सलहको झुण्ड खोज्दै निर्देशनालयका कर्मचारी गाउँगाउँमा

असार १४, २०७७

सन्जु पौडेल

तिलोत्तमा — नेपालमा सलह प्रवेश गरेपछि प्रदेश ५ कृषि विकास निर्देशनालयका कर्मचारी तथा जिल्लास्थित कृषि अनुसन्धान केन्द्रका कर्मचारी सलहको झुण्ड खोज्दै गाउँ–गाउँ पुगेका छन् ।

के–कति सलहको झुण्ड नेपाल प्रवेश गरेको छ भन्ने तथ्यांक यकिन नभए पनि यस बारेमा अध्ययन जारी रहेको निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले बताए । 'हामी रुपन्देहीका विभिन्‍न ठाउँमा हिँडिरहेका छौं,' उनले भने, 'अहिले सैनामैनामा अलि धेरै भएको खबर पाएकाले त्यता जाँदैछौं ।' 

उनले केही कर्मचारी र विज्ञ पाल्पातर्फ पुगेको बताए । त्यस्तै, अर्घाखाँची र दाङमा समेत अध्ययन भइरहेको देवकोटाले जनाए ।

हालसम्म प्रदेश ५ का नवलपरासी, रुपन्देही, पाल्पा, अर्घाखाची, दाङ लगायतका जिल्लामा सलह देखा परेको निर्देशक देवकोटाले बताए । शनिबार एकैसाथ रुपन्देहीका देवदह, मर्चवारी, बुटवल, सैनामैना, कञ्चन लगायतका ठाउँमा सलह देखा परेको थियो । बेलुका रुपन्देहीको सैनामैना, पाल्पा जिल्लाका विभिन्‍न ठाउँमा सलहको झुन्ड बास बसेको निर्देशनालयले जनाएको छ । 

हालसम्मको जानकारी अनुसार सलहको झुण्ड बसेका ठाउँमा वनस्पतिलाई त्यति धेरै असर पारेको नदेखिएको निर्देशक देवकोटाले बताए । प्रदेशका कपिलवस्तु, बाँके, बर्दिया, रुकुम, रोल्पा लगायतका ठाउँबाट रिपोर्ट आउन बाँकी रहेको तथा गुल्मीमा अहिलेसम्म सलह प्रवेश नगरेको उनले जानकारी दिए ।

यसैबीच प्रदेश ५ सरकार तथा रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सलह किरालाई संकलन गरि वडामा बुझाउनेलाई प्रति किलो २० रुपैयाँको दरले प्रोत्साहन रकम दिने भएको छ । हालसम्म त्यसरी सलह संकलन गरेर बुझाउन कोही मानिस पुगेका छैनन् ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully