जाे काेराेनाविरूद्ध डटिरहेका छन्

विश्वभर महामारीकै रूपमा देखिएकाले सुरुमा शंका र डर लाग्नु स्वाभाविक थियो, परिवारबाट पनि आशंका मिश्रित नै हौसला मिल्थ्यो । यस्तोमा घरपरिवारलाई रिझ्याएर जोखिम व्यवस्थापनमा खटिइरहेका छन् उनीहरू । भन्छन्– ‘काम गर्दै जाँदा डर हरायो, आखिर डाक्टरहरू रोग र महामारीसँग लड्नकै लागि त जन्मिने हुन् ।’

असार ७, २०७७

ज्योति कटुवाल, कलेन्द्र सेजुवाल

दैलेख — विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण कर्णालीमा नदेखिँदासम्म डा. पूजा बीसीको परिवार ढुक्क थियो । जब जेठ ५ मा दैलेखमै पहिलो पोजिटिभ संक्रमित भेटिए, तब बुबा देवकिरण बीसी, आमा ज्ञानुकुमारी थापासहित परिवारका अन्य सदस्यहरू पनि सशंकित बने । ‘मैले अस्पतालको नेतृत्व गरेकीले ड्युटी नगर भन्न त सक्नुभएन,’ पूजाले भनिन्, ‘तर घरबाट आमाले आत्तिएर फोन गर्ने, चिन्ता गर्ने गर्दा सम्झाउनै मुस्किल भयो ।’

कोरोना भाइरस संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारमा दैलेखमा १३ जना चिकित्सकसहित करिब ३ सय ५० स्वास्थ्यकर्मी खटिएका छन् । महिला चिकित्सकको संख्या ४ जना मात्रै छ । तीमध्येकी एक हुन्– २८ वर्षीया पूजा । दुल्लु अस्पतालकी प्रमुखसमेत रहेकी उनी र अन्य महिला चिकित्सकहरू चुनौतीबीच कोरोनाविरुद्ध सेवा दिइरहेका छन् ।

जेठ १७ मा दुल्लुको एक क्वारेन्टाइनमा कर्णालीमै पहिलोपटक कोरोना संक्रमित एकजनाको मृत्यु भयो । हुन त ती व्यक्तिको मृत्यु हृदयाघातका कारण भएको थियो, तर त्यसले पूजाको परिवारलाई छोरीप्रति थप चिन्तित तुल्यायो । आमा ज्ञानुकुमारीले त ‘मैले छोरीलाई डाक्टर पढाएर गल्ती गरेछु’ समेत भनिन् । ‘एकातिर भारतबाट आउनेहरूको जाँच, संक्रमितको उपचार र टोली परिचालन गर्नुपर्ने जिम्मेवारी छ, अर्कोतिर घरपरिवारलाई पनि कन्भिन्स (रिझाउनु) गरेर अघि बढ्नुपर्नेछ,’ उनले अनुभव सुनाइन्, ‘सुरु–सुरुमा निकै गाह्रो भए पनि अहिले त सहज रूपमा जिम्मेवारी निर्वाह गरिरहेकी छु ।’

कोरोनाविरुद्वको लडाइँमा डा. पूजाको भूमिका फराकिलो छ । दुल्लु अस्पतालमा उनको कमान्डमा ४ जना चिकित्सकसहित स्वास्थ्यकर्मी खटिएका छन् । जेठ महिनामा मात्र भारतबाट दैलेखमा करिब १३ हजार व्यक्ति आएकामा ३ हजार २८ जना दुल्लुका छन् । उनीहरूको स्वास्थ्य परीक्षणदेखि स्वाब संकलन, आरडीटी परीक्षणको चाप अझै घटेको छैन । संक्रमणको जोखिम पनि उत्तिकै छ । दुल्लुमा मात्रै हालसम्म ७५ जनामा संक्रमण देखिएको भने एकजनाको मृत्यु भइसकेको छ । गर्भवतीसहित ३४ जना कोरोनामुक्त भएर घर फर्किइसकेका छन् । जिल्लामा कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या भने ३ सय ३४ पुगेको छ ।

अस्पतालमा तीनजना चिकित्सकको दरबन्दी भए पनि दरबन्दीमा उनी एक्लै छिन् । स्वास्थ्य मन्त्रालयबाट करारमा आएका डा. प्रशान्त चौलागाईं र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट काजमा खटिएका डा. दिनेश शाही र रोजनिन प्रधानले उनलाई साथ दिइरहेका छन् । सुरुको चरणमा त पूजा आफैं आइसोलेसनमा बसिन् । १० दिन आइसोलेसनमा बसेपछि २ हप्तासम्म क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । तर, डा. पूजाले ५ दिनमै पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि कमान्ड सम्हालिन् । ‘यस्तो बेला आफ्नो स्वास्थ्यको ख्याल त गर्नैपर्छ,’ उनले भनिन्, ‘तर संक्रमित बढिरहेका र कम जनशक्ति भएको अवस्थामा त्यो सुविधा उपभोग गर्न सक्ने कुरा पनि भएन ।’

सुरुवातमै चुनौतीपूर्ण अवसर

‘ड्युटी गर्नैपर्ने हो र ?’ घरका मान्छेको यस्तो प्रश्नले डा. जीना सापकोटालाई नझस्काएको होइन । यो जेठ १६ गते बिहानको कुरा थियो । उनी नारायण नगरपालिका–११ को सरस्वती माध्यमिक विद्यालयस्थित आइसोलेसनमा ड्युटी सम्हाल्न जाँदै थिइन् । सदरमुकाम नजिकै रहेको उक्त आइसोलेसनमा ३५ जना कोरोना संक्रमित थिए । उनीहरूको उपचार र हेरचाहको जिम्मेवारी सम्हाल्नु कम चुनौतीपूर्ण थिएन ।

‘सुरुमा त मलाई पनि डर लागेको थियो, तर जस्तोसुकै जोखिममा पनि जिम्मेवारीबाट भाग्नु हुन्न भन्ने शिक्षा पाएको कारण ड्युटीलाई सहज रूपमा लिएँ,’ उनले भनिन्, ‘काम गर्दै जाँदा डर हरायो, त्यसमाथि केही संक्रमितलाई निको बनाएर घर पठाउँदा निकै खुसी पनि लाग्यो ।’

गत वर्षमात्र फिलिपिन्सबाट एमबीबीएस गरेकी जीनाको कार्यक्षेत्रमा अभ्यास धेरै लामो छैन । उनी मंसिरमा दैलेख जिल्ला अस्पतालमा मेडिकल अधिकृतका रूपमा प्रवेश गरेकी हुन् । पेसागत जीवनको सुरुमै कोरोनाजस्तो विश्वव्यापी स्वास्थ्य समस्यासँग प्रत्यक्ष रूपमा जुध्न पाउनुलाई उनी अवसर र चुनौती दुवै ठान्छिन् । ‘महामारीहरू हिजो पनि थिए, अहिले पनि चलिरहेको छ, भविष्यमा पनि आइरहन्छन्,’ उनले भनिन्, ‘हामी डाक्टरहरू त्यहीसँग लड्नका लागि जन्मिएका हुनाले पछि हट्ने कुरै हुँदैन ।’

जीना आइसोलेसनमा १० दिनसम्म खटिइन् । उनको टिमका अन्य तीनजना सदस्यहरू स्टाफ नर्स सुमन घले, अनमी अस्मिता ओली र कार्यालय सहयोगी हरिकला बोगटी पनि महिला नै थिए । संक्रमितहरूमा लक्षण नदेखिएकाले कसैलाई औषधि चलाउनुपरेन । उनीहरूको मनभित्र गडेको मनोवैज्ञानिक त्रास हटाउन भने निकै हम्मे भएको उनको अनुभव छ । ‘सामान्यतया कोरोनाबारे चेतना दिने र मानसिक रूपमा बलियो बनाउने काम भयो,’ उनले भनिन्, ‘जाने बेला हल्का डर भए पनि आइसोलेसन केन्द्रको नेतृत्व गरेकाले उच्च मनोबलका साथ काम गरियो ।’ जीनासहित उनको टोली अहिले १४ दिनका लागि क्वारेन्टाइनमा बसेको छ ।

स्वयंसेवामा मस्त

२३ वर्षीया डा. रेश्मा श्रेष्ठको साहसको कथा अझ उँचो छ । एक वर्षअघि बंगलादेशबाट एमबीबीएस सकेकी उनी फागुनमा घर (दैलेख) आएकी थिइन् । कोरोनाका कारण लकडाउन भयो । सबै घरभित्र बन्दाबन्दीमा परे । रेश्मा भने जिल्ला अस्पतालमा स्वयंसेवा गर्न निस्किइन् । ‘मैले पढेको भनेकै यस्तै रोग र महामारीसँग लड्नका लागि हो, त्यसैले स्वस्फूर्त रूपमा काम गर्न अघि बढेकी छु,’ उनले भनिन्, ‘यस्तो बेला एकजना डाक्टरले पनि लडाइँमा ठूलो साहस दिन सक्छ ।’

रेश्माले अहिलेसम्म बहिरंग (ओपीडी) र आकस्मिक कक्ष (इमर्जेन्सी) मा आएका बिरामीको उपचार गर्नुका साथै सम्भावित संक्रमितको स्वाब निकाल्ने काममा सघाउँदै आएकी छन् । कतिपय स्वास्थ्यकर्मीहरू भारतबाट आएका बिरामीको उपचार गर्न हच्किँदा रेश्मा भने अगाडि बढ्ने गर्छिन् । जेठ ३० मा विष सेवन गरेकी भारतबाट आएकी एक महिलालाई इमर्जेन्सी वार्डमा ल्याइयो । ‘उनी कोरोना संक्रमणको जोखिममा छन् भन्ने थाहा भए पनि हामीले उच्च सावधानीका साथ उपचार गर्‍यौं, पीसीआर परीक्षणका लागि महिला र उनका श्रीमान्को स्वाब पनि निकाल्यौं,’ उनले भनिन्, ‘अस्पतालमा यस्ता जोखिमपूर्ण केसहरू दिनहुँजसो आइरहन्छन्, क्वारेन्टाइनमै गएर पनि भारतबाट आएकाहरूको स्वास्थ्य परीक्षण गरिरहेका छौं ।’

आइसोलेसनमा अहिले तेस्रो नम्बरको टोलीले सेवा दिइरहेको छ । छैटौं नम्बरमा रेश्माको पालो तोकिएको छ । एउटा टोलीले १० दिन खटिनुपर्ने भएकाले सामान्यतया तीन हप्तामा उनको पालो आउँछ । तर, संक्रमितहरू बढिरहेकाले त्यसअघि पनि उनी आइसोलेसनमा खटिन मानसिक रूपमा भने तयारी अवस्थामा रहेको बताउँछिन् । बुबा खगेन्द्र र आमा लक्ष्मीकुमारीले नै कोरोनाविरुद्ध काम गर्न हौसला दिएकाले सहज भएको उनले सुनाइन् । ‘उहाँहरूले छोरी यस्तो बेला जोखिम नमोल भन्नुभएको भए सायद म एक्लैले यो आँट गर्न सक्थिन होला,’ उनले भनिन्, ‘बुबा–ममीको प्रेरणाले काम गर्न साहस दिइरहेको छ ।’

गर्भवती र महिलालाई प्राथमिकता

महिला चिकित्सकले संकटको बेला लैंगिक संवेदनशीलतालाई पनि प्राथमिकता दिने गरेका छन् । सुत्केरी हुने समय आउन एक महिना पनि बाँकी थिएन । क्वारेन्टाइनमा रहेकी एक महिला जेठ १५ मा नियमित गर्भ जाँचका लागि दुल्लु अस्पताल पुगिन् । भारतबाट आएकी हुनाले अस्पतालले उनको आरडीटी परीक्षण गर्‍यो । रिपोर्ट नेगेटिभ आयो । तर, डा. पूजा ढुक्क हुन सकिनन् । उनले सोही दिन आइसोलेसनमा राखेर पीसीआर परीक्षणका लागि स्वाब निकालिन् । दुई दिनमै आएको रिपोर्टबाट कोरोना पुष्टि भयो ।

दुल्लु नगरपालिका–११, कालभैरवकी २३ वर्षीया ती महिलासँगै आएकी अर्की महिलाको पनि पीसीआर गर्दा रिपोर्ट पोजिटिभ आयो । गर्भवती र महिलाको सन्दर्भमा बढी नै ख्याल गरिएको डा. पूजाको भनाइ छ । उनका अनुसार आरडीटी रिपोर्ट नेगेटिभ आए पनि अर्की महिलाको शारीरिक अवस्था केही कमजोर भएकाले पीसीआर परीक्षण गरिएको थियो ।

घर फर्काउँदाको खुसी

शारीरिक रूपमा कुनै लक्षण नदेखिए पनि मानसिक रूपमा निकै कमजोर भएका संक्रमितको उपचार तथा हेरचाह कम्ती चुनौतीपूर्ण छैन । यस्तो अवस्थामा उनीहरू निको भएर घर फर्किंदा निकै खुसी लाग्ने गरेको अनुभव चिकित्सकहरूले सुनाए ।

डा. जीनाले सरस्वती माविको आइसोलेसनमा बसिरहेका डुंगेश्वरका दुईजनालाई डिस्चार्ज गर्दा आफ्नो छोटो पेसागत जीवनमा ठूलो उपलब्धि हासिल गरेको महसुस भएको सुनाइन् । पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए पनि गाउँका अन्य मान्छेहरूले भेदभाव गर्दा भने दु:ख लागेको उनको भनाइ छ । ‘अरू त टाढाको कुरा भइहाल्यो, मैले गाउँपालिका अध्यक्षलाई फोन गरेर लिन आउनुस् भन्दासमेत उहाँहरू आउनु भएन,’ उनले भनिन्, ‘त्यसपछि सम्झाइबुझाइ गरेर घर पठाइयो ।’

जेठ २६ मा दुल्लुमा गर्भवतीसहित उनका २ वर्षीय बालक र अर्की एक महिलालाई डिस्चार्ज गर्दा डा. पूजामात्र होइन, सिंगो दुल्लु क्षेत्रले कोरोनाविरुद्ध विजय यात्रा सुरु गरेको महसुस गर्‍यो । दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले डा. पूजाको नेतृत्वमा रहेको स्वास्थ्यकर्मी टोलीको प्रशंसा गरे । ‘सहरमा मात्र होइन, गाउँमा समेत साहसी र दक्ष डाक्टर, स्वास्थ्यकर्मी छन् भन्ने यसबाट पुष्टि भएको छ,’ उनले भने । महिला चिकित्सकले कमान्ड गरेको स्वास्थ्यकर्मीको टोलीले उत्कृष्ट र उदाहरणीय क्षमता प्रदर्शन गरेको उनको भनाइ थियो ।

जन्मभूमिमा उत्कृष्ट कर्म

कोरोनाविरुद्धको लडाइँमा अग्रमोर्चामा रहेर उत्कृष्ट काम गरिरहेका जिल्लाका तीनजना महिला चिकित्सकमध्ये पूजा र रेश्मा दैलेखका हुन् भने जीना सुर्खेतकी । विश्वका विभिन्न देशमा गएर मेडिकल शिक्षा पढे पनि जोखिमको समयमा आफ्नै जन्मभूमिमा सेवा गर्न पाउँदा उनीहरू खुसी पनि छन् ।

महाबु गाउँपालिका मूल घर भएकी पूजाले आफ्नो थातथलोमा जोखिमका बेला जनताको सेवा गर्न पाउनुलाई ठूलो अवसर भएको बताइन् । ‘चुनौतीभित्र अवसर लुकेको हुन्छ, डाक्टर पढ्नेजति सबैले यस्तो अवसर पाउँदैनन्,’ उनले भनिन्, ‘यो अवसर दुर्गममा बसेर हामीले पाएका छौं, यसले सकारात्मक ऊर्जा पनि दिएको छ ।’

महिला चिकित्सकमा देखिएको साहस र उच्च मनोबलको अन्य चिकित्सकहरू पनि खुलेर प्रशंसा गर्छन् । दैलेखका विभिन्न स्थानीय तह र स्वास्थ्य संस्थामा पुगेर आएका कर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सक डा. नवराज केसीले कोरोनाविरुद्ध फिल्डमा खटिएका महिला चिकित्सकको उच्च मनोबल र साहस देख्दा दंग परेको बताए । ‘कोरोना संक्रमितहरू बसेको क्याम्प (आइसोलेसन) मा रातदिन खटेर काम गर्नु कम्ती जोखिम छैन,’ उनले भने, ‘दैलेखका बहिनीहरू (डाक्टर) भने निडरताका साथ काम गरिरहेका छन्, यसले अरूलाई पनि प्रेरणा मिलेको छ ।’ दुल्लुजस्तो जोखिमपूर्ण क्षेत्रमा समग्र अस्पतालको नेतृत्व गर्दै कोरोनाविरुद्ध लड्नु थप चुनौतीपूर्ण भएको उनको भनाइ थियो ।

दैलेख स्वास्थ्य कार्यालय प्रमुख डा. निरञ्जन पन्तले महिला चिकित्सकको मनोबल देखेर आफूहरूलाई समेत ऊर्जा मिल्ने गरेको बताए । ‘ज्ञानको हिसाबले अन्य सहकर्मीभन्दा कमी हुने कुरै भएन, संकटमा काम गर्ने आत्मबल पनि गज्जबको छ,’ उनले भने, ‘यसले सामूहिक रूपमा संकटको सामना गर्न सहयोग मिलेको छ ।’

दुल्लुमा चिकित्सक दम्पती

दिनेश शाही र रोजनिन प्रधान 

दुल्लुमा एक चिकित्सक दम्पती नै कोरोनाविरुद्धको अभियानमा खटिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत मेडिकल अधिकृतद्वय दिनेश शाही र रोजनिन प्रधान जेठ १७ देखि दुल्लुमा छन् ।

भैरवी गाउँपालिका निवासी दिनेशले संकटका बेला गृह जिल्लामा सेवा गर्ने इच्छा गरेपछि प्रतिष्ठानले दम्पतीलाई दुल्लु पठाएको हो । ‘अन्यत्रभन्दा दैलेखमा कोरोनाको संकट धेरै छ, तर डाक्टर र स्वास्थ्यकर्मी कम छन्,’ डा. दिनेशले भने, ‘यस्तो बेला आएर सेवा गर्न पाउनु हाम्रा लागि ठूलो अवसर पनि हो ।’

३० वर्षीय दिनेश र २९ वर्षीया रोजनिनले दुई वर्षदेखि प्रतिष्ठानमा काम गरिरहेका छन् । दैलेख आएपछि दुल्लु अस्पताल मातहत रहेर उनीहरू कोरोना संक्रमितको उपचार र व्यवस्थापनमा खटिइरहेका छन् । अस्पतालले जेठ ३० देखि १० दिनका लागि आइसोलेसनमा खटाएको छ । उनीहरूले छिउँडीस्थित स्वास्थ्यचौकी (कोरोना विशेष अस्पताल), द्रोणाचल क्याम्पस र विजय माविमा रहेका ७० जना संक्रमितको स्वास्थ्य हेरचाह गर्नेछन् । ‘सुरु–सुरुमा त डर लागेको थियो, अब भने मनमा एकरत्ति डर छैन, अस्पताल (प्रतिष्ठान) ले पनि प्रोत्साहन गरेका कारण सजिलो भएको छ,’ काठमाडौंमा जन्मे हुर्केकी रोजनिनले भनिन्, ‘यस्तो ग्रामीण क्षेत्रमा आएर काम गर्न पाउँदा खुसी लागेको छ ।’

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

कलेन्द्र

Link copied successfully