नेपालगन्ज — बाँकेमा शुक्रबार डिस्चार्ज भएका ४१ जनाको सूचीमा आइसोलेसनबाट भागेका एक जना संक्रमितका पनि रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकी गाउँपालिकाको जोगागाउँ स्कुलमा बसेका ४१ जनालाई डिस्चार्ज गरिएको बताए । उनीहरु संक्रमितको भएको १५औं दिनमा घर फर्किएका हुन् ।
जानकी गाउँपालिकाका विभिन्न स्कुलमा रहेका उनीहरुलाई पोजिटिभ देखिएपछि जानकी गाउँपालिका–१ जोगागाउको नेरामाविको आइसोलेसनमा राखिएको थियो । उक्त आइसोलेसनबाट दुई हप्ताअघि एक जना फरार भएका थिए । उनी अहिलेसम्म भेटिएका छैनन् । प्रहरीले भारत गएको बताएको छ । ती व्यक्ति पनि डिस्चार्ज हुनेको सूचीमा परेका छन् ।
१४ दिन आइसोलेसन अस्पताल वा सेन्टरमा बसेका व्यक्तिलाई रिचेक नगरी पठाउने स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसार यिनीहरुलाई पनि घर पठाइएको हो । बाँकेमा यी ४१ सहित अहिलेसम्म २ सय ५० जना डिस्चार्ज भएको कोरोनाका फोकल पर्सन श्रेष्ठले सुनाए ।
१४ दिन आइसोलेसनमा बसेपछि स्वत: घर पठाउने नीतिका कारण बाँकेका आइसोलेसन सेन्टरहरु धमाधम खाली भइरहेका छन् । जिल्लामा १४ वटा आइसोलेसन सेन्टर बनाइएकोमा अहिले ५ वटा खाली भइसकेका छन् । क्वारेन्टाइनमा बसेका व्यक्तिलाई तीव्र गतिमा पीसीआर परीक्षण भने हुन सकेको छैन ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार आइसोलसन सेन्टरमा ८३ जना बाँकी रहेका छन् । जिल्लामा १ सय ११ वटा क्वारेन्टाइन छन् । त्यसमा दुई हजार ९२ जना बसिरहेका छन् ।
