गोरखा अस्पतालबाट ८ जना कोरोना संक्रमित निको भएर घर फर्किए

असार ६, २०७७

हरिराम उप्रेती

गोरखा — गोरखा अस्पतालमा उपचाररत आठ जना कोरोना संक्रमित निको भएका छन् । गोरखा अस्पतालको आइसोलेसनमा रहेका आठ संक्रमितको दुई पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि शनिबार घर फर्किएका अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए ।

पालुङटार नगरपालिकाका १७ वर्षीय किशोर, गण्डकी गाउँपालिकाका ३०,२०,३२ र ४६ वर्षीय पुरुष, भिमसेन थापा गाउँपालिकाका २० र २३ वर्षीय पुरुषलाई डिस्चार्ज गरिएको उनले बताए ।

काभ्रे घर भएका २० वर्षीय पुरुष पनि शनिबार गोरखा अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरुको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । ‘१४ दिन आइसोलेसन बसेकाहरुको रिपोर्ट पनि नेगेटिभ आएपछि डिस्चार्ज गरेका हौँ,’ उनले भने ।

स्वास्थ्य सामग्रीसहित पुष्पगुच्छा दिएर उनीहरुलाई शनिबार गोरखा अस्पतालबाट घर पठाइएको छ ।  घर फर्किएकाहरुलाई स्वास्थ्यको ख्याल गर्न चिकित्सकले सुझाए ।

आठ जना डिस्चार्ज भएसँगै अब गोरखा अस्पतालमा १६ संक्रमित उपचाररत छन् ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully