सरकारले विकास आयोजना पूर्ण संचालनमा ल्याउने

जेष्ठ २९, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले निजी र सरकारी क्षेत्रबाट संचालित विकास निर्माणका योजना पूर्णरूपमा संचालन गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजिनक गर्ने क्रममा सरकारका प्रवक्ता युवराज खतिवडाले लकडाउन खुकुलो पार्ने नीति सार्वजनिक गर्दै निर्माण क्षेत्रलाई निर्वाध संचालन गर्न दिने निर्णय भएको जानकारी दिए । 

 उनले भने, 'विकास आयोजना निजी क्षेत्रबाट प्रबर्धितलाई पनि र जलविद्युत् आयोजनालाई पनि निर्वाध संचालन गर्न दिने निर्णय भएको छ ।' निर्माण क्षेत्रका लागि आवश्यक पर्ने कच्चा पदार्थ र नदीजन्य पदार्थ उत्खनन र ढुवानीलाई पनि खुला गर्ने निर्णय भएको मन्त्री खतिवडाले बताए । 

त्यसैगरी उद्योगहरू पनि खुला गर्ने निर्णय भएको छ । उद्योग र निर्माण क्षेत्रमा काम गर्ने व्यक्तिहरूको आवतजावतलाई पनि निर्वाध गर्ने निर्णय भएको मन्त्री खतिवडाले बताए । 

निर्माण क्षेत्रमा पूर्ण स्वास्थ्य सुरक्षा अपनाइने पनि सरकारले बताएको छ । यसका साथै सरकारले लकडाउन खुकुलो पार्ने निर्णय गरेको छ । गत चैत ११ गतेदेखि लकडाउन लागु गरेको सरकारले कोरोना भाइरसका संक्रमित कम भएको ठाउँमा क्रमशः लकडाउन खुकुलो पार्दै लैजाने निर्णय गरेको हो ।

कोरोना भाइरसलकडाउन

कान्तिपुर

Link copied successfully