असार १७ देखि आन्तरिक उडान सुरु गर्ने तयारी 

आइतबारबाटै टिकट बुकिङ खुला गर्ने तयारीमा व्यवसायी
सुरज कुँवर

काठमाडौँ — सरकारले लकडाउनको एक सय दिनपछि असार १७ गतेदेखि आन्तरिक उडान खुला गर्ने तयारी गरेको छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, श्री एयरलायन्सका प्रबन्ध निर्देशक सुधीर मित्तल र यति एयरलायन्सका सीइओ उमेश राईबीच आइतबार प्राधिकरणमा भएको बैठकमा असार १७ गतेदेखि आन्तरिक उडान खोल्ने सहमति भएको हो ।

‘पहिलो चरणमा असार १७ देखि काठमाडौं र हिमाली तथा पहाडी रुटको उडान खोल्ने सहमति भएको छ,’ बैठकमा सहभागी स्रोतले कान्तिपुरसँग भन्यो, ‘पहिलो चरणको १५ दिनपछि साउनबाट देशभरका सबै स्थानको उडान खुल्ला गरिने छ ।’

साउनमै तेस्रो चरणमा अन्तर्राष्ट्रिय उडान सुचारु गरिने स्रोतले बताएको छ । ‘पहिले सातवटा मुलुकबाट अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने कुरा भएको छ,’ स्रोतले भन्यो, ‘आन्तरिक उडानमा कोरोना महामारी फैलिएका हटस्पटमा भने उडान हुने छैन ।’

बुद्ध एयरका निर्देशक रुपेश जोशीले प्राधिकरण र व्यवसायीहरुबीचको छलफलपछि आफ्नो कम्पनीले टिकट बुकिङ खुला गर्न लागेको बताए । ‘सरकारको निर्णय एक दुई दिनमा आउला,’ निर्देशक जोशीले भने, ‘पहिलो चरणमा पहाडी उडान खुला गरिने भएकाले हामीले सुर्खेत, पोखरा र तुम्लिङटारको बुकिङ आजबाट खोल्दैछौं ।’

प्राधिकरण र व्यवसायीहरुबीच उडान खोल्नेबारे आइतबार बैठक डाकिएको थियो । उक्त बैठकमा प्राधिकरणका महानिर्देशक र एयर ट्रान्सपोर्ट डिभिजन प्रमुख सचितभक्त पोखरेल थिए । व्यवसायीसँगको बैठक सकिएलगत्तै महानिर्देशक पोखरेल मन्त्रालयको बैठकतर्फ लागेका छन् । मन्त्रालयले यो विषय उपाप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिमा लैजाने र समितिबाट मन्त्रिपरिषदबाट निर्णय हुने स्रोतले बतायो ।

सरकारले चैत ९ गतेदेखि व्यवासायिक अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ भने चैत ११ देखि आन्तरिक उडान पनि रोकिएका छन् । सरकारले ६ पटक निर्णय गर्दै उडानलाई जेठ ३२ सम्म रोक लगाएको छ ।

प्रकाशित : जेष्ठ २५, २०७७ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्

क्वारेन्टाइनमै संक्रमणबाट मृत्यु हुनु चिन्ताजनक : मानव अधिकार आयोग 

क्वारेनटाइनहरूलाई मापदण्ड अनुरूप सञ्चालन गर्न निर्देशन
कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि देशभर सञ्चालित क्वारेन्टाइनहरूमा नै संक्रमणबाट मृत्यु हुनु चिन्ताजनक भएको टिप्पणी गरेको छ ।

आयोगले आइतबार विज्ञप्ति जारी गरी मुलुकभर संक्रमणबाट मरेका १३ जनामध्ये क्वारेन्टिनभित्रै ९ जनाको मृत्यु भएको दु:खद स्थितिप्रति संवेदनशील र गम्भीर हुन सरकारलाई निर्देशन दिएको छ ।

आयोगले आइतबार विज्ञप्ति जारी गरी मुलुकभर संक्रमणबाट मरेका १३ जनामध्ये क्वारेन्टिनभित्रै ९ जनाको मृत्यु भएको दु:खद स्थितिप्रति संवेदनशील र गम्भीर हुन सरकारलाई निर्देशन दिएको छ ।

आयोगले मुलुकभरका अधिकांश क्वारेन्टाइन न्यूनतम मापदण्डविपरीत सञ्चालनमा रहेको र त्यहाा आधारभूत मानव अधिकार संरक्षणमा समेत उदासिनता देखिएको जनाएको छ ।

‘अहिले १ लाख ६७ हजारभन्दा बढी मानिस क्वारेनटाइनमा नै रहिरहेको गम्भीर स्थिति छ’ भन्दै आयोगले संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेकाले संकट झनै लम्बिन सक्ने देखिएको उल्लेख गरेको छ ।

आयोगले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि देशभर सञ्चालित क्वारेन्टाइनहरू मापदण्ड अनुरूप व्यवस्थित रूपले सञ्चालन गर्न र क्वारेन्टाइनमा रहेका सबैको पीसीआर परीक्षणलाई तीव्रता दिन सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित : जेष्ठ २५, २०७७ १२:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×