१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘संक्रमणका केन्द्र’ क्वारेन्टाइन

टाढा कतै नगएका एक जना कर्मचारीलाई कसरी संक्रमण भयो भन्ने खोज्दा उनी क्वारेन्टाइनमा रहेका भाइलाई खाना पुर्‍याउन जाँदा रहेछन्
प्रदेश ब्युरो

बुटवल — कोरोना परीक्षणका लागि थ्रोट स्वाबका नमुना प्रयोगशालामा पठाइएको थियो । रिपोर्ट नआउँदै वडाध्यक्षले क्वारेन्टाइनका २७ जनालाई बिदा गरे । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ को शिवशक्ति मावि क्वारेन्टाइनमा बसेकाहरूलाई गत बिहीबार घर पठाएको चार घण्टापछि आएको खबरले भने गाउँले आतंकित भए । उक्त क्वारेन्टाइनमा रहेका चार र व्यवस्थापनमा खटिएका वडाध्यक्षसमेत सात जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो ।

‘संक्रमणका केन्द्र’ क्वारेन्टाइन

संक्रमितहरू घरपरिवारको सम्पर्कमा पुगिसकेका थिए । सोही साँझ उनीहरूलाई खोजेर ल्याई आइसोलेसन सेन्टरमा राखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुँदालीले बताए । क्वारेन्टाइनमा रहेका सबै भारतबाट फर्किएकाहरू हुन् । बेलैमा परीक्षणको रिपोर्ट नआउँदा क्वारेन्टाइन व्यवस्थापनमा खटिएका वडाध्यक्षसमेत संक्रमित भए ।

बाँकेको कोरोना ‘हटस्पट’ नरैनापुर गाउँपालिका–३ स्थित कालाफाँटा क्वारेन्टाइन स्थल सुरक्षामा खटिएका एक प्रहरीमा पनि संक्रमण देखिएको छ । त्यहाँका क्वारेन्टाइनमा पनि भारतबाट आएकाहरूको चाप छ । संक्रमितहरू क्वारेन्टाइनबाट भागेर गाउँ पसेकाले सुरक्षाकर्मी पनि संक्रमणको चपेटामा परेका हुन् । त्यहाँको चौकीका २३ प्रहरी यतिबेला आफैं क्वारेन्टाइनमा बसेका छन् ।

दुई साताअघि कपिलवस्तुको कृष्णनगर नगरपालिकाको कृषि शाखाका नायब सुब्बा संक्रमित भए । उनीसँगै नगरपालिकाका सफाइ कर्मचारी र चार सुरक्षाकर्मीमा पनि संक्रमण देखियो । बाहिर कतै नगएका सुब्बामा संक्रमण कसरी आयो भन्ने स्वास्थ्यकर्मीले कारण खोज्न थाले । त्यसक्रममा नायब सुब्बा स्थानीय महेन्द्र मावि क्वारेन्टाइनमा बसिरहेका भाइलाई खाना पुर्‍याउन जाने गरेको खुल्यो । उनका भाइ भारतबाट आएका थिए । भाइसँगै मुम्बईबाट आएका साथी पनि संक्रमित पाइए । क्वारेन्टाइनमा आउजाउ गर्ने क्रममा सुब्बा संक्रमित भएको खुल्यो । जिल्लाकै आइसोलेसन सेन्टरमा राखेर उपचार गरिएका उनीहरू निको भएर शुक्रबार घर फर्किएका छन् । कार्यालयबाहिर नगए पनि भारतबाट फर्किएकाको स्वास्थ्य परीक्षणमा भएको ढिलाइले नगरपालिकाका कर्मचारी र सुरक्षाकर्मी संक्रमित भए ।

रूपन्देहीको सम्मरीमाई गाउँपालिकाले गत शनिबार क्वारेन्टाइनमा बसिरहेका ६६ जनालाई घर पठायो । दुई साता अवधि पूरा भइसकेका उनीहरू घरमा गए । एक दिन परिवारसित बिताएपछि आइतबार उनीहरूको पीसीआर परीक्षण रिपोर्ट आयो । त्यसमा क्वारेन्टाइनबाट घर गइसकेको तीन जनामा संक्रमण पुष्टि भयो । सुरक्षाकर्मीले आइतबार घरबाटै उनीहरूलाई भैरहवा ल्याए । उनीहरू अहिले दाङको बेलझुन्डीस्थित कोरोना अस्पतालमा छन् । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मुन्सीप्रसाद माझीले जिल्ला स्वास्थ्य कार्यालयले सबैको रिपोर्ट नेगेटिभ आयो भनेकाले घर पठाएको बताए । क्वारेन्टाइनबाट बेवास्ता गरेर घर पठाउँदा परिवारमा संक्रमण सरे/नसरेको परीक्षण भइरहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. राजेन्द्र गिरीले बताए । यी केही उदाहरण हुन् । यहाँका क्वारेन्टाइनमा भीड भएकाले स्थानीय घरबाटै खाना पुर्‍याउँछन् । खाना खाएपछि भाँडा घर ल्याएर आउँछन् । बाँकेको नरैनापुरमा स्थानीय क्वारेन्टाइनबाट घर आउजाउ गरिरहेको सार्वजनिक भएको थियो । जसले गर्दा क्वारेन्टाइनबाट संक्रमण समुदायमा फैलिने खतरा बढेको छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकरप्रसाद चौधरीले क्वारेन्टाइन बसाइ सुरक्षित नहुँदा एक व्यक्तिबाट अरूमा संक्रमण भएको हुन सक्ने बताए । ‘क्वारेन्टाइनमा आएपछि समाजबाट त अलग भए । कतिपयमा त्यहाँ बसेकै बीच सामाजिक दूरी कायम भएन,’ उनले भने, ‘यही कारण एक संक्रमित व्यक्तिबाट धेरैमा सरेको हुन सक्छ ।’ एउटै क्वारेन्टाइनमा धेरै व्यक्ति राख्दा संक्रमण सरेको हुन सक्ने उनले बताए । नियमत: क्वारेन्टाइन व्यवस्थापनको जिम्मा स्थानीय तहलाई छ । स्थानीय तहका स्वास्थ्य शाखा संयोजकको संयोजनमा क्वारेन्टाइनस्थल तयार गरिएका हुन् । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र खनाल क्वारेन्टाइनमा सुरक्षित बसाइ नभएकाले संक्रमण फैलिएका ‘केस’ बढेको बताए । ‘यहाँ आउने बिरामीमा संक्रमण नसर्न र आशंकाका व्यक्तिबाट बच्न अपनाउनुपर्ने सामान्य कुरा पनि पालना नगरेको बताउँछन्,’ उनले भने, ‘व्यक्ति स्वयंमा चेतना अभाव, क्वारेन्टाइन व्यवस्थापन, स्वास्थ्यकर्मीको काउन्सिलिङ पक्ष कमजोर भएजस्तो लाग्छ ।’

अधिकांश ‘आयातित’

प्रदेशका ९ जिल्लामा शनिबार अपराह्नसम्म ५ सय ४७ संक्रमित पुगेका छन् । तीमध्ये कपिलवस्तुमा २ सय ६५, बाँकेमा १ सय ८१, रूपन्देहीमा ४५, दाङमा २८, बर्दियामा १०, पश्चिम नवलपरासी ५, गुल्मी ४, अर्घाखाँची ३ र रुकुम पूर्वमा ३ जना छन् । शनिबारसम्म ४८ जना निको भएर घर फर्किएका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयका तथ्यांक अधिकृत मनबहादुर वलीका अनुसार संक्रमितमध्ये ४ सय ९८ जना भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरू हुन् । विभिन्न जिल्लामा गरेर स्थानीय रूपमा संक्रमित ४९ जना छन् । बाँकेको नेपालगन्ज–८ मा समुदायमा संक्रमण फैलिएपछि २४ जनामा कोरोना पुष्टि भएको थियो । उनीहरूमा भारतबाट आएका नेपालगन्ज–७ का ६० वर्षीय पुरुषबाट संक्रमण सरेको थियो । त्यसबाहेक बाँकेको खजुरामा दुई, नरैनापुरमा एक प्रहरी र राप्ती सोनारीका एक वडाध्यक्ष स्थानीय रूपमा संक्रमित भएका हुन् ।

गुल्मीका तीन जना स्थानीय संक्रमित हुन् भने एक जना भारतबाट फर्किएका हुन् । कपिलवस्तुमा २ सय ६५ जनामध्ये कर्मचारी, वडाध्यक्ष, सुरक्षाकर्मी, सञ्चारकर्मी र दुई बालिका गरी १३ जना यहीँ संक्रमित भएका हुन् । बाँकी भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरू हुन् । भारतबाट आउनेको सीमामा स्वास्थ्य परीक्षण गरिएको थिएन । उनीहरूलाई ल्याएर विद्यालयमा बनाइएका क्वारेन्टाइनमा राखिएको थियो । अधिकांशले क्वारेन्टाइन अवधि पूरा गरे पनि स्वाब परीक्षण नहुँदा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । जिल्लाका क्वारेन्टाइन संक्रमणको स्रोत बनेका छन् ।

रूपन्देहीका ४४ संक्रमित सीमावर्ती स्थानीय तहका छन् भने एक जना सैनामैना नगरपालिकाको क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् । उनीहरू सबै वैशाख अन्तिम र जेठमा भारतका विभिन्न सहरबाट आएर क्वारेन्टाइनमा बसिरहेकाहरू भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बर्दियाको गेरुवा गाउँपालिकाकी किशोरी र सदरमुकाम गुलरियाका एक मासु व्यापारीबाहेक आठ जना संक्रमित भारतबाट आएका हुन् । दाङका २८ संक्रमितमध्ये दुई जना काठमाडौंमा छन् । एक जना गुल्मीमा छन् । बाँकी २५ जना विभिन्न समयमा भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेकाहरू हुन् । अर्घाखाँची र रुकुम पूर्वका संक्रमित भारतबाट फर्किएका हुन् । सीमामा अलपत्रलाई एक सातायता स्थानीय तहले नाका रहेको जिल्ला प्रशासनसित समन्वय गरेर आफैं उद्धार गरेर लगिरहेका छन् । प्रदेशका सीमावर्ती ६ जिल्लाबाहेक पहाडी जिल्लाका क्वारेन्टाइनसमेत भरिन थालेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका १२ जिल्लाका १ हजार २ सय ३९ क्वारेन्टाइनमा शुक्रबारसम्म ३३ हजार ४ सय ५१ जना छन् । अहिलेसम्म बाँकेको नरैनापुरका एक, गुल्मीका एक र अर्घाखाँचीका एक व्यक्तिको संक्रमणबाट मृत्यु भएको छ । बाँकेका युवाको क्वारेन्टाइनस्थलमै मृत्यु भएको थियो । गुल्मीका संक्रमित शिक्षकको रूपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अर्घाखाँचीका व्यक्तिको गत शनिबार भारतको गुजरातबाट घर फर्किरहेका बेला लखनउ नजिक मृत्यु भएको थियो ।

व्यवस्थित नहुँदा संक्रमण

बाँकेका स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टाइनहरूले पनि कमजोर व्यवस्थापनका कारण जोखिम बढाएका छन् । एउटै कोठामा धेरैलाई खाँदेर राखिएकाले संक्रमण सर्ने गरेको छ । शौचालयका लागि लाइन बस्नुपर्छ । ५० जनाभन्दा बढीले एउटै शौचालय प्रयोग गरिरहेका छन् । अधिकांश क्वारेन्टाइन सामुदायिक विद्यालयमा छन् । यहाँ अवधि पूरा गरिसकेकालाई परीक्षण गरेर घर पठाउन ढिलाइ भएको छ । भारतबाट फर्किने रोकिएका छैनन् । नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका १ सय १४ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यहाँ एउटै संरचनामा ५६ जनाभन्दा बढी बसेका छन् । ‘क्वारेन्टाइन व्यवस्थित नहुँदा संक्रमण फैलिरहेको छ । क्वारेन्टाइनमा सामाजिक दूरी कायम गर्नै पर्छ,’ भेरी अस्पतालका मेडिकल विभाग प्रमुख डा. राजन पाण्डेले भने, ‘क्वारेन्टाइन व्यवस्थापन गर्ने जनप्रतिनिधि, सुरक्षाकर्मीलेहरूले पनि दूरी कायम गरेर काम गर्नुपर्छ । मास्क अनिवार्य लगाउनै पर्छ ।’ क्वारेन्टाइनमा बस्नेले साबुन पानीले हात धुने, मास्क लगाउने र दूरी कायम गर्न सके संक्रमण रोकिने उनले बताए ।

‘बाँकेका क्वारेन्टाइनको अवस्था कमजोर छ । राप्तीपारिका अधिकांश व्यक्ति क्वारेन्टाइनबाट संक्रमित हुन्,’ जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले भने, ‘व्यवस्थित क्वारेन्टाइन भएको भए यति धेरै जनामा संक्रमण हुन्थेन ।’ सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बाँकेका ८७ स्थानमा क्वारेन्टाइन रहेको बताए । उनका अनुसार भारतबाट फर्किएका करिब २ हजार ६ सय जना क्वारेन्टाइनमा छन् । कपिलवस्तुमा संक्रमितमध्ये ९० प्रतिशत भारतबाट फर्किएकाहरू छन् । मुम्बई, दिल्लीलगायत ठाउँबाट आउँदा जिल्लाका १० वटै स्थानीय तहमा संक्रमित छन् । स्वास्थ्यकर्मीका अनुसार कतिपय उतैबाट संक्रमित भएर आएका छन् । धेरै जनामा संक्रमितसित क्वारेन्टाइनमा हेलमेल भएपछि संक्रमण फैलिएको पाइएको छ । ‘को कहाँ संक्रमित भए भनेर तत्काल भन्न सकिन्न,’ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख योगेन्द्र भगतले भने, ‘हामी अध्ययन गरिरहेका छौं ।’ कतै यात्रा नगरेका वाणगंगाका ६ र आठ वर्षीया बालिकामा पनि संक्रमण पाइएको छ ।

स्वाब थुप्रिँदै

क्वारेन्टाइनमा चापसँगै विभिन्न प्रयोगशालामा पनि यहाँ संकलन गरिएको थ्रोट स्वाबका नमुना थुप्रिन थालेको छ । शुक्रबारसम्म प्रदेश ५ मा २ हजार ७ सय ३८ स्वाब नमुना परीक्षण हुन बाँकी छन् । काठमाडौंको राष्ट्रिय प्रयोगशालामा १ हजार १ सय ३८, रूपन्देहीको भैरहवामा ६ सय ३९, भेरी अस्पताल बाँकेमा ४ सय ३१, दाङको राप्ती विज्ञान प्रतिष्ठानमा २ सय ६५ स्वाबका नमुना छन् । प्रदेश र काठमाडौंले नधानेपछि पछिल्लो समय गण्डकी प्रदेशको पोखरामा समेत स्वाब परीक्षण गर्न पठाइएको छ । जसमा १ सय ६६ स्वाब परीक्षणको पर्खाइमा रहेको मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले बताए । प्रदेशमा संक्रमण ह्वात्तै बढेपछि परीक्षण दर बढाउन सकिएको छैन । प्रदेशमा रहेका तीन प्रयोगशाला एक सिफ्ट मात्रै चल्छन् । जसमा दिनमा प्रतिएक सयका दरले तीन सयको मात्रै नतिजा निकाल्न सकिन्छ । यही अनुपातमा परीक्षण हुने हो भने कोरोना महामारीका रूपमा फैलिने जानकारहरू बताउँछन् । सामान्यतया भारतबाट आएका कोरोना आशंका गरिएका व्यक्तिलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेपछि र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्ने प्रदेश सरकारको नियम छ । अति आशंकाकालाई पीसीआर गरिन्छ । तर धेरैले १४ दिनमा पनि पालो पाएका छैनन् । यही निराशामा व्यक्तिहरू क्वारेन्टाइनबाट भाग्न थालेका छन् ।


अमृता अनमोल (रूपन्देही), मनोज पौडेल (कपिलवस्तु) र ठाकुरसिंह थारू (बाँके)

प्रकाशित : जेष्ठ १८, २०७७ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?