कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउनमा 'नोस्टाल्जिक' कलाकार 

रीना मोक्तान

काठमाडौँ — लकडाउनको समय अधिकांश कलाकारले व्यस्त जिन्दगीबाट फुर्सद पाए । पुराना दिनहरु केलाउने समय पनि पाए । अधिकांशले लकडाउनको समय परिवारसँग बिताए । धेरैले पुस्तक पढ्न, फिल्म हेर्न गज्जबको फुर्सद पाए ।

लकडाउनमा 'नोस्टाल्जिक' कलाकार 

अभिनेत्री केकी अधिकारीले भने यी सबसँगै फुर्सदको यो समयलाई सरसफाइका लागि प्रयोग गरिन् । यही बहानामा हराएका सामानहरु खोज्दा पुरानो एल्बम भेट्टाइन् । जसले उनलाई बाल्यकालमा फर्काइदियो । एक्कासि नोस्टाल्जिक बनाइदियो ।

'सरसफाइको काम गर्दै थिएँ । आफ्नो हराएको कुरा खोजौं भन्ने भयो । अरु बेला व्यस्त भइन्थ्यो । त्यतातिर ध्यान पनि जाँदैन थियो । अहिले लकडाउनले फुर्सद हुँदा थाहा भयो जीवनमा धेरै चिजहरु हराएका रहेछन्,' उनले सुनाइन् ।

भेटिएको पुरानो एल्बममा विद्यालयको रिपोर्ट कार्ड, सर्टिफिकेट थियो । ती कुराहरुले उनलाई विद्यालयका पुराना दिनमा पुर्‍यायो । बाल्यकालका ती अविष्मरणीय क्षणमा पुर्‍याइदियो जहाँ उनले आफ्नो मन मिल्ने साथी भेटेकी थिइन् । युक्ता प्रधान, उनीसँग केकीले कक्षा १ देखि पाँचसम्म सँगै पढेकी थिइन् । कक्षा पाँचपछि युक्ता अर्को विद्यालय गइन् ।

अचानक सरसफाइ गर्दै जाँदा केकीको हातमा युक्ता र उनको तस्बिर पर्‍यो । त्यसपछि उनीसँग बिताएको बाल्यकालका सम्झना झलझली उनको आँखा अगाडि नाच्न थाल्यो । हुन त केकीलाई बाल्यकालका अन्य यादहरु खासै सम्झनामा छैन । तर, युक्तासँग बिताएको त्यो रमाइला यादले भने लामो समय केकीलाई सताइरह्यो । त्यसैले केकीलाई लाग्यो, लकडाउन युक्तालाई खोज्ने उपयुक्त समय होला ।

केकी अधिकारी बाल्यकालकाे तस्बिर नियाल्दै

'अरुबेला समय छैन भन्ने बहाना भइरहन्थ्यो,' केकीले भनिन्, 'अब त २० वर्षभन्दा बढी समय बितिसकेको छ । के कस्तो परिवर्तन भयो होला, फेसबुकमा उनलाई खोज्न थालें । म्युचल फ्रेन्डले गर्दा साथीलाई फेसबुकमा भेटें । विद्यालयको नाम पनि परिवर्तन गरिसकेकी रहिछिन् ।'

फेसबुकमा दुईले खुब कुराकानी गरे । सेलिब्रेटी भइसकेकी साथीले आफूलाई नचिन्ने पो हो कि भन्ने शंकाले गर्दा इन्देणी(युक्ताको नयाँ नाम)ले पनि केकीसँग कहिल्यै बोल्न प्रयास गरेकी रहिनछिन् । 'सबैभन्दा दु:ख लाग्दो कुरा हामी अनुमान गर्छौं नि त । त्यही अनुमानमा सम्बन्ध अलमलिएको हुन्छ,' केकीले सुनाइन् ।

अभियनतिर व्यस्तता बढेपछि अभिनेत्री केकीले धेरै सम्बन्धहरुसँग दूरी बढेको अनुभव गरेकी छिन् । स्नातक अध्ययन गर्दै गर्दा केकीले फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन् । हरेक कार्यक्रममा उपस्थित हुने केकी त्यसपछि भने बिस्तारै साथीहरुले बनाएको कार्यक्रम सहभागी जनाउन भ्याइनन् । कामलाई प्राथमिकता दिँदा साथीहरु छुटिँदै गए । 'जिन्दगीमा कति कुरा पाउँदै जाँदा कति कुरा छुट्दै जाँदो रहेछ । त्यतिबेला त्यो महसुस हुँदैन । तर अहिले याद गर्दाखेरी पाउनु/गुमाउनु भन्दा पनि साथीहरुसँग ती यादहरु मैले बनाउन पाइनँ भन्ने कुराले मन अमिलो हुन्छ,' उनले सुनाइन् । त्यसैले केकीले वर्षौंपछि आफ्नो मिल्ने साथीलाई लकडाउनमा खोजिन् । भेट्टाउँदाको खुसी अझै ताजै छ । आफ्नो युट्युब अकाउन्टमा युक्तासँगका ती दिनहरु सम्झँदै भिडियोसमेत बनाएकी छिन् ।

बाल्यकाल अन्तरमुखी स्वभावकी थिइन् केकी । 'हेर्दा सोझी देखिए पनि मनको बाठ्ठी थिएँ । विद्यालयको अतिरिक्त क्रियाकलापमा पनि अगाडि नै थिएँ । जहिल्यै पनि पहिलो हुनुपर्छ भन्ने सोच राख्थें । तर अहिले त्यो चिजहरुले जिन्दगीमा खास अर्थ राख्दैन रहेछ भन्ने महशुस भएको छ,' केकील भनिन् ।

सानोमा दयाहाङ राई साथीहरूसँग

लकडाउनले केकीलाई मात्रै होइन थुप्रै कलाकारलाई बाल्यकालका दिनहरुमा पुर्‍याइदियो । कलाकारहरु राजेश हमाल, दयाहाङ राई, आर्यन सिग्देल, स्वस्तिमा खड्का, लक्ष्मी बर्देवालगायत थुप्रै कलाकारले नोस्टाल्जिक हुँदै बाल्यकालका तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट पनि गरे ।

अभिनेता सिग्देलले केही दिनअघि फेसबुकमा आफ्नो बाल्यकालको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, 'एकादेशमा मिस्टर हरिश सिग्देल ।' विद्यालय पोसाकको उक्त तस्बिर पक्कै अभिनेता सिग्देललाई पनि विद्याल जीवनमा पुर्‍याएको हुनुपर्छ ।

त्यस्तै सामाजिक सञ्जाल फेसबुकमा अभिनेता दयाहाङले पनि आफूले एसएलसी परीक्षा दिँदाको तस्बिर सार्वजनिक गरेका थिए । 'एउटा सुन्दर सम्झना..एसएलसी परीक्षा सकिएपछि साथीहरू सरोज राई र दिवान राईसँग म अन्नपूर्ण माविको प्राङ्गणमा । पछाडि ट्याम्के डाँडा, त्यसैको मुनि मैले नै छेकेको मेरो गाउँ,' उनले लेखेका छन्, 'अहिले एसईई परीक्षा रोकिएको यो अवस्थामा तपाईं सम्पूर्ण विद्यार्थी साथीहरू शारीरिक र मानसिक रुपमा तयार रहनुहोला । किनभने तपाईंहरूले एउटा युग हाँक्नुछ ।'

अभिनेत्री लक्ष्मी बर्देवा लकडाउनले बाल्यकालका स्मृतिहरु ताजा गरेको बताउँछिन् । 'मलाई बाल्यकालमा कसैले नियन्त्रण गर्न खोजेको मन पर्दैन थियो,' उनी सम्झिन्छिन्,'म आमाको कुटाइ खाइरहन्थें । चकचके थिएँ । जिज्ञासु थिएँ । सानो कुरा पाएँ भने चित्तबुझ्दो जवाफ नआएसम्म उत्तर खोजिरहन्थें । पढाइ राम्रै थियो ।'

उनी बहिनीहरुको निकै हेरचाह गर्थिन् । वास्ता गर्थिन् । आफू जता गए त्यतै लिएर हिँड्थिन् । तिहारमा पिङ खेलेर लड्दाको घट्ना उनी कहिल्यै बिर्सन्नन् । 'म सानोमा गौरीघाट संगमचोक बस्थें । त्यो बेला दशैंमा पशुपतिमा पिङ हाल्थ्यो,' उनले सम्झिन्, 'मलाई पिङ एकदमै मनपर्ने । पिङबाट लडेर दुर्घटना भएको खबरहरु सुनेर आमा पिङ खेल्न जान दिनुहुन्थेन । तर म दुई बहिनीहरु कल्याणी र आश्विनीलाई लिएर पिङ खेल्न पुगिहाल्थें ।'

लक्ष्मी बर्देवा सानी छँदा

उनीहरु पिङ छेउ नपुग्दै त्यसदिन बाँदरले उनीहरुलाई आक्रमण गर्‍यो । बाँदरको आक्रमणबाट बच्न खोज्दा लडेर बहिनीलाई चोट लाग्यो । 'त्यतिबेला आमाले कुटाइ खाएँको थिएँ । उहाँले त नजा भन्नु भएको थियो नि त,' उनी पूराना दिन सम्झिन्छिन् ।

आमाले पिङ खेल्न जान नदिएपछि घरको छतमा उनले लुगा सुकाउने डोरी झुण्डाएर पिङ बनाइन् । सबै बहिनीहरु त्यसमा झुण्डिएर पिङमा मच्चिन्थे । तर लक्ष्मी पालोमा त्यो डोरी चुँडिएर टाउको फुटेको थियो ।

'पिङ जस्तो बनाएर एक हातले त्यो डोरी समातेर तुर्लुङ्ग झुण्डिन्थ्यौं,' उनले सम्झिइन्, 'म झुण्डिएको समयमा डोरी चुँडिएर मेरो टाउको फुटेको थियो । धन्न बहिनीहरुलाई केही भएन । त्यो क्षण सम्झँदा अहिले हाँस उठ्छ । साँच्चै कति रमाइला थिए ती बालापन !'

प्रकाशित : जेष्ठ २९, २०७७ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?