कैलाली — कैलालीको गोदावरी नगरपालिकाले शनिबारदेखि पुन: पूर्ण रुपमा लकडाउन गरेको छ । कोरोना संक्रमण तीव्र रुपमा फैलन सक्ने अनुमान गर्दै रोकथाम र न्यूनीकरणका लागि पूर्ण रुपमा लकडाउन गरिएको नगरपालिकाका मेयर हरिसिंह साउदले जानकारी दिए ।
असार ६ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिकाभित्र पूर्ण रुपमा लकडाउन लागू गरिएको पनि मेयर साउदले बताए ।
मेयर साउदले सबै बजार क्षेत्र बन्द गरिएको र अत्यावश्यक सेवा र कार्यालयको आन्तरिक कामबाहेक अन्य सबै सेना बन्द गरिएको जानकारी दिए । त्यस्तै समूह बनाएर हिँड्न नपाइने र नगरपालिकाभित्र रहेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था बन्द गरिएको पनि उनले जानकारी दिए ।
संक्रमण बढ्दै गएको र एक जनाको मृत्युसमेत भएको घटनालाई मध्यनजर गरी लकडाउन गरिएको मेयर साउदले बताए । गोदावरी नगरपालिका वडा नम्बर ७ का ४६ वर्षीय पुरुषको बुधबार मृत्यु भएको थियो । नगरपालिकामा हालसम्म वडा अध्यक्षसहित ९ जनामा कोरोना पुष्टि भएको छ ।
