व्यवसायीले लकडाउन अवज्ञा गर्ने चेतावनी दिएपछि उपत्यकाका तीनवटै प्रशासनको आकस्मिक बैठक

मातृका दाहाल

काठमाडौँ — उद्योगी/व्यवसायीहरुले लकडाउन अवज्ञा गर्ने चेतावनी दिएपछि परिस्थिति नियन्त्रणमा लिन उपत्यकाभित्रका तिनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त रुपमा आकस्मिक बैठक बसेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन, सुरक्षा निकाय तथा स्थानीय निकायका पदाधिकारीलगायतको उपस्थितिमा बसेको आकस्मिक बैठकमा लकडाउन व्यवस्थित बनाउने विषयमा छलफल भइरहेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) जनकराज दाहालले तीनवटै जिल्ला प्रशासन तथाअन्तर्गतका सुरक्षा निकायको संयुक्त बैठकले लकडाउन कसरी व्यवस्थित बनाउने भन्ने विषयमा छलफल भइरहेको बताए ।

बैठकस्थलबाट प्रजिअ दाहालले कान्तिपुरसँग भने, ‘व्यवसायीहरुले लकडाउन अवज्ञा गर्ने भन्नु भएको छ, यसप्रति हाम्रो ध्यानाकर्षण भएको छ, तर यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेमा तीनवटै जिल्लाका प्रशासन, सुरक्षा निकाय, जिल्ला समन्वय समिति, स्थानीयतहलगायत मिलेर एउटा समाधानको बाटो खोज्छौं, यस विषयमा छलफल जारी छ ।’

प्रजिअ दाहालले शैक्षिक संस्था, होटल तथा पार्टी प्यालेस, सार्वजनिक यातायात/सनेमा हल, सार्वजनिक भेला सम्मेलनलगायतलाई पूर्ण रुपमा नियन्त्रण गरेर बाँकी क्षेत्र नियन्त्रित ढंगले सुचारु गर्ने सम्वन्धमा छलफल जारी रहेको बताए । यस विषयमा केन्द्रित भएर जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर निष्कर्षमा पुग्ने उनले बताए ।

लकडाउनले जनजीवन कठिन बनाएको भन्दै बिहीबारदेखि मुलुकका विभिन्‍न ठाउँहरुमा पसलहरु खुल्न थालेका छन् । बिहीबार काठमाडौंको न्युरोडमा रहेका केही पसलहरु पनि खुलेका छन् ।

सम्बन्धित समाचार

काठमाडाैंकाे न्युराेडका पसल खुल्न थाले [तस्बिरहरू]

प्रकाशित : जेष्ठ २२, २०७७ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्

बैतडीको क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको पीसीआर रिपोर्ट नेगेटिभ

लकडाउन र पैसा अभावले दमको औषधि खान पाइनन् : श्रीमान्
तृप्ति शाही

बैतडी — बैतडीको क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । पुर्चौडी नगरपालिका–४ स्थित मालिका माविको क्वारेन्टाइनमा बसेकी २२ वर्षीया कमला लुहारको मंगलबार मृत्यु भएको थियो ।

उनीसँगै रहेका उनका १८ महिनाका छोरा, श्रीमान् र अन्य एक जना पुरुषको पनि पीसीआर रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख योगेश भट्टले बताए । क्वारेन्टाइनमै मृत्यु भएपछि महिला र उनीसँगै रहेका उनका छोरा, श्रीमान् र अन्य एक जना गरी ४ जनाको स्वाब संकलन गरी सेती अस्पताल धनगढी पठाइएको थियो ।

मृतक महिलाको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमै राखिएको शव आफन्तको जिम्मा लगाइएको प्रमुख भट्टले बताए ।

भारतको पञ्जाबबाट मृतक महिलाको परिवार जेठ १६ गते गौरीफन्टा नाका भएर घर फर्किएको थियो । १८ गतेबाट उनी क्वारेन्टाइनमा बसेकी थिइन् । स्वास्थ्यकर्मीहरुका उनुसार उनी दमको बिरामी थिइन् । एक वर्ष यताबाट नियमित औषधि सेवन गरिरहेकी उनले लकडाउन र पैसा अभावले औषधि खान नपाएकी मृतकका श्रीमान् हरिश लुहारले बताए । मृतकका ३ छोरोछोरी छन् ।

प्रकाशित : जेष्ठ २२, २०७७ ११:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×