स्वास्थ्यकर्मी संक्रमित भएपछि अस्पतालका सेवा बन्द

कलेन्द्र सेजुवाल, एलपी देवकोटा, ज्योति कटुवाल

सुर्खेत, जुम्ला, दैलेख — कर्णालीका दुई ठूला अस्पताल सुर्खेतको प्रदेश अस्पताल र जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) मा कार्यरत चिकित्सकसहित स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

विरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पताल

कोरोना संक्रमणकै कारण बिहीबारदेखि कर्णाली प्रदेश अस्पताल र जुम्ला अस्पतालको आकस्मिकबाहेक अन्य सेवा बन्द गरिएको छ । स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि सल्यानको जिल्ला अस्पताल अनिश्चितकालका लागि सिल गरिएको छ ।

कर्णाली प्रदेश अस्पतालमा दुई जना चिकित्सकसहित ९ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । कोरोना विशेष अस्पतालको संयोजन गरिरहेका वरिष्ठ चिकित्सक र अर्का एक चिकित्सकमा संक्रमण देखिएको अस्पताल निर्देशक डा. डम्बर खड्काले बताए । उनका अनुसार एक जना एचए र ६ जना प्रयोगशालाकर्मी पनि संक्रमित भएका छन् । ‘चिकित्सकलाई अस्पतालकै क्वाटरमा बनाइएको आइसोलेसनमा राखिएको छ,’ उनले भने, ‘अहिलेसम्म कोरोनाको कुनै लक्षण भने देखिएको छैन ।’ केही समयका लागि आकस्मिक बाहेकका सेवा बन्द गर्नुपरेको निर्देशक डा. खड्काले बताए ।

जुम्लास्थित प्रतिष्ठानको शिक्षण अस्पतालमा पनि स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि आकस्मिकबाहेक अन्य सेवा बन्द गरिएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै संक्रमणको थप जोखिम भएकाले अनिश्चितकालका लागि अस्पताल बन्द गर्नुपरेको बताएका छन् । कन्ट्याक्ट ट्रेसिङ गरेर अन्य स्वास्थ्यकर्मी तथा कर्मचारीको पीसीआर परीक्षण गरिने उनको भनाइ छ ।

सम्भावित संक्रमित व्यक्तिहरूले सूचना लुकाउँदा स्वास्थ्यकर्मीमा संक्रमण फैलिएको चिकित्सकहरूको गुनासो छ । जेठ अन्तिममा कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्षमा पुगेका तीन जनामा पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको थियो । उपचार सुरु भएपछि मात्र उनीहरूमा देखिएको लक्षणका आधारमा पीसीआर परीक्षण गरिएको थियो । रिपोर्ट पोजिटिभ देखिएपछि तत्काल आकस्मिक कक्ष सिल गरी उपचारमा संलग्न ४२ जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

जेठ अन्तिम साता क्वारेन्टाइनमा सर्पले टोकेका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि इमर्जेन्सी सेवा सिल गरिएको थियो । अस्पताल निर्देशक डा. खड्काका अनुसार उनलाई अस्पताल ल्याउने व्यक्तिले क्वारेन्टाइनबाट ल्याएको सूचना लुकाएका थिए । ‘आकस्मिक रूपमा आउने बिरामीलाई हामीले जतिसक्दो छिटो उपचार गर्ने गर्छाैं,’ उनले भने, ‘तर समुदायबाट आएका बिरामीमा कोरोना देखिन थालेपछि चुनौती थपिएको छ ।’

एक स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि सल्यानको जिल्ला अस्पताल बिहीबारदेखि अनिश्चितकालका लागि सिल गरिएको छ । संक्रमण देखिएका स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखिएको छ । समुदायस्तरमा संक्रमण फैलन नदिन अस्पताल सिल गरिएको अस्पताल प्रमुख डा. अर्जुन बुढामगरले बताए । उनका अनुसार गत ५ गते एक दर्जन स्वास्थ्यकर्मीको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएकामा एक पुरुष स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो ।

समुदायमा फैलने जोखिम

क्वारेन्टाइनमा सीमित कोरोना संक्रमण अहिले समुदायस्तरमा पुग्ने जोखिम छ । संक्रमण नियन्त्रणको लागि कन्ट्याक्ट ट्रेसिङ, स्वाब परीक्षणलगायतका काम भने हुन सकेका छैनन् । बरु पोजिटिभ देखिएर आइसोलेसनमा बसिरहेका संक्रमितलाई परीक्षणबिनै घर पठाउन थालिएको छ । ‘यसले गर्दा कोरोना संक्रमण समुदायमा झन् फैलिने जोखिम बढेको छ,’ प्रदेश अस्पतालका एक चिकित्सक भन्छन्, ‘आकस्मिक कक्षमा आउने बिरामीलाई समेत सहजै उपचार गर्न डराउनुपर्ने अवस्था आएको छ ।’

विशेषगरी क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन तथा उपचार कार्यमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र कर्मचारीमार्फत कोरोना समुदायसम्म पुगेको छ । पीसीआर रिपोर्ट नआउँदै जेठ तेस्रो साता क्वारेन्टाइनबाट घर गएका दैलेख, नारायण नगरपालिकाका ८७ जना व्यक्तिमा कोरोना देखिएको थियो । त्यतिन्जेलम्म उनीहरू ३ देखि ५ दिनसम्म घरमा गएर बसिसकेका थिए । उनीहरूको परिवारका सदस्य र सम्पर्कमा पुगेका समुदायका अन्य व्यक्तिको पीसीआर परीक्षण गर्नुको साटो क्वारेन्टाइन (आइसोलेसन) मा फर्केका उनीहरूलाई बिहीबार परीक्षणबिनै घर पठाइएको छ । कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मी क्वारेन्टाइनमा बसेको मितिदेखि २० दिनको गणना गरेर ‘डिस्चार्ज’ गरिएको बताउँछन् । ‘उनीहरूको दोस्रोपटक स्वाब लिए पनि रिपोर्ट आएको छैन, नगरपालिकाको सहयोगमा कतिपय व्यक्तिको ट्रेसिङ गर्ने काम भएको छ,’ उनले भने, ‘तर लामो समयसम्म लक्षण नदेखिएकाले उनीहरूलाई घर पठाइएको हो ।’

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार बिहीबार मात्र ३२ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ । यसले पनि कोरोना संक्रमण तीव्र रूपमा फैलिइरहेको देखाउँछ । मन्त्रालयले समुदायस्तरमा संक्रमण पहिचान गर्न जनस्वास्थ्य अधिकृत बिर्खबहादुर शाहीको नेतृत्वमा कन्ट्रयाक्ट ट्रेसिङ टिम गठन गरेको छ । यद्यपि सो टिमले अहिलेसम्म समुदायमा संक्रमणको अवस्था के कस्तो छ भन्ने भेउ पाउन सकेको छैन । स्थानीय तहसँग समन्वय गरी समुदायमा संक्रमण देखिएका केसका आधारमा स्वाब संकलन गर्ने योजना बनाइएको शाही बताउँछन् ।

बिहीबारसम्म कर्णालीमा १ हजार ४ सय ६ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ५ जनाको मृत्यु भएको छ भने ६ सय ९२ जना निको भएर घर फर्किएका छन् । डिस्चार्ज भएका संक्रमितलाई पनि पीसीआर रिपोर्टका आधारमा गरिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २१ गते सबै कोभिड–१९ अस्पतालहरूलाई पत्राचार गर्दै पोजिटिभ केसहरूलाई लक्षणमुक्त भएको तीन दिन र जम्मा १४ दिनको आइसोलेसन बसाइपछि डिस्चार्ज गर्न सकिने भनेको थियो । सोही पत्रका आधारमा कर्णालीका आइसोलेसनबाट संक्रमितलाई डिस्चार्ज गर्न थालिएको हो । ‘लक्षण नदेखिए पनि उनीहरूमा कोरोना पोजिटिभ भइरहने अवस्थालाई नकार्न सकिँदैन,’ प्रदेश अस्पतालका ती चिकित्सक भन्छन्, ‘एकातिर पोजिटिभ केसहरू घर जाने, अर्कोतिर समुदायमा शंकास्पद व्यक्तिको स्वाब परीक्षण नगर्ने हो भने भोलि अवस्था जटिल हुन सक्छ ।’

दैलेखमा पीसीआर मेसिन

संक्रमितको संख्या बढ्दै गएपछि परीक्षणको दायरा बढाउन दैलेखमा पीसीआर मेसिन जडान गरिएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको करिब १ करोड ३० लाख रुपैयाँ लगानीमा मेसिन खरिद गरिएको हो । मेसिन नहुँदा जिल्लामा संकलन गरिएको स्वाब परीक्षणका लागि प्रदेश अस्पताल, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पठाउनुपर्ने बाध्यता थियो । रिपोर्ट आउन हप्तौं कुनुपर्ने समस्या हल गर्न दैलेखमै मेसिन जडान गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए ।

प्रयोगशाला सञ्चालनका लागि काठमाडौंबाट ६ जना प्राविधिकको टोली ल्याइएको छ । आवश्यक उपकरण जडानको काम सकिएपछि २/३ दिनभित्रै परीक्षण सुरु गरिने ल्याब इन्चार्ज शंकर शाहीले बताए । ‘सुरुमा ५ वटा नमुना परीक्षण गरी पुन: परीक्षणका लागि नेपालगन्ज पठाइनेछ,’ उनले भने, ‘दुवै ठाउँको रिपोर्ट एउटै आएपछि परीक्षणलाई तीव्रता दिनेछौं ।’ उनले परीक्षण सुरु भएपछि स्वाब संकलन गर्न गाउँगाउँमा स्वास्थ्यकर्मी खटाइने जनाए । जिल्लामा अहिलेसम्म ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको जिल्ला अस्पताल प्रमुख डा.नीरञ्जन पन्तले बताए । उनका अनुसार १ हजार ७ सय ९९ जना क्वारेन्टाइनमा र ३ सय ६९ जना आइसोलेसनमा छन् । प्रकाशित : असार १२, २०७७ ०८:२२

प्रतिक्रिया
पठाउनुहोस्

संक्रमितको शव व्यवस्थापनमा सधैं किचलो

कोरोना संक्रमणबाट मृत्यु भएकाको शव जलाउन कोही तयार हुन्नन् । गाड्न लगे स्थानीयले अवरोध गर्छन् ।
दीपक परियार

पोखरा — घटना १ - कोरोना संक्रमित ५८ वर्षीय पुरुषको जेठ २५ मा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा निधन हुन्छ । न शव बाहनका चालक भेटिन्छन्, न गाड्ने घाटकै व्यवस्था हुन्छ । पोखरा महानगरपालिकाले ११ नम्बर वडाको सेती नदी किनार रिट्ठाघाटमा शव गाड्न खाल्डो खनेर ठिक्क पार्छ ।

तर, ११ नम्बर वडाको फूलबारी र २० नम्बरको भलामका स्थानीयले उक्त घाटमा शव गाड्न नदिने अड्डी कस्छन् । प्रदेश सांसद र वडाध्यक्ष नै स्थानीयको जुलुसमा मिसिन्छन् । १८ घन्टासम्म शव उठ्दैन । अन्तत: स्थानीयले ढुंगामुढा गर्छन्, प्रहरीले लाठी चार्ज गर्छ । केही स्थानीयलाई नियन्त्रणमा लिएपछि शव व्यवस्थापन हुन्छ ।

घटना २

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा स्याङ्जाकै ५५ वर्षीय पुरुषको बुधबार राति कोरोना संक्रमणबाट निधन हुन्छ । महानगरले उनको शव कास्की र तनहुँको सिमाना पोखरा–३२ मझुवाको सातपत्रे घाटमा व्यवस्थापन गर्ने निर्णय गर्छ । घाटमा एक्स्काभेटर गएर खाल्डो खनिरहेको थाहा पाएपछि स्थानीयले अवरोध पुर्‍याउँछन् । शव बाहनमा शव लिएर पुगेका सेना र प्रहरीलाई रोक्छन् ।

घाट पुग्ने बाटोमा टायर जलाउँछन् । स्थानीय र प्रहरीबीच झडप हुन्छ । दुवैतर्फ केही सामान्य घाइते हुन्छन् । प्रहरीले बलपूर्वक अवरोध हटाएपछि तोकिएकै ठाउँमा शवको व्यवस्थापन हुन्छ । आक्रोशित भीड पृथ्वी राजमार्गसँगैको अस्थायी प्रहरी चेकपोस्ट पुग्छ । त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीमाथि ढुंगा बर्साउँछ । स्थिति नियन्त्रणमा लिन प्रहरीले ८ राउन्ड हवाई फायर गर्छ । ८ जना पक्राउ पर्छन् ।

किन हुन्छ किचलो ?

गण्डकी प्रदेशले कोरोनाबाट संक्रमितको शव व्यवस्थापन निर्देशिका तयार गरेको छ । निर्देशिकामा शव व्यवस्थापनको जिम्मा सेना र प्रहरीले गर्ने र घाटको व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्ने उल्लेख छ । धर्म, संस्कारअनुसार शव गाड्न वा जलाउन पाइन्छ । गाड्नैपर्ने वा जलाउनुपर्ने बाध्यात्मक परिस्थिति छैन । ठाउँको व्यावहारिक अनुकूलता हेरेर व्यवस्थापन गर्न सकिने प्रावधान छ ।

गण्डकी प्रदेशमा बिहीबारसम्म दुई जनाको कोरोना संक्रमणबाट निधन भएको छ । दुवैले पोखरा महानगरपालिकामा रहेको अस्पतालमा ज्यान गुमाएका हुन् । त्यसो हुँदा घाट खोज्ने जिम्मा महानगरको भागमा आउँछ । दुवैपल्ट शव व्यवस्थापन गर्दा महानगरलाई निकै सकस बेहोर्नुपर्‍यो ।

महानगरको लगानीमा सेती नदी किनार शान्तिघाटमा विद्युतीय शवदाह गृह छ । उक्त शवदाह गृह पूरै विद्युतीय भने होइन । दाउराको पनि प्रयोग गर्नुपर्छ । शव एकैपटक पूरै नजल्ने भएकाले बेलाबेला दाउरा मिलानुपर्छ । यसो हुँदा शव पोल्न कोही तयार नहुने समस्या देखिएको महानगर प्रमुख मानबहादुर जीसी बताउँछन् । दाउरामा शव जलाउन मान्छेकै अभाव हुने भएकोले गाड्ने विकल्प रोजिएको उनको भनाइ छ । राज्यको जमिनमा शव गाड्न स्थानीयले अवरोध गरेकोमा उनको आपत्ति छ । ‘शव पूरै जलाउनुपर्छ । त्यसका लागि मान्छे चाहिन्छ,’ उनले भने, ‘जलाउन लगे कसले जलाइदिने ? गाड्न लगे स्थानीयले अवरोध गर्छन् । कस्तो विलखबन्दमा परियो !’

कोरोना संक्रमणबाट निधन भएकाको शव गाड्न स्थायी रूपमा ३२ नम्बर वडाको सातपत्रे घाट रोजिएको उनले बताए । उनका अनुसार बस्तीबाट टाढा रहेकाले सबैभन्दा उपयुक्त ठाउँको रूपमा उक्त घाटलाई हेरिएको हो । सो ठाउँलाई ऐतिहासिक पार्कको रूपमा विकास गर्नसमेत प्रदेश र महानगरले चासो देखाएको उनको भनाइ छ । महानगरका ३ वटा स्वचालित विद्युतीय शवदाह गृह बनाउन २७ करोड रुपैयाँको टेन्डर भइसकेको जानकारी उनले दिए ।

शव व्यवस्थापन गर्न अवरोध गर्ने स्थानीयले आफ्नो क्षेत्रमा शव गाड्दा कोरोना संक्रमण फैलन तर्क गरेका छन् । कास्की स्वास्थ्य कार्यालय प्रमुख बाबुराम आचार्य स्थानीयको उक्त बुझाइ गलत रहेको बताउँछन् । मलामी गएका केहीमा कोरोना संक्रमण देखिए पनि त्यो अरू नै कारणले भएको उनको भनाइ छ । ‘कोरोना जीवित मान्छेबाट सर्ने हो, लासबाट सर्ने सम्भावना अत्यन्तै न्यून हुन्छ,’ उनले भने, ‘शवको व्यवस्थापनमा सबै सुरक्षाका विधि अपनाइने भएकाले कुनै खतरा रहँदैन ।’

कोरोना संक्रमण भएदेखि नै भेदभाव सहनुपर्ने अवस्थामा शवप्रतिको स्थानीयको बुझाइ झनै गलत रहेको उनले बताए । ‘शिक्षित वर्गमा पनि कोरोना संक्रमितप्रतिको दृष्टिकोण सकारात्मक देखिएन,’ उनले भने, ‘जनमानसमा चेतनाको स्तर वृद्धि गर्न प्रभावकारी सन्देश फैलाउन सकेनछौं भन्ने लाग्छ ।’

सम्बन्धित समाचार

प्रकाशित : असार १२, २०७७ ०८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×