विज्ञ भन्छन् : भारतबाट सलहको ४ वटा झुन्ड नेपाल प्रवेश गरेको हो

देशभर पानी परेका कारण आइतबार फैलावट रोकियाे : प्राविधिक समिति

असार १४, २०७७

गोविन्द पोखरेल

काठमाडौँ — भारतबाट उत्तरतिर हावा बहँदा नेपालमा सलहका ४ वटा झुन्ड प्रवेश गरेको विज्ञहरुले बताएका छन् । कीट विज्ञहरुले शनिबार पर्सा,बारा,सर्लाही र रुपन्देहीमा गरेर चार ठाउँमा झुन्ड प्रवेश गरेको बताएका हुन् । 

ती झुन्डबाट केही छुट्टिएर र हावाले उडाएर नेपालका अन्य भू-भागहरुमा पुगेको सलह नियन्त्रणका लागि कृषि मन्त्रालयद्वारा गठित प्राविधिक समितिका संयोजक सहदेव हुमागाईंले कान्तिपुरलाई बताए । झुन्डमा कति संख्यामा सलह छन् भन्न‍ सकिने अवस्था नरहेको उनले बताए । तिनै झुन्डहरु उत्तरितर लागिरहेका हुन् । 

रुपन्देहीमा प्रवेश गरेको बुटवल हुँदै त्यहाँबाट छुट्टिएर एउटा पाल्पा र अर्को सैनामैना हुँदै कपिलवस्तुतिर गएको विज्ञहरुले बताएका छन् । 

सर्लाहीमा देखिएको झुन्ड टुक्रिएर सिन्धुली हुँदै सिन्धुलीको चियाबारीमा पुगेका छन् । त्यही झुन्डबाट टुक्रिएर केही रामेछापतिर पुगेको तर न्यून संख्यामा रहेको प्राविधिक समितिले जनाएको छ ।  

बारामा देखिएको ठूलाे झुन्ड टुक्रिएर काभ्रे र मकवानकपुरको बीचमा पुगेको थियो । त्यही झुन्ड टुक्रिएर मकवानपुरगढी र चितवन पुगेको हुमागाईंले बताए । पर्सामा देखिएको झुन्ड एकदमै सानो रहेको र त्यो झुन्ड जंगलतिर प्रवेश गरेपनि आधिकारिक पुष्टि नभएको हुमागाईंले बताए । उनले भने,'शनिबार पर्साको पर्सागढीबाट उडेपछि चितवनतिरको जंगलमा गयो तर कहाँ गयो थाहा छैन । जंगलप्रवेश गर्‍यो कि भन्‍ने अनुमान छ तर पुष्टी भइसकेको छैन । ' 

यस्तै मुलुकका अन्य भागहरुमा सानातिना दुई चारवटा संख्या हावाले छुट्टाएर ल्याएको हुन सक्‍ने उनले बताए । उनले भने,'बथानको रुपमा  देखिएका छैनन् । ' 

मनसुनका कारण आइतबार फैलावट रोकियो

शनिबार रातिदेखि मुलुकका विभिन्न क्षेत्रमा वर्षाभएपछि सलह फैलावट रोकिएको प्राविधिक समितिले जनाएको छ । शनिबार साँझ अवतरण भएको क्षेत्रबाट सलह अन्यत्रतिर उड्न नसकेर त्यही बसेको हुन सक्‍ने हुमागाईंले बताए ।

उनले भने,' हिजोको जतिको फैलावट आज देखिएको छैन । पानी परेर पनि होला कपिलवस्तु,रुपन्देहीमा त्यस्तो फैलावट देखिएको छैन । अहिले अन्यत्र गएको भनेर देखिएको छैन ।' यस्तै, आइतबार मनसुन सक्रिय हुँदा तराईका जिल्लाहरुमा सलह प्रवेश नगरेको हुमागाईंले बताए । 

शनिबार बेलुका सलह भेटिएका स्थानहरुमा अहिले प्रदेशका कृषि विज्ञहरुले ती ठाउँहरुमा अनुगमन गरिरहेको बताएका छन् । 

गोविन्द पोखरेल विज्ञान, वन, वातावरण, प्रविधि लगायतका क्षेत्रमा कलम चलाउँछन् ।

Link copied successfully