२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

नेकपा विवाद : एकताका लागि दबाब दिन भन्दै मन्त्री निवासमा सांसद भेला

जयसिंह महरा

काठमाडौँ — सत्तारुढ नेकपाभित्रको विवाद बढ्दै जाँदा सांसदहरू पनि छलफलमा जुटेका छन् । सरकारले संसद अधिवेशन अन्त्य गरेको र स्थायी कमिटीमा पार्टी विभाजनको तहसम्मै जानेगरी विवाद बढिरहेको बेला केन्द्रीय कमिटी सदस्यसमेत रहेका सांसदहरू एकताका लागि दबाब दिन भन्दै छलफलमा जुटेका छन् । दोस्रो तहका नेताहरू समूहगत छलफलमा जुटेका बेला केन्द्रीय सदस्यसमेत रहेका सांसदहरू पनि भेला हुने थालेका छन् । 

नेकपा विवाद : एकताका लागि दबाब दिन भन्दै मन्त्री निवासमा सांसद भेला

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा बिहीबार संसद अधिवेशन अन्त्य गरेकी थिइन् । संसद अधिवेशन अन्त्य हुनुमा नेकपाभित्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र सरकारको कार्यशैलीबारे स्थायी कमिटीमा भएको चर्को विरोध प्रमुख कारक मानिएको छ । स्थायी कमिटीमा बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा माग गरेको अवस्थामा संसद अधिवेशन अन्त्य गरिएको थियो ।

संघीय संसदको छैटौं अधिवशेन अनपेक्षित रूपमा अन्त्य गरिएको घटनाले नेकपाभित्रको विवाद झन् चर्किएको छ । प्रधानमन्त्रीले पार्टी विभाजन गर्न सहज हुनेगरी अध्यादेश ल्याउनका लागि 'संसदमाथि प्रहार' गरिएको सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रस, प्रतिपक्षी समाजवादीका नेताहरूले शंका गरिरहेका छन् ।

यसैबीच नेकपाका केन्द्रीय कमिटी सदस्यसमेत रहेका संघीय सांसदहरू भेला भएर पार्टी एकता कायम राख्नका लागि दबाब दिने निर्णयमा पुगेका छन् । शनिबार बिहान ८ बजेदेखि पुल्चोकस्थित महिला, बालबालिका तथा ज्येष्ठ नगारिकमन्त्री पार्वत गुरुङको निवासमा केन्द्रीय कमिटी सदस्यसमेत रहेका सांसद भेला भएका थिए । उनीहरूले पार्टी एकता विरोधी गतिविधि नगर्ने सबै नेता कार्यकर्तासँग आग्रह गर्ने र प्रमुख तीन नेतालाई भेटेर एकताका लागि दबाब दिने निर्णय गरेका हुन् ।

एकताका आधारमा पार्टीले प्राप्त गरेको जनमत जोगाउने र जनताले दिएको जिम्मेवारी स्मरण गराएर एकताका लागि दबाब दिने समझदारी भएको सांसद यज्ञराज सुनुवारले जानकारी दिए । 'यो बेला नेकपा र मुलुकका सामू जुन चुनौती, ऐतिहासिक कार्यभार छन् तिनको सामना एकीकृत कम्युनिस्ट पार्टीले मात्रै गर्न सक्छ । यो कुरालाई मूल नेतृत्वले मध्यनजर गर्दै पार्टी एकतालाई सुदृढ बनाउन र सबैले गम्भीर आत्मसमीक्षा गर्न जरुरी छ भनेर दबाद दिने निर्णय भयो,' उनले भने, 'पार्टीमा सबैको सम्मान होस्, नेकपाले सबैलाई न्याय गर्छ भन्ने अनुभूति गराउने हो ।

कुनै पनि कदमले अस्थिरता निम्त्याउने गतिविधि नहोस् भन्नका लागि अनुरोध गर्ने हो । सबैको हीत एकतामा नै छ भन्ने हाम्रो निष्कर्ष निस्कियो ।'

छलफलमा सहभागी सांसद एवं केन्द्री सदस्य झपट रावलका अनुसार प्रमुख नेताहरूलाई आरोपप्रत्यारोप रोक्न आग्रह गर्नेबारे कुरा भएको छ । 'पार्टीका आन्तरिक विवादलाई छलफलको विधिद्वारा समाधान गर्न र संस्थागत निर्णयबाट अगाडि बढ्न आग्रह गर्ने निर्णय भएको छ,' उनले भने, 'नेतृत्व, नेता र कार्यकर्ताको तर्फबाट एकताविरोधी र पार्टी अहितमा भइरहेका काम रोक्न र त्यस्ता गतिविधिमा संलग्न नहुन आग्रह गर्ने समझदारी भएको छ ।'

मुख्य नेताहरूलाई एकअर्काविरुद्ध उकास्नेहरूले एकताको वातावरण बिगारेको र त्यस्ता नेताहरूलाई पनि सचेत गराउने समझदारी बनेको सुनुवारले बताए । उनले भने, 'नेतृत्वको पछाडि बसेर उछाल्ने र पछार्ने, एउटालाई खुइल्याउने र अर्कोको पक्षमा नाराजुलुस गर्ने, सामाजिक संजालमा जथाभावी लेख्ने जुन प्रवृत्ति देखिएका छन् यस्ता प्रवृत्तिले पार्टीलाई सुदृढ एकताको निम्ती सहयोग पुर्‍याउँदैन । यस्ता प्रवृत्ति निस्तेज गराउनका लागि पनि नेतृत्वलाई आग्रह गर्ने निर्णय भएको छ ।'

अध्यक्ष एवं प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद तथा केन्द्रीय कमिटी सदस्यहरूले तीनवटै नेतालाई भेट्ने पनि निर्णय गरेको छ । त्यसका लागि प्रधानमन्त्रीसँग भेट्न समय मिलाउने जिम्मा मन्त्री गुरुङलाई दिइएको छ । अध्यक्ष दाहालसँग भेट्ने समय मिलाउन सांसद टेकबहादुर बस्नेत र नेता नेपालसँग भेट्ने समय मिलाउने जिम्मा सांसद सुनुवारले लिएको रावलले जानकारी दिए । उनीहरूले २२ गतेका लागि निर्धारित गरिएको स्थायी कमिटी बैठक अगाडि तीनवटै नेताहरूलाई भेट्ने तयारी गरेका छन् ।

मन्त्री निवास पुल्चोकमा गुरुङ, रावल, सुनुवार, बस्नेत, गणेश पहाडी, लिलानाथ श्रेष्ठ, सुरेश राई, खिमलाल भट्टराई, श्याम श्रेष्ठलगायत सहभागी थिए ।

पार्टीभित्र विवाद बढ्दै गएपछि स्थायी कमिटी सदस्यहरू र केन्द्रीय कमिटी सदस्यहरू भेला भएर एकताका लागि दबाब दिने रणनीति लिएका छन् । शुक्रबार मन्त्री एवं स्थायी कमिटी सदस्य घनश्याम भुसालको अगुवाइमा पुल्चोकमा भेला भएको थियो । तीनवटै पक्षका स्थायी कमिटी सदस्यहरूले पार्टी एकता सुदृढ बनाउन र अहिलेको विवाद समाधान गर्नेबारे छलफल गरेका थिए । उक्त भेलामा ११ जना स्थायी कमिटी सदस्य भेला भएका थिए । त्यस्तै, शुक्रबार नै पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय सदस्यहरू ठाकुर गैरै, सांसदसमेत रहेकी रामकुमारी झाँक्री लगायत भेला भएका थिए । उनीहरूले शनिबार पनि धुम्बाराहीमा भेला भएर एकताका निम्ती दबाब दिने तयारी गरेका छन् ।

पार्टी र सरकारको नेतृत्वबाट ओलीलाई राजीनामा दिन भनेपछि नेकपामा विवाद चुलिएको हो । शुक्रबार ओली र दाहालबीच भएको छलफलमा ओलीले आफूलाई कारबाही गरेमा पार्टी विभाजन गर्ने चेतावनी दिएको बताइएको छ ।

प्रकाशित : असार २०, २०७७ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?