कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

कर्णालीका आधा संक्रमित एउटै क्वारेन्टाइनका

ज्योति कटुवाल

दैलेख — दैलेखको नारायण क्याम्पसको क्वारेन्टाइन भारतबाट आएकालाई राख्ने ‘होल्डिङ एरिया’ का रूपमा प्रयोग गरिँदा र फितलो व्यवस्थापनले धेरैमा संक्रमण देखिएको हो । कर्णाली प्रदेशमा बिहीबारसम्म ३ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये आधा संक्रमित (१९४ जना) दैलेखको नारायण नगरपालिकाका छन् ।

कर्णालीका आधा संक्रमित एउटै क्वारेन्टाइनका

उनीहरू सबैलाई सदरमुकामस्थित नारायण क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ । जिल्लाका अन्य स्थानीय तहमा २४ जना संक्रमित छन् ।

नारायण क्याम्पसको क्वारेन्टाइन भारतबाट आएकालाई राख्ने ‘होल्डिङ एरिया’ का रूपमा प्रयोग गरिँदा यहाँ बसेका धेरैमा संक्रमण देखिएको हो । भारतबाट आएका दैलेखवासीलाई सुरुमा उक्त क्याम्पसमा ल्याएर राखिने र पछि सम्बन्धित स्थानीय तहले लैजाने गरेका थिए । दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल भने क्वारेन्टाइनको फितलो व्यवस्थापनलाई नै प्रमुख कारक मान्छन् । ‘स्वास्थ्य जाँचबिनै कोचाकोच गरेर राख्दा संक्रमण फैलिएको हुन सक्छ,’ प्रजिअ कट्टेलले भने, ‘पछिल्लो समय भारतबाट ठूलो संख्यामा मान्छेहरू आएका र उनीहरूलाई सावधानीपूर्वक व्यवस्थापन गर्न नसक्दा संक्रमण फैलिएको हुन सक्छ ।’

दैलेख प्रशासनमा जेठ महिनामा मात्र भारतबाट जिल्ला भित्रिनेको संख्या करिब १० हजार ७ सय छ । उनीहरूमध्ये अधिकांश नारायण क्याम्पसको क्वारेन्टाइनमा बसेरै आफ्नो स्थानीय तह वा नारायणकै विभिन्न वडामा पुगेका छन् । त्यसमाथि क्वारेन्टाइनको भद्रगोल अवस्थाले पनि संक्रमण फैलाउन सहयोग गरेको छ । जिल्लाभर कुल ७ हजार ५ सय ५२ वटा क्वारेन्टाइन बेड भए पनि त्यहाँ ९ हजार २ सय ८ जना बसिरहेका छन् । ‘क्वारेन्टाइन धर्मशालाजस्ता भए, भद्रगोल अवस्था छ,’ कट्टेलले भने, ‘एउटै कोठामा कोचिएर बस्नुपर्दा संक्रमणको दर झन् बढेको हो ।’ आरडीटी र पीसीआर परीक्षण नगरीकनै क्वारेन्टाइनमा राख्दा संक्रमण थप विस्तार भएको उनको ठहर छ ।

भारतबाट फर्किनेहरू समूहमा आउँदासमेत संक्रमण बढेको देखिएको छ । नारायण नगरपालिका–४ सोतका २४ जना र वडा–५ छातीकोटका १७ जनामा संक्रमण देखिएको छ । उनीहरू सबै समूहमा आएका थिए । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयकी निर्देशक रीता भण्डारी विशेषगरी भारतको वनबासा भएर आएका व्यक्तिमा संक्रमण देखिएको बताउँछिन् । ‘उनीहरू समूहमै हिँडडुल गर्ने, बस्ने र खाने गर्दा रहेछन्,’ उनले भनिन्, ‘यसले गर्दा एउटाको संक्रमण अर्कोमा सहजै फैलिएको हुन सक्छ ।’

‘संक्रमितलाई अस्पताल लगिहाल्नुपर्ने अवस्था छैन’

संक्रमण बढ्दै जाँदा क्वारेन्टाइन व्यवस्थापनमा चुनौती थपिएको छ । स्वास्थ्य कार्यालयका अनुसार बिहीबारसम्म जिल्लामा आइसोलेसन बेडको संख्या ४० मात्र छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले नारायण क्याम्पस, लाकान्द्रा प्राथमिक स्वास्थ्य केन्द्र, राकमकर्णाली स्वास्थ्य चौकी र दुल्लु अस्पतालमा ५० वटाका दरले दुई सय आइसोलेसन बेड बनाउने निर्णय गरे पनि संक्रमितहरू क्वारेन्टाइनमै बसिरहेका छन् ।

स्वास्थ्य निर्देशक भण्डारी संक्रमितमध्ये ८० प्रतिशतमा कुनै पनि लक्षण नदेखिएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताउँछिन् । ‘यस्ता संक्रमितलाई अरू मान्छेबाट अलग्याएर सामान्य आइसोलेसनमै राख्ने काम भइरहेको छ,’ उनले भनिन्, ‘उपचार गर्नुपर्ने नभएकाले अस्पताल पुर्‍याउनुपर्ने अवस्था पनि छैन ।’

व्यवस्थापन र उपचार अब तीन चरणमा

संक्रमण बढ्दै गएपछि प्रदेश सरकारले आइतबार संक्रमितको व्यवस्थापन र उपचार तीन चरणमा गर्ने निर्णय गरेको छ । कुनै लक्षण नदेखिएको संक्रमितलाई जिल्ला तहमा तोकिएको आइसोलेसनमा राख्ने, लक्षण देखिएका र सम्भावित जोखिम भएका संक्रमितलाई जिल्ला अस्पतालको आइसोलेसनमा राख्ने र जटिल अवस्थाका संक्रमितलाई तोकिएको विशिष्टीकृत अस्पतालमा व्यवस्थापन गर्ने निर्णय भएको हो ।

प्रदेश सरकारले सुर्खेतस्थित प्रदेश अस्पताल, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) र रुकुम पश्चिमको चौरजहारीस्थित सामुदायिक अस्पतालमा कोरोना विशेष अस्पतालका रूपमा पूर्वाधार विकास गरेको छ । जुम्लामा १ सय २० बेड, सुर्खेतमा ७० र चौरजहारीमा १५ बेड छन् । यी अस्पतालमा रहेका बेडमा तेस्रो चरणका बिरामीलाई उपचार तथा व्यवस्थापन गर्ने सरकारको योजना छ ।

प्रकाशित : जेष्ठ २३, २०७७ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?