एक किलो सलह ल्याउनेलाई सुदूरपश्‍चिम सरकारले २५ रुपैयाँ दिने

असार १४, २०७७

मोहन बुढाऐर

धनगढी — एक किलो सलह ल्याउनेलाई सुदूरपश्‍चिम सरकारले २५ रुपैयाँ दिने भएको छ । प्रदेश सरकारको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले सलह किरा २५ रुपैयाँ किलोको दरमा खरिद गर्ने भएको हो ।

मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माले बालीनालीका लागि महामारीको रुपमा आउने सलह किरा मारेर ल्याउने किसानलाई प्रति किलो २५ रुपैयाँ दिने बताएका हुन । ‘अहिलेसम्म सुदूरपश्चिममा सलह आइसकेको छैन,’ उनले भने,‘किसानलाई सर्तक  भइराख्‍न आहृवान गरेका छौं ।’

मन्त्रालयले सलहलाई नियन्त्रण गर्न स्थानीय तहमा सलह टिम परिचालन गरिने उनले बताए । प्रदेश ५ को सीमासंग जोडिएको कैलालीको पूर्वी क्षेत्र जोशीपुर, टिकापुर, लम्की चुहा, जानकी गाउँपालिकामा सलह टिम परिचालनका लागि तयार भएको मन्त्रालयले बताएको छ ।

यसैबीच सलह नियन्त्त्रणका लागि कृषि क्षेत्रीय निर्देशकको संयोजक्तवमा प्रदेश स्तरीय ‘रेपिड रेस्पोन्स टिम’पनि गठन भएको प्रवक्ता शर्माले जानकारी दिए । यस्तै जिल्लाहरुमा ज्ञान केन्द्र स्तरीय टिम पनि गठन गरिएको उनले बतए । 

कञ्चनपुरको पुर्वी बेलौरी, पुर्नवास र पहाडी जिल्लामा फौजी किराले समेत बालीनालीमा नोक्सान पुर्‍याारहेको उनले बताए ।  ‘बेलौरी र पुर्नवास क्षेत्रमा फौजी किरा नियन्त्रणमा आइसकेको छ,’उनले भने,‘जहाँ फौजी किराले बालीनालीमा आक्रमण भएको सुनिएको छ, स्प्रे  लगायतका काम गर्न टिम नै गठन गरेर परिचालन गर्न थालेका छौं ।’

मोहन

Link copied successfully