स्वास्थ्यकर्मी संक्रमित भएपछि केएमसी केही दिनलाई बन्द- समाचार - कान्तिपुर समाचार

स्वास्थ्यकर्मी संक्रमित भएपछि केएमसी केही दिनलाई बन्द

फातिमा बानु

काठमाडौँ — सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज( केएमसी) मा कार्यरत एक चिकित्सक तथा एक जना नर्सलाई कोरोना संक्रमण भएपछि अस्पतालको सेवा बन्द गरिएको छ । साथै अस्पतालमा उपचारका लागि आएकी एक जना सुत्केरी महिला तथा ओपीडीमा जाँच गराउन आएका एक अर्का व्यक्तिमा कोरोना देखिएपछि संक्रमण फैलिन नदिन नयाँ बिरामी नहेर्ने निर्णय लिएको हो ।

अहिले अस्पतालभित्र कसैलाई छिर्न दिइएको छैन । केएमसीकी प्राध्यापक तथा प्रवक्ता डा. चन्दा कार्कीका अनुसार ट्रेसिङमा फेला परेका अस्पतालका डेढ सय स्वास्थ्यकर्मीको हिजै स्वाब संकलन गरेर परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रगोगशाला पठाइसकिएको छ ।

आज अझै केही स्वास्थ्यकर्मीको स्वाब पठाइने उनले बताइन् । ‘राम्रै पीपीई लगाएर बिरामी हेरेका स्वास्थ्यकर्मीलाई संक्रमण सऱ्यो,’ उनले भनिन्,‘यस्तो भएपछि अस्पतालका अन्य बिरामी र नजिकको समुदायमा समेत संक्रमण फैलिने सम्भावना र त्रास भयो । अनि हामी आफैले अस्पतालको सेवा बन्द गरेको हा, सरकारले सिल गरेको होइन ।’

उनका अनुसार शल्यक्रियाका लागि तयार राखिएका बिरामी लेभल–३ का अस्पतालमा रिफर गरिएको छ भने अस्पतालमा नै उपचाररत अन्य ६० जना बिरामीको स्वाब परीक्षणपश्चात रिपोर्ट नेगेटिभ आएपछि मात्रै बाहिर जान दिइनेछ । उपचार छाडेर घर जान चाहने बिरामीको विस्तृत ठेगाना टिपेर मात्रै पठाइनेछ ।

रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्यकर्मीलाई मात्रै काममा फर्काइने उनले बताइन् ।

‘अस्पतालका सबै वार्ड निर्मलीकरण हुन थालिसक्यो,’ उनले भनिन्, ‘यो बेलामा नयाँ बिरामी छिर्न दिदाँ संक्रमण सर्ने जोखिम भयो ।’ केएमसीमा बुधबार संक्रमण पुष्टि भए
का स्वास्थ्यकर्मी दोलखादेखि आएका संक्रमितको उपचारमा संलग्न थिए ।

प्रकाशित : जेष्ठ २१, २०७७ ११:००
प्रतिक्रिया
पठाउनुहोस्

बयालपाटा अस्पतालका ३३ जना कर्मचारी हटाइए

मेनुका ढुंगाना

अछाम — न्याय हेल्थ नेपाल नामक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले सञ्चालन गरेको अछामको बयालपाटा अस्पतालले आर्थिक संकट परेको भन्दै ३३ जना कर्मचारीको जेठदेखि करार थप गरेको छैन । पूर्व जानकारी बिनानै अस्पतालले कर्मचारी हटाएको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन् । 

‘यस्तो महामारीको बेला हामी बेरोजगार मात्रै भएका छैनौं । रोडमा बस्न बाध्य भएका छौं’ करार सम्झौता थप नभएका एक स्वास्थ्यकर्मीले भने, ‘आर्थिक अभावले करार थप नगरिएको भनेर बाहिर सूचना निकालिएको छ । तर हरेक विभागबाट सबैभन्दा कम तलब खाने कर्मचारी हटाइएका छन् । ५५ हजार माथि देखि ८ लाख तलब खानेसम्मलाई शक्ति र पहुँचको आडमा राखिएको छ ।’ अस्पतालले कर्मचारी हटाउँदा विभेद गरेको उनको आरोप छ ।

विदेशबाट आउने अनुदान कम भएपछि थप करार सम्झौता गर्न नसकिएको बयालपाटा अस्पताल अछामका हेल्थ केयर डाइरेक्टर डा. विकास गौचनले बताए । ‘विदेशबाट आउने सहयोग कम भएको दुई वर्ष भयो । केन्द्र र प्रदेश सरकारलाई पटकपटक हारगुहार गर्दा पनि सहयोग पाइएन,’ उनले भने, ‘चालु आिर्थक वर्षमा पनि साढे ५ करोड बजेट कम आएको छ ।’

आर्थिक अभाव भएपछि यसअघि नै कर्मचारीको सेवा सुविधादेखि धेरै सुविधा कटौती गरेको डा. गौचनले बताए । ‘करार सम्झौता थप गर्न नसकिने कुरा दुई महिना अगाडि उहाँहरुलाई नै खबर गरेका छौं,’ उनले भने, ‘अनुशासन कामकारबाही, कार्य सम्पादन मूल्याकंनको आधारमा करार थप नगरेका हौं । आर्थिक संकट भित्रभित्रै आएको त धेरै भयो ।’

प्रकाशित : जेष्ठ २१, २०७७ १०:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×