१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

लकडाउनमा आत्महत्या दर बढ्दै

कोभिड–१९ नियन्त्रण नहुँदै अन्य देशले मानसिक समस्या सामना गर्न गृहकार्य गर्दैछन् तर नेपालमा राज्यस्तरबाट प्रभावकारी कदम चालिएको छैन ।
लकडाउनपछि मनोरोगी र अपराध दुवै बढ्छ, बेलैमा सचेत होऔं : विज्ञ

काठमाडौँ — लकडाउन लम्बिँदै जाँदा आत्महत्याका घटना पनि उल्लेख्य बढ्दै गएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार लकडाउनको सुरुवाती १६ दिनमा आत्महत्या दर दैनिक १६ जना थियो भने त्यसपछिका ४५ दिनमा दैनिक औसत १७ जनाले आत्महत्या गरेका छन् ।

लकडाउनमा आत्महत्या दर बढ्दै

आर्थिक वर्ष २०७६/७७ को सुरुवाती आठ महिनामा औसत दिनमा १४ जनाले आत्महत्या गरेका थिए । अपराधको दर पनि पछिल्लो समयमा बढेको छ ।

प्रहरीको तथ्यांकमा लकडाउन सुरु भएको दिन चैत ११ देखि जेठ १० गतेसम्म ९ सय ६३ जनाले आत्महत्या गरेको देखिन्छ । वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्यायले पछिल्लो समय सबै खालका मानसिक तनाव बढेको बताए । ‘हामीकहाँ मात्र होइन, कोरोनाबाट पीडित सबै मुलुकमा अनेक किसिमका मानसिक रोग बढिरहेका छन्, आत्महत्याका कारण पनि यही हो,’ उनले भने, ‘भाइरससँगै अब जीवन कसरी चलाउने भन्ने डर छ । मान्छेले काम गर्न पाएका छैनन्, आर्थिक संकट विकराल बन्दै छ, कति योजना तुहिएका छन्, अरू रोग लाग्दा उपचार गर्न पाइएको छैन, आफन्त भेटघाट ठप्प छ ।’

डा. उपाध्यायका अनुसार मनोसामाजिक उल्झन तीव्र बन्दै गएपछि मानिसमा तनाव, चिन्तारोग, निद्रा नलाग्ने, डिप्रेसन हुनेजस्ता समस्या बढ्छन् । मद्यमान र धूमपान सेवन गर्ने बढ्छन् । घरझगडा धेरै हुन्छ । पहिलेदेखि मानसिक स्वास्थ्यको उपचार गराइरहेकालाई अझ गाह्रो हुने उनले बताए । ‘जब मानसिक छटपटी र चिन्तालाई समयै रोकिन्न, त्यसले आत्महत्या निम्त्याउँछ,’ उनले भने ।

हिँडडुलमा प्रतिबन्ध भएर हुन सक्छ, आत्महत्याको शैली लकडाउनमा बदलिएको छ । विष खाएर र हामफालेर गरिने आत्महत्याको संख्यामा कमी आएको छ तर झुन्डिएर आत्महत्या गर्नेहरूको संख्या बढेको देखिन्छ ।

प्रहरी प्रवक्ता डीआईजी नीरजबहादुर शाहीले सामान्य अवस्थामा व्यक्तिगत, आर्थिक र सामाजिक कारणले आत्महत्याका घटना हुने गरेको बताए । ‘लकडाउनमा भएको आत्महत्याको कारण के हो भन्नेमा यकिन भइसकेको छैन,’ उनले भने, ‘आर्थिक कारणले आत्महत्या गरेको हुन सक्छ तर विस्तृत अनुसन्धान नगरी यकिन भन्न सकिँदैन ।’

विभिन्न अध्ययनले सन् २०३० पछि संसारका तीनमध्ये एक जना मनोपीडित हुने दाबी गर्दै आएका थिए । तर कोरोना आतंकका कारण दशकअगावै अर्थात् सन् २०२० मै संसारले यो नियति झेल्नुपर्ने देखिएको छ । अमेरिकाको कोलम्बिया विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक युवल नेराईका अनुसार कोरोनाको प्रकोप मानसिक रूपमा कति दर्दनाक हुन्छ, अहिले भन्न गाह्रो छ । तर यसअघिका कुनै पनि महामारीभन्दा कोरोनाले दीर्घकालसम्म आघात पार्ने अनुमान उनको छ । यसबाट नेपालजस्तो अविकसित मुलुक नपिरोलिने कुरै भएन । ‘लकडाउन जति लम्बियो, मानसिक रोगको मात्रा त्यति बढ्दै जान्छ । कोरोनाको संकट सकिएपछि पनि समस्या रोकिन्न, त्यसैले अहिल्यैबाट तयारी गर्नुपर्छ,’ वरिष्ठ मनोचिकित्सक डा. उपाध्यायले भने । नेपालमा भूकम्पपछि मानसिक समस्या अकासिएको थियो । मनोविश्लेषक वासु आचार्य पनि बेलैमा सचेत नभए कोभिड–१९ ले निम्त्याउने मनोवैज्ञानिक असरले दीर्घकालसम्म सताउने चिन्ता व्यक्त गर्छन् ।

अमेरिकाको न्युयोर्कमा कोभिड–१९ नियन्त्रण नहुँदै मानसिक परामर्श थालनी भएको छ । त्यहाँका गभर्नर एन्ड्री क्युमोले ६ हजार कर्मचारी नियुक्ति गरेका छन् । उनीहरू मनोवैज्ञानिक उपचारका लागि चौबीसै घण्टा निःशुल्क खटिरहेका छन् । अन्य देशले पनि मानसिक समस्या सामना गर्न गृहकार्य गर्दैछन् तर नेपालमा राज्यस्तरबाट प्रभावकारी कदम चालिएको छैन । आर्थिक वर्ष २०७७/७८ को बजेटमा भने मनोवैज्ञानिक त्रास निराकरणका लागि खर्च विनियोजन गरिएको छ । अर्थमन्त्री युवराज खतिवडाले मानसिक स्वास्थ्य संवर्द्धन गर्न स्थानीय र सामुदायिक संघसंस्थाको सहभागितामा आरोग्य केन्द्र, व्यायामशाला र योग केन्द्र सञ्चालन गर्ने घोषणा गरेका छन् ।

अन्य अपराध पनि बढ्दै

जबर्जस्ती करणीका घटना सामान्य अवस्थामा दिनमा ६ वटा हुने गरे पनि लकडाउनको सुरुवाती दिनमा यसको संख्यामा उल्लेख्य कमी आएको थियो । त्यति बेला जबर्जस्ती करणीका घटना दिनमा दुईवटा भएका थिए । त्यसपछिका ४५ दिनमा भने औसतमा चारवटा घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार लकडाउन सुरु भएयता जेठ १० गतेसम्मको ६१ दिनमा मात्रै २ सय १४ वटा घटना प्रहरीमा दर्ता भएका छन् । प्रहरी स्रोतका अनुसार लकडाउनले प्रहरी कार्यालयसम्म नपुग्ने र घर वा समुदायभित्रै घटना लुकाउने सम्भावना बढी भएकाले यस्तो संख्या अझै उच्च हुन सक्छ ।

सामान्य दिनमा औसतमा दैनिक दुईवटा जबर्जस्ती करणी प्रयास हुन्थ्यो भने लकडाउनमा यस्तो घटना दिनमा एकभन्दा पनि कम भएको देखिन्छ । प्रहरीका अनुसार लकडाउनको ६१ दिनमा जबर्जस्ती करणी प्रयासका ५७ घटना भएका छन् । लकडाउनमा बालयौन दुराचारका घटनामा भने उल्लेख्य वृद्धि भएका छन् ।

सामान्य अवस्थामा मासिक १९ बालबालिका बालयौन दुराचारको सिकार हुन्थे । लकडाउनका दुई महिनामा भने महिनामा १६ जनाको दरले बालयौन दुराचारका घटना भएका छन् । परिवारका सबै सदस्य घरभित्रै रहने बेला र बाहिरका मानिससँग सम्पर्क कमजोर भएका बेला पनि यतिका धेरै बालबालिका यौन दुराचारमा पर्नुले भने परिवार र आफन्तबाटै बालबालिका दुराचारमा परिरहेका हुन सक्ने इंगित गर्छ । तर प्रवक्ता डीआईजी शाहीले बालबालिका र अभिभावकबीच कुराकानी पर्याप्त हुने भएकाले पनि दुराचारका घटनाबारे अभिभावकलाई बढी सूचना पाउने अवसर मिलेकाले लकडाउनमा यस्ता घटना उल्लेख्य दर्ता भएको हुन सक्ने बताए ।

भवितव्यमा र सवारी दुर्घटनामा परी ज्यान गुमाउनेहरूको संख्या भने लकडाउनकै कारण उल्लेख्य रूपमा कमी आएको छ । सामान्य अवस्थामा औसत दिनमा ११ जनाले भवितव्यमा परी ज्यान गुमाउँथे । लकडाउनमा दिनमा आठ जनाको मृत्यु भएको छ । प्रहरीको तथ्यांकअनुसार चैत ११ देखि जेठ १० गतेसम्म भवितव्यमा परी ४ सय ५८ जनाले अर्थात् दिनमा औसत २ जनाभन्दा कमले ज्यान गुमाएका छन् । सामान्य अवस्थामा सवारी दुर्घटनामा परी दिनमा ६ जनाले ज्यान गुमाउँथे ।

लकडाउनमा डकैती र चोरीका घटनामा वृद्धि हुँदै गएको देखिन्छ । सुरुवाती १६ दिनमा डकैतीका कुनै पनि घटना प्रहरीमा दर्ता भएको थिएन । पछिल्ला ४५ दिनमा भने २१ घटना दर्ता भएका छन् । यसले संकटको समय लम्बिँदै जाँदा र प्रहरी प्रशासनको ध्यान कोभिड–१९ नियन्त्रणमा केन्द्रित हुँदा डकैतीका घटना बढ्न सक्ने संकेत गर्छ । प्रहरी प्रवक्ता शाहीले भने प्रहरीको प्राथमिकता बदलिएकाले डकैतीका घटना बढेको नहुने तर्क गरे । उनले भने, ‘सभा समारोह, बजार व्यवस्थापन जस्ता कैयौं काममा प्रहरीको भूमिका अहिले छैन । बरु प्रहरीको सक्रियता देशैभरि बढेकाले र मानिस प्रहरीको सम्पर्कमा छिटो पुग्ने भएकाले रिपोर्ट बढेको हुन सक्छ ।’

संगठित अपराध र कर्तव्य ज्यानका घटनामा भने उल्लेख्य परिवर्तन देखिएको छैन । सुरुवाती १६ दिनमा कर्तव्य ज्यानका ११ घटना भएका थिए भने त्यसपछिका ४५ दिनमा ५७ घटना भएका छन् । यस्ता घटना सामान्य दिनमा औसत दुईवटा हुन्थे ।

आर्थिक वर्ष २०७६/७७ का आठ महिनामा लागूऔषध किनबेच र ओसारपसारका २ हजार ३ सय ५४ घटना भएका थिए । यस्ता घटना दिनमा औसत १० वटा हुने गरेकामा लकडाउनको दरमा उल्लेख्य कमी आएको देखिन्छ । लकडाउनको सुरुवाती १६ दिनमा लागूऔषध किनबेच र ओसारपसारका ३८ घटना भएका थिए भने त्यसपछिका ४५ दिनमा यस्ता घटना थप एक सय १३ घटना भएका छन् । लकडाउन लम्बिँदै जाँदा लागूऔषध किनबेच र ओसारपसारका घटनामा विस्तारै वृद्धि हुँदै गए पनि यो सामान्य अवस्थामा भन्दा निकै कम भएको देखिन्छ । तर विगतको अनुभवमा संकट र अभावको मात्रा सँगै अपराधको मात्रा बढ्ने देखिएकाले प्रहरी प्रशासन थप सतर्क हुनुपर्ने विज्ञहरूको सुझाव छ ।

प्रकाशित : जेष्ठ १८, २०७७ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?