सानो झुन्डको सलह नियन्त्रणमा रासायनिक विषादी प्रयोग नगर्न विज्ञको आग्रह- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सानो झुन्डको सलह नियन्त्रणमा रासायनिक विषादी प्रयोग नगर्न विज्ञको आग्रह

गोविन्द पोखरेल

काठमाडौँ — कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलह नियन्त्रणका लागि रसायनिक विषादी प्रयोग गर्ने निर्णय गरेपछि विज्ञहरुले आपत्ति जनाउँदै सानो झुन्ड आएकै भरमा रसायन प्रयोग गर्न नहुने बताएका छन् ।

उनीहरुले रासायनिक विषादी प्रयोग गर्दा माटोको उर्वरशक्तिका साथै उत्पादनमा समेत असर गर्ने खतरा रहेको औंल्याएका छन् । अन्य विधिहरुबाट सलहलाई नियन्त्रण गर्न सकिने विज्ञहरुको सुझाव छ ।

कृषि विज्ञ मदन राईले नेपालमा अन्य मुलुकहरुमा जसरी करोडौंको संख्यामा सलह नआएकाले तत्कालै रासायनिक विषादी प्रयोग नगर्न आग्रह गरे । उनले कान्तिपुरसित भने, 'अहिले झुन्ड सानो आएको छ । यसको नियन्त्रणका लागि मेकानिकल, फिजिकल, बयोलोजिकल विधिहरु छन् । यी विधि अपनाएर काम गर्दा उपयुक्त हुन्छ । अहिले नै रसायन प्रयोग गर्ने समय हैन ।'

राईले सलह नियन्त्रणका लागि औजार प्रयोग गरेर जाल थापेर पासोमा पार्ने, सलह उडेको ठाउँमा तन्‍नाले छोपेर झार्ने, तरकारी बारीमा हुँदा कुखुरा, हाँ लगायतका जीवहरु लगाउने, किरा समाउने जालीको प्रयोग गर्न सकिने बताए । विष हालेर मार्दा अन्‍नलाई पनि असर गर्ने र खानसमेत नमिल्ने उनले बताए ।

'रसायन प्रयोग गरेको भरमा मर्ने/नमर्ने कुनै ग्‍यारेन्टी हुँदैन । मान्छेलाई पनि असर गर्न सक्छ,' उनले भने, 'रसायन हालेर एउटा जीवलाई मार्न खोज्दा त्यो क्षेत्रमा भएका अन्य जीवहरु पनि मर्छन् । त्यसैले सकेसम्म रसायनको प्रयोग नगरौं ।'

कपिलवस्तुको तौलिहवास्थित नयाँ टोलमा आइतबार साँझ अकस्मात देखिएको सलहको झुन्ड । तस्बिरः मनोज पौडेल/कान्तिपुर

बागबानी विज्ञ इन्द्रराज पाण्डेले पनि रसायनिक विधि तत्कालै प्रयोग गर्न नहुने बताउँछन् । उनले मालाथियोन विषादी प्रयोग गर्दा ७ दिनसम्म बालीको उत्पादन प्रयोग गर्न नमिल्ने र डेल्टामाइथ्रिन छरेपछि १४ दिनसम्म बारीमा फलेका अन्‍नहरु खान नमिल्ने जनाउँदै रसायन प्रयोग गर्दा सचेत हुनुपर्ने बताए ।

'धेरै ठूलो झुन्डमा आउँदैन भनेर मन्त्रालयले भनेको छ,' उनले भने,'राति बसेको ठाउँबाट पनि संकलन गर्न सकिन्छ । तुरुन्तै रसायन नछरे हुने ।' सकेसम्म सलहलाई संकलन गरेर खानाको रुपमा प्रयोग गर्ने वा कुखुराको दाना बनाउन प्रयोग गर्नुपर्नेमा उनको जोड छ ।

प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख एवं मन्त्रालयद्वारा सलह नियन्त्रणका लागि गठित प्रविधिक समितिका संयोजक सहदेव हुमागाईंले पनि आफूहरुको पहिलो विकल्प विषादी नभएको बताए । खेतबारी नजिकै आए थाल ठटाएर वा ध्वनिको प्रयोग गरेर सलह भगाउन सकिने उनको भनाइ छ । धान रोपाइँको समय भएकाले सलह देखिएका क्षेत्रहरुमा प्लास्टिक र नेटले धानको बियाड ढाक्‍न सकिने विज्ञहरुले सुझाव दिएका छन् ।

ठूलो झुन्ड आएको खण्डमा मात्रै रसायन प्रयोग गर्ने जनाउँदै उनले त्यसको पूर्व तयारीका लागि रसायनको प्रयोग गर्न भनिएको बताए । हुमागाईंका अनुसार जिल्लामा भएका विपद् व्यवस्थापन समिति, प्रदेश र स्थानीय सरकारहरुसँग समन्वय गरेर औषधि छर्किइनेछ ।

नेपाल कृषि अनुसन्धान परिषद् नार्कका कीट विज्ञ सुदिप उपाध्यायले विषादीको प्रयोग बालीको अवस्था र किराले गर्न सक्‍ने क्षतिको आकलन गरेर मात्रै गर्नुपर्ने बताउँछन् । धेरै ठूलो क्षेत्रमा लगाइएको बालीमा एकैपटक सलह आएर बसेको खण्डमा मात्रै रसायनिक विषादी प्रयोग गरिने उनले जनाए ।

दिउँसो उडिरहेको समयमा सलहलाई प्राकृतिक सिकारीको प्रयोग गरेर, धुँवा लगाउने, ध्वनीको प्रयोग गरेर पनि भगाउने विकल्पहरु भएको उपाध्यायले सुनाए । स-साना क्षेत्रफलमा बसेका सलह देखिए विषादी प्रयोग गर्न नहुने उनले सुझाव दिए । कृषि विज्ञ राईले यो बेला कृषकहरु पनि उत्तिकै सतर्क हुनुपर्ने बताए । उनले खेतको वरीपरी सलह आए अन्यसँग सहयोग मागेर भएपनि नियन्त्रण गर्नुपर्ने बताए । उनले अहिले नेपालमा भारतमा जसरी करोडौंको झुन्ड नेपालमा प्रवेश नगरेको बताउँदै आतिहाल्नु पर्ने अवस्था नरहेको बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले तत्कालै झुन्ड देखिएको र बसेको ठाउँमा विषादी प्रयोग गर्न भनिएको बताए । 'कुन विषादी कसरी प्रयोग गर्ने भनेर मन्त्रालयले 'फ्याक्ट सिट' बनाएको र सोही अनुसार प्रयोग गर्न भनिएको छ,' केसीले भने, 'सलह देख्‍ने बित्तिकै विषादी छर्ने कुरा मन्त्रालयले भनेको हैन । नियन्त्रणको अन्तिम अस्त्र नै विषादी प्रयोग हो ।'

यो पनि पढ्नुहोस्ः

सलह नियन्त्रण गर्न तत्काल एक्सनमा जाने निर्णय : दमकल र ड्रोनबाट औषधि छर्किन सिफारिस

प्रकाशित : असार १४, २०७७ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्

सलह बास बसेपछि तिनाउ झ्याङलाका किसान चिन्तित

‘पानी परुन्जेल बस्छन्, रोकिएपछि खेतबारीमा हमला गर्छन्’
'प्रदेश सरकारको २० रुपैयाँ पुरस्कार हाँस्यास्पद'
माधव अर्याल

पाल्पा — भारत हुँदै शनिबार बिहान रुपन्देही आएका सलह मध्यान्हपछि पाल्पा पुगे । दक्षिणबाट उत्तरतिर बगिरहेको हावाको बहाबसँगै आएको सलहको हुल पाल्पाको तिनाउ गाउँपालिका–२, झ्याङला क्षेत्रमा बास बसेर किसानलाई सताएको छ । 

शनिबार बेलुकीपख प्रवेश गरेको सलह तिनाउ गाउँपालिका दोभानको बगाहा, पासकुण्ड, बुढासटक गाउँमा समेत लाखौको संख्यामा रहेको स्थानीयले बताएका छन् । काभ्रो, आँप, किम्बु, पिपल, सिमलका रुखमा सलह रातै भएर बसेका छन् ।

तस्बिरहरु : माधव अर्याल/कान्तिपुर

पानी पर्दा केही नगर्ने र पानी रोकिनासाथ खेतबारीमा लगाएका मकै, धानको बीउ, घाँसमा पुगेर खाइदिने गरेको झ्याङला स्मार्ट कृषि गाउँका अध्यक्ष चोपलाल गिरीले बताए । उनका अनुसार किसानले थाल, टिन ठटाउने, आगो बालेर धुवा निकाल्ने तथा होहल्ला गरेर सलह धपाउने प्रयास गरिरहेका छन् । अहिले बारीमा भएका मकैको पातलगायत सिख्रो पारेर खाएको स्थानीय रुद्र जीसीले बताए ।

शनिबारदेखि नै झुम्सा, दोभान, कसेनी, मदनपोखरा, कचल, छहरा लगायतमा सलह पुगेका हुन् । झ्याङलाका किसान लोकबहादुर केसीले सलह एउटै फौज नभई हुल हुल छुट्टिर उडिरहेको बताए । झ्याङला क्षेत्रमा भने ठूलो संख्यामा देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख शिव अर्यालले बताए । ज्ञान केन्द्रका अनुसार दोभानतर्फ एउटा हुल, वगनाशकालीमा एक हुल र छहरातर्फ अर्को हुल देखिएको छ ।

पहाडको चिसोपना र वर्षाले गर्दा झुण्ड टुक्रिएको हुनसक्ने आँकलन गरिएको छ । सहल बास बसेकाले अब औषधि छर्न र विभिन्न उपाय अपनाएर धपाउन आग्रह गरिएको उनले बताए । पाल्पाकै बगनासकाली गाउँपालिकाकाे चिलाङदीमा पनि सलह बास बसेका छन् ।

'किलोको २० रुपैयाँ दिने प्रस्ताव हाँस्यास्पद'

प्रदेश ५ सरकारले सलह संकलन गरि वडामा बुझाउनेलाई प्रतिकिलो २० रुपैयाँका प्रोत्साहन रकम दिने भनी गरेको निर्णयलाई किसानहरुले हाँस्यास्पद भनेका छन् । उनीहरुले सलह संकलन गर्न त्यति सजिलो नहुने बताएका छन् । ‘यति बाठो हुन्छ कि एक किलो संकलन गर्न दुई/तीन घण्टा लाग्छ,’ तिनाउ गाउँपालिका–२, झ्याङलाका किसान ७८ वर्षीय ठगबहादुर थापा क्षेत्रीले भने, ‘२० रुपैयाँ कमाउन थाल्ने कि धपाउने भन्ने हो ।’

उनका अनुसार यसलाई भगाउन पनि उत्तिकै समस्या छ । छोप्न र मार्न पनि ठूलो संख्यामा भएका र रुखमा बस्ने भएकाले गाह्रो हुने उनले बताए । स्थानीय जातको कुखुराले भने सलह खाएको उनले बताए ।

प्रकाशित : असार १४, २०७७ १९:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×