आमा र बच्चा कोरोनामुक्त

असार १३, २०७७

कान्तिपुर संवाददाता

बाँके — बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा शल्यक्रियामार्फत सन्तान जन्माएकी कपिलवस्तुकी कोरोना संक्रमित महिलालाई शनिबार डिस्चार्ज गरिने भएको छ ।

भैरहवाको भीम अस्पतालले शल्यक्रियाका लागि रिफर गरेपछि जेठ ३० गते उनी यहाँ भर्ना भएकी थिइन् । आमा र बच्चाको दोस्रोपटकको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गर्न लागिएको अस्पतालले जनाएको छ ।

यसअघि दुई सन्तान रहेकी उनको शल्यक्रियामार्फत तेस्रो सन्तान जन्माइएको थियो । बच्चा, आमा, श्रीमान् र सँगै आएकी कुरुवा महिलाको कोरोना जाँच रिपोर्ट नेगेटिभ आएको शिक्षण अस्पतालका उपनिर्देशक दिनेश श्रेष्ठले बताए ।

१७ दिनअघि कोरोना संक्रमित अछामकी १८ हप्ताकी गर्भवती महिलाको ठूलो आन्द्राको शल्यक्रिया गरिएको थियो । उनको घाउको मासुको बायोप्सी गर्न बाँकी भएकाले डिस्चार्ज गर्न केही समय लाग्ने डा. श्रेष्ठले बताए ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully