यक्तिहरूको सक्दो राम्ररी उपचार र व्यवस्थापन गर्नुका साथै आफू पनि संक्रमण हुनबाट जोगिने प्रयास गरियो,’ उनले भने, ‘तर लक्षण नदेखिएका र अन्य समस्या बोकेर अस्पताल पुगेका संक्रमित व्यक्तिबाट जोगिन भने निकै गाह्रो भयो ।’

सुर्खेतस्थित कोरोना विशेष अस्पतालको जिम्मेवारी यहाँ मात्र सीमित छैन । जुम्लाबाहेक अन्य जिल्ला अस्पतालसँग समन्वय गर्दै संक्रमितको उपचार र व्यवस्थापन यही अस्पतालले गर्ने गर्छ । कोरोनाको रिफरल अस्पतालसमेत भएकाले अन्य जिल्लाका आइसोलेसनमा रहेका बिरामीमा जटिल समस्या देखिएमा यहीँ ल्याएर उपचार गरिन्छ । अस्पताल निर्देशक डा. खड्काले प्रदेशको प्रमुख अस्पतालका चिकित्सकसहित स्वास्थ्यकर्मी संक्रमित भएपछि केही चुनौती देखिए पनि विस्तारै सामान्य अवस्थातिर फर्किएको बताए । उनका अनुसार संक्रमित भएका ९ जनै चिकित्सकसहित स्वास्थ्यकर्मी आइतबार डिस्चार्ज भएका छन् ।

‘सुरुमा आत्तिएँ’

चिकित्सकसमेत भएकाले कोरोनाका लक्षणबारे जानकार हुनुका साथै संक्रमणबाट कसरी जोगिने र भइहालेमा के–कस्तो उपचार गर्ने भन्नेबारे डा. पौडेल मानसिक रूपमा तयार थिए । संक्रमण पुष्टि भएपछि भने उनले आफूलाई सामान्य अवस्थामा राख्न सकेनन् । ‘मनमा अलिकति डर त लागिहाल्दो रहेछ, कतै लक्षणहरू बढ्छन् कि भन्ने पनि भयो,’ उनले भने, ‘तर परिवारलाई सम्झाउनुपर्ने दायित्वसमेत भएकाले आफूलाई मानसिक रूपमा बलियो बनाएँ ।’ रिपोर्ट पोजिटिभ आएपछि अस्पताल निर्देशक डा. खड्काले दिएको ढाडसले कोरोनासँग लड्न थप प्रेरणा मिलेको उनले सुनाए ।

कोरोना संक्रमण भएमा सुरुको ६–७ दिनमा लक्षण देखिन थाल्छन् । डा. पौडेलमा पनि सामान्य रुघाखोकीको लक्षण देखिएका थिए । ‘उपचारका क्रममा ख्याल गरेकैले बिस्तारै लक्षण हराउँदै गए, पुन: परीक्षण गर्दा ११ दिनमै रिपोर्ट नेगेटिभ आयो,’ उनले भने, ‘सामान्य अवस्थामा रहेरै कोरोनामुक्त हुँदा कार्यक्षेत्रमा खटिन थप बल मिलेको छ ।’

डा. पौडेलसँगै संक्रमित भएका २८ वर्षीय डा. याम शर्मा पेसागत जीवनको सुरुवातमै विश्वव्यापी स्वास्थ्य समस्यासँग लड्न पाउनुलाई अवसरका रूपमा लिन्छन् । डेढ वर्षदेखि छात्रवृत्ति करारमा कार्यरत डा. शर्मा संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा थिए । उनी जेठ १६ देखि दुई सातासम्म आइसोलेसनमा खटिएका थिए । ‘चिकित्सक भएपछि डराएर उपचार नगरी बस्न भएन, सायद बिरामीसँग बढी घुलमिल भएरै संक्रमणले छोएको हुनुपर्छ,’ उनले भने, ‘रिपोर्ट पोजिटिभ आएपछि मलाई त खासै धेरै डर लागेन, तर घरका मान्छेलाई निकै सम्झाउनुपर्‍यो ।’

डा. शर्माको घर अस्पतालदेखि करिब १० मिनेटको दूरीमा (खजुरा) भए पनि कोरोना प्रकोपका कारण डेढ महिनादेखि घर जान पाएका छैनन् । सुरुमा जिम्मेवारी र त्यसपछि आफैं संक्रमित भएपछि तत्काल घर जान सक्ने अवस्था नरहेको उनले सुनाए ।

कोरोना संक्रमणमुक्त भएका चिकित्सकले उपचारका क्रममा पीपीई प्रयोगमा जोड दिन अन्य सहकर्मीलाई सुझाएका छन् । अधिकांश संक्रमितमा लक्षण नदेखिने हुनाले चिकित्सक र स्वास्थ्यकर्मीले विशेष सावधानी अपनाउनुपर्ने उनीहरूको भनाइ छ । ‘कोरोनाको डरले बिरामीलाई नछुने वा उपचारै नगर्ने काम गर्न भएन, बरु व्यक्तिगत सुरक्षामा ध्यान दिऔं,’ डा. पौडेलले भने, ‘हामी चिकित्सकहरू नै कोरोनासँग डरायौं भने यसलाई जित्न सकिँदैन ।’

प्रकाशित : असार २४, २०७७ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?