कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिल्लामा बोर्ड पुरानै, विवाद नयाँ

ओलीको पक्षमा उभिएर जिल्ला नेतृत्व पुनर्गठन भइसकेका कमिटीमा अब एकीकृत पार्टीबाट फर्किएकाहरुले तिक्तता बेहोर्नुपरेको छ । कतिपयले विवाद निरुपणका लागि केन्द्रको मुख ताकेका छन्, कतिपय आफैं जिम्मेवारी नछाड्ने मनस्थितिमा छन् । 
प्रदेश ब्युरो

काठमाडौँ — नेकपाबारे सर्वोच्च अदालतको फैसलापछि जिल्ला र स्थानीय तहसम्मै कार्यालय राख्न थालेको एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षधरबीच जिल्ला कमिटी पदाधिकारीमा को–को रहने भन्ने विवाद देखिन थालेको छ ।

जिल्लामा बोर्ड पुरानै, विवाद नयाँ

एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै भएपछि पार्टी एकीकृत भएका बेला राखिएका बोर्ड फेरेर एमालेको बोर्ड राख्न थालिएको हो ।

माओवादीसँग सहज रूपमा छुट्टिए पनि केही जिल्लामा प्रधानमन्त्री ओली र नेता नेपाल पक्षका कार्यकर्ताबीचको विवादले छुट्टै कार्यालयसमेत राखिएको छ । प्रतिनिधिसभा विघटनपछि साविक नेकपामा विवाद चर्किएपछि चयन गरिएको नेतृत्व र एकीकरणअघिको नेतृत्वबीच विवाद उब्जिएको हो ।

ताप्लेजुङमा ओली र नेपाल पक्षले छुट्टाछुट्टै कार्यालय खोलेका छन् । नेपाल पक्षको नेतृत्व माओवादी केन्द्रसँग एकीकरणअघिका अध्यक्ष बलबहादुर साम्सोहाङले र ओली पक्षको नेतृत्व भूपेन्द्र थेबेले गरेका छन् । थेबेलाई साविक नेकपाको विवादपछि ओली समूहले नेतृत्व दिँदै उपाध्यक्ष, सचिवलगायतका पदाधिकारी तथा जिल्ला कमिटी सदस्य पनि थपेको थियो ।

ओली पक्षले सदरमुकाम फुङलिङको तोक्मेडाँडास्थित कार्यालयमा मंगलबार नेकपाको हटाएर एमालेको बोर्ड राख्यो । नेपाल पक्षले भने माओवादी केन्द्रसँग बिदाइ बैठक गरेर वीरेन्द्रचोकस्थित कार्यालयको नेकपा बोर्ड फेरेर एमालेको राखेको अध्यक्ष साम्सोहाङले बताए । माओवादीसँगको एकतापछि वीरेन्द्रचोकस्थित तत्कालीन एमाले कार्यालयमा नेकपाको बोर्ड राखिएको थियो ।

साम्सोहाङले पत्रकार सम्मेलन गर्दै सर्वोच्चको आदेशअनुसार नेताहरू फर्किएकाले नेतृत्वको विषयमा विवाद जरुरी नभएको बताए । त्यसअघिको अध्यक्ष आफू भएकाले आफ्नै अध्यक्षतामा पार्टी चल्ने उनले दाबी गरे । ओली पक्षकालाई पार्टीमा फर्किएर संगठन निर्माणमा जुट्न पनि उनले आग्रह गरे । ‘यो हाम्रो काबुको विषय होइन, केन्द्रका नेताहरूका कारण भएको हो,’ साम्सोहाङले भने, ‘केन्द्रले पनि यो विषयको निरूपण त गर्ला तर यसमा विवाद गरिरहनु जरुरी छैन । साथीहरू फर्किएर संगठित हुनुपर्छ ।’ साम्सोहाङ एकीकरणपछि पार्टी सचिव थिए ।

ओली पक्षका अध्यक्ष थेबे भने साम्सोहाङको कुरा मान्न तयार छैनन् । उनले आफू संस्थागत अध्यक्ष भएको दाबी गरे । ‘हिजो पार्टी अध्यक्ष ओलीको पुतला जलाउँदै हिँड्ने, नाराबाजी गर्दै हिँड्ने, अहिले त्यही पार्टीको अध्यक्ष हुँ भन्न नैतिकताले दिन्छ ?,’ थेबेले भने, ‘अब पार्टी मेरो नेतृत्वमा चल्छ, अरू कुरा म जान्दिनँ ।’ उनले आफूहरूलाई गरेजस्तै कारबाही गर्ने चेतावनी पनि दिए । दुवै पक्ष यो विवादको समाधान केन्द्रले गर्नुपर्छ पनि भन्छन् । ‘अरू जिल्लामा पनि यस्तो समस्या होला । केन्द्रले समाधान गर्नुपर्छ,’ ओली पक्षका नेता लीलाचक्र गुरुङले भने ।

माओवादी केन्द्रले ताप्लेजुङमा छुट्टै कार्यालय राख्ने भएको छ । एमालेसँग टेबल, कुर्सीलगायतका भौतिक सम्पत्ति बाँडेर मंगलबार नै कार्यालयको टुंगो लगाएको हो । माओवादी केन्द्रका कार्यालय सचिव सुरज ओझाका अनुसार एकीकरणपछि लगेका सोफा, तीनवटा दराज, टि–टेबल र ५० वटा कुर्सी केन्द्रले फिर्ता लिएको हो ।

‘हामीले पहिला त्यति नै लगेका थियौं । अहिले जस्तो अवस्थामा छन् त्यस्तै ल्यायौं,’ ओझाले भने । वीरेन्द्रचोकस्थित काजी गुरुङको घरमा कार्यालय राख्ने टुंगो भएको उनले बताए । ‘यो बीचमा जति तीतोमीठो भयो, सबैले सम्मानपूर्वक लिऔं भन्दै छुट्यौं,’ ओझाले भने ।

खोटाङमा एमालेमा तत्कालीन अध्यक्ष बबी चाम्लिङलाई हटाएर रामप्रसाद दंगाललाई अध्यक्ष बनाइएको छ । साविक नेकपा दाहाल–नेपाल समूहमा खुलेका चाम्लिङलाई हटाएर साविक ओली समूहका दंगाललाई अध्यक्ष बनाइएको हो । दंगाल पनि केही समय दाहाल–नेपाल समूहमै रहेको र पछि अध्यक्ष बनाउने सर्तमा ओली समूहमा लागेका हुन् ।

पुष्पलाल स्मृति भवनमा बोर्ड राखेर कार्यालय सुरु गरिएको एमाले नेता कुमार आचार्यले बताए । बैठकमै दंगालले कार्यभार सम्हालेको घोषणा गरिएको हो । साविक नेकपामा विवाद भएपछि कार्यालय बन्द थियो । चाम्लिङ अध्यक्षबाट हटाइएको नभई आफैंले राजीनामा दिएको आचार्यको दाबी छ । चाम्लिङले भने आफूलाई हटाएको विषयमा आपत्ति जनाएका छन् । ‘पार्टी एकतापछि त्यतिखेर एमालेलाई जिल्ला सचिव र माओवादीलाई अध्यक्ष भाग परेको थियो,’ उनले भने, ‘त्यसबेला पार्टीले सचिव नियुक्ति गरेपछि सचिवबाट चाहिँ राजीनामा दिएको हो, तर अध्यक्षबाट होइन ।’

चाम्लिङ साविक नेकपा प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख हुन् । अहिले पनि एमाले प्रदेश कमिटी सदस्य रहेकाले त्यसैअनुसार आसनग्रहण गराइएको आचार्यले बताए । सुनसरीका दुई उपमहानगरसहित १२ वटै स्थानीय तहमा एमाले र माओवादी केन्द्रले आ–आफ्नै कार्यालय सञ्चालन थालेका छन् । साविक एमाले जिल्ला अध्यक्ष रमेश बस्नेतका अनुसार मंगलबार इनरुवा नगरपालिकास्थित जिल्ला कार्यालय, इटहरी र धरान उपमहानगर कार्यालयमा एमालेको बोर्ड राखिएको छ । ‘बुधबारसम्ममा सबै पालिकामा एमालेले आफ्नै बोर्ड राखेर पार्टी कार्यालय सञ्चालनमा ल्याउनेछ,’ उनले भने । अदालतको फैसलाअनुसार माओवादी केन्द्रलाई पार्टी कार्यालयबाट सौहार्दपूर्ण बिदाइ गरिएको उनले बताए ।

साविक माओवादी केन्द्रका धरान नगर संयोजक चोत्लुङले आफूहरूले पनि इनरुवास्थित सहिद स्मृति प्रतिष्ठानमा जिल्ला कार्यालय र धरान–१४ स्थित पुरानै पार्टी कार्यालयमा पार्टीको साइनबोर्ड राखेको बताए । गोरखामा सदरमुकामको चाइनिजधारास्थित साविक नेकपा पार्टी कार्यालयमा मंगलबार एमालेले बोर्ड राख्दै २०७५ जेठ ३ अघिको जिल्ला कमिटी पनि ब्युँताइएको छ । तत्कालीन एमालेको ६३ सदस्यीय जिल्ला कमिटीका जिल्ला अध्यक्ष प्रेम गुरुङ थिए । मदन–आश्रित स्मृति प्रतिष्ठानको कार्यालयमा एमाले जिल्ला कार्यालय स्थापना गरिएको गुरुङले बताए । जिल्ला कमिटी बैठकले चैत ७ भित्र ११ वटै पालिकामा कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

अढाई महिनादेखि बन्द म्याग्दीको बेनी–२ हाँडेभीरस्थित साविक नेकपा कार्यालयमा एमालेको साइनबोर्ड र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्णकदको बोर्ड टाँसेर सञ्चालनमा ल्याइएको छ । एमालेका तत्कालीन जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले पार्टी कार्यालयको ताला खोलेका हुन् ।

आपसमै झडप हुने जोखिम बढेसँगै गत पुस १० देखि सहमतिमै कार्यालय बन्द गरी साबिक नेकपाका दुवै समूहले बाहिर बैठक गर्दै आएका थिए । ‘एकतापछि गुमेको एमाले अध्यक्षको पदको विरासत पनि फर्केको छ,’ श्रेष्ठले भने । उता कैलालीमा साविक नेकपा ओली समूहका सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा पूर्वमन्त्री कर्णबहादुर थापाले एमाले कैलालीको पार्टी कार्यालयमा ब्यानर तथा साइनबोर्ड लगाएका छन् । ‘यस अवसरमा एमालेका कार्यकर्तामा ऊर्जा भरिएको छ,’ उनले भने ।

प्रकाशित : फाल्गुन २६, २०७७ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?