कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘अब लकडाउन खकुलो पार्ने बेला भयो’

गोकर्ण गौतम

काठमाडौँ — कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ देखि गरेको लकडाउनको अवधि निरन्तर थप्दै लगेको छ । तर लकडाउन जति लम्बिँदै छ, संक्रमितको संख्या त्यति नै थपिएको छ । आमनागरिकमा कोरोनाको डर त छँदै छ, लकडाउन लम्बिँदै जाँदा सबै आर्थिक–सामाजिक गतिविधिमा परेको बाधाले चिन्ता बढाएको छ ।

‘अब लकडाउन खकुलो पार्ने बेला भयो’

जनता आजित र उकुसमुकुस भइसके पनि लकडाउनको विकल्प सरकारले पहिल्याउन सकेको छैन । त्यसैले जोखिमको क्षेत्रमा विशेष ध्यान दिएर सुरक्षित विधि अपनाउँदै लकडाउन खोल्नुपर्छ भन्ने आवाज घनीभूत हुँदै छ । विदेशमा पनि यस्तै अभ्यास गरिएको छ । यही सन्दर्भमा विभिन्न क्षेत्रका नागरिकसँग कान्तिपुरका गोकर्ण गौतमले गरेको कुराकानी यहाँ समेटिएको छ ।

‘लकडाउन निरन्तरता दिनु मूर्खता’

डा. समीरमणि दीक्षित, जनस्वास्थ्य वैज्ञानिक

अब लकडाउनले निरन्तरता पाउनु हुन्न, खुकुलो गर्नैपर्छ । नागरिकले धेरै दुःख पाइसके । अन्य सर्ने र नसर्ने रोगले हामीलाई ग्रसित बनाउन सक्छ । कोभिड–१९ का लागि सकेसम्म धेरै परीक्षण गर्नुपर्छ, संक्रमित कहाँ–कति छन्, पत्ता लागिहाल्छ । हामीले संक्रमण फैलन रोकिन्छ भन्ने मनसाय छोडिदिनुपर्छ, यो रोकिँदैन । आत्तिनु पनि पर्दैन । विश्‍वको तथ्यांक हेर्दा करिब २० प्रतिशतमा कडा संक्रमण देखिन्छ । नयाँ संक्रमित थपिने र सार्ने अब लगभग एक महिना रहन सक्छ । त्यसपछि संसारका अन्य देशमा जस्तै विस्तारै कम हुन थाल्छ ।

भारत, पाकिस्तान, श्रीलंकाले जस्तै लकडाउनको स्वरूप फेर्नुपर्छ । कलकारखाना, उद्योग खुलिहाल्नुपर्‍यो, खुद्रा व्यवसायीलाई चलाउन दिनुपर्‍यो । ठूला व्यापारीले खोल्न पाउने खुद्राले किन नपाउने ? मास्क र व्यक्तिगत दूरी अनिवार्य गर्नुपर्छ । सिनेमा हलजस्ता भीडभाड हुने ठाउँ तत्कालका लागि रोक्नुपर्छ ।

नागरिकले व्यक्तिगत स्वास्थ्य स्वस्थ बनाउन ध्यान दिनुपर्छ, भीडभाडमा जानु हुन्न, हात धुने र सेनिटाइजरको प्रयोग निरन्तर गर्नुपर्छ । ७० वर्ष कटेका र दीर्घरोग भएका जोखिम समूहलाई भने लकडाउन गरिदिनुपर्छ । सुरुवाती चरणमा नियन्त्रण गर्न लकडाउन आवश्यक थियो, नत्र योभन्दा धेरै हुन्थ्यो तर यो दीर्घकालीन निदान होइन । राज्य र जनमानसमा लकडाउनबाटै रोकिन्छ भन्ने सोच देखिन्छ, यस्तो हुँदै होइन । अब हामीले रुघाखोकीझैं कोरोनाबीचमै बाँच्न सिक्नुपर्छ । फेरि पनि भन्छु, अब लकडाउनलाई यही रूपमा लैजानु मुर्ख्याइँमात्र हो ।

‘कोरोनासँगै बाँच्न सिक्नुपर्छ’

उमेशलाल श्रेष्ठ, उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

अब पनि लकडाउन खोलेन भने साना तथा मझौला व्यापार त खत्तम हुन्छ । जहाँ जोखिम छैन, त्यहाँ खोल्नै पर्छ । लकडाउन गर्नैपर्छ भनेर जबर्जस्ती गर्‍यो भने नागरिकलाई अन्याय हुन्छ ।

सरकारले ४४ प्रकारका उद्योग खोलिदिने भनिदियो, अब तिनले उत्पादन गर्लान्, तर बजार ठप्प छ अनि कहाँ खपत हुन्छ ? उत्पादन गरेरमात्र त हुन्न । बेच्न ठाउँ त छैन । त्यसैले चहलपहल आवश्यक छ । नत्र हामीले मजदुरलाई तलब खुवाउन सक्दैन, भाडा तिर्न सक्दैनौं । हामीलाई टिक्नै मुस्किल हुन्छ, यसले अर्कै प्रकृतिको खतरा निम्त्याउँछ । सरकारले यसबारे सोच्न ढिला भइसक्यो । विज्ञले नै लकडाउनमात्र समाधानको अस्त्र होइन भन्दाभन्दै यही ढंगले अगाडि बढाउनु घातक हुन्छ ।

बरु संक्रमित धेरै भएका स्थानमा लकडाउनलाई निरन्तरता दिन सकिन्छ । यसमा मुख्य गरी भारतसँग सिमाना जोडिएका जिल्लाहरू पर्छन् । नाकाहरू सिल गर्नुपर्छ । मलाई लाग्छ, अहिलेको स्थितिमा काठमाडौं उपत्यकामा लकडाउन जरुरी छैन, ‘एक्टिभ केस’ कम छन्, हिमाली जिल्लाहरूमा त छँदै छैनन् भन्दा पनि हुन्छ ।

हामी व्यापारीले पनि सुरक्षाको विधि अपनाउनै पर्छ । भौतिक दूरी कायम गर्नुपर्छ, सेनिटाइजरको व्यवस्था गर्नुपर्छ । नागरिकले पनि बच्ने उपाय जानिसकेका छन् । मास्क सबैले लगाइहाल्छन्, भीडभाड गर्दैनन् । अब कोरोना लाग्दैमा मरिहालिन्छ भन्ने धारणा पनि राख्नुहुन्न । यो विश्वले कोरोनासँग बाँच्न सिक्नुपर्छ । बिफर हामीसँग दुई सय वर्ष बाँच्यो, ‘प्लेग’ पाँच सय वर्ष बाँच्यो, कोरोना पनि केही वर्ष बाँच्ला, भ्याक्सिन बन्नै एक–डेढ वर्ष लाग्छ भनिएको छ, त्यसैले त्यतिबेलासम्म कोरोनासँग बच्दै दैनिक जीवन सहज बनाउनतिर लाग्नुपर्छ ।

‘लकडाउनले खान लाउन नपाइएला भन्ने डर छ’

सरोज थापा, ट्याक्सी चालक

काठमाडौंमा ट्याक्सी चलाएर परिवारको गर्जो टारिरहेको थिएँ, कोरोना महामारीको हल्ला चल्न थालेपछि काठमाडौंमा बसिरहन डर लाग्यो । त्यसैले लकडाउन हुनुभन्दा दुई दिन पहिल्यै सिन्धुपाल्चोक जलगिरीमा रहेको घर आएँ । त्यतिबेला दुई–तीन हप्ता त होला जस्तो लागेको थियो, तर अब त अढाई महिना हुनै लाग्यो । संक्रमित पनि बढेको–बढ्यै छन् । तर यही तरिकाले लकडाउन कहिलेसम्म जाला भन्ने डरले खुब सताउन थालेको छ । अलिअलि जम्मा गरेको पैसा पनि सकिइहाल्यो, त्यसैले सरकारले लकडाउन खोलेर हामीलाई बाँच्ने स्थिति बनाउनुपर्छ ।

मेरो गाउँमा अरू ६–७ जना ट्याक्सी चालक छन्, अब ट्याक्सी चलाउन पाएनौं भने घर चलाउन सक्दैनौं । लकडाउन गरेरमात्र रोकिने होइन रहेछ, कोरोनाले हामीभन्दा धेरै समस्या पारेको देशहरूले पनि लकडाउन खोलेको समाचार सुन्छु, अब मान्छेहरू आफैं पनि सचेत छन्, त्यसैले २० गतेपछि लकडाउन लम्ब्याउनु हुन्न भन्ने लाग्छ । बरु धेरै रोगी भएको र रोगी देखिने डर भएको ठाउँमा लकडाउन गर्दा भइहाल्यो ।

किराना पसलहरू खुल्ने, भाटभटेनी खुल्ने तर त्यहाँभन्दा कम भीड हुने ट्याक्सीचाहिँ चल्न नपाउने । अचम्म लाग्छ, जबकि पसल वा अन्य सार्वजनिक यातायातभन्दा ट्याक्सी सुरक्षित हुन्छ । बढीमा तीन जना चढ्छन्, त्यही पनि आफन्त हुन्छन्, त्यसैले जोखिम कम हुन्छ । यात्रुले मास्क लगाइहाल्छन्, हामी ट्याक्सीभित्र सेनिटाइजर राखिहाल्छौं । नत्र यत्तिकै बन्द गरेको गर्‍यै गर्‍यो भने त कोरोनाले मरिएला/नमरिएला, खान–लाउन नपाएरचाहिँ मरिन्छ जस्तो लाग्छ । अब यस्तो बेला अरू आम्दानीको स्रोत पनि पाइन्न । राहत पनि हामीले पाउने होइन । त्यसैले सरकारले छिटोभन्दा छिटो लकडाउन खोलेर ट्याक्सी चलाउन पाउने वातावरण बनाइदिनुपर्छ ।

‘वैकल्पिक पेसा रोज्नुपर्छ’

सरु जोशी श्रेष्ठ, अधिकारकर्मी

कोरोनालाई हामीले ठप्प पार्न नसक्ने रहेछौं । विश्वका जुन मुलुकमा राम्रो गरेको छ, त्यसकै पछ्याउनुपर्छ । अस्ट्रेलियामा मान्छे कहाँ कम गर्ने, समूहमा कति हिँड्न दिने तोकिएको छ, जोखिमको क्षेत्र निर्धारण गरिएको छ । त्यहाँमात्र लकडाउन गरिएको छ । हाम्रो सन्दर्भमा तराई बेल्टमा विशेष ध्यान दिनुपर्छ । अन्य ठाउँमा अब लकडाउन खोल्नुपर्छ । भारत वा अन्य देशबाट आएका र अब आउनेहरूतिर सरकारले विशेष ध्यान दिनुपर्छ ।

विदेशबाट आउनेलाई यहाँ त्यतिकै बस्नेभन्दा केही न केही सीपमूलक कामको व्यवस्था गर्नुपर्छ । पहिले कृषिमा आएको अनुदान कार्यकर्ताले फाइदा उठाए कि आम नागरिकले भन्ने हामीलाई थाहा छैन । अब प्रभावकारी ढंगले अनुदान दिएर उत्पादनमुखी काममा प्रेरित गर्नुपर्छ । हामीले भर्खरै भारत, मलेसिया, खाडी मुलुकमा गएकाहरूको अवस्था कस्तो छ, उनीहरू के चाहन्छन्, उनीहरू सरकारले दिने अनुदार वा रोजगारीको अवसरबारे कतिको जानकार छन् भन्नेबारे अध्ययन गर्दै छौं । सुरुवाती नतिजामा झन्डै ७० प्रतिशतले प्रधानमन्त्री रोजगार कार्यक्रमबारे अनभिज्ञता प्रकट गरेका छन्, कृषि अनुदानबारे पनि जानकार छैनन् । त्यसैले अब विदेशबाट त्यो जनसंख्यालाई कसरी उत्पादनमुखी काममा लगाउनेबारे सोच्नुपर्छ । पुरानो नीतिले काम गर्दैन ।

आमनागरिकको पनि दायित्व हुन्छ । अनुत्पादक क्षेत्रमा फिटिक्कै खर्च गर्नु हुन्न । वैकल्पिक पेसा अपनाउनुपर्छ । हामीकहाँ श्रमको सम्मान नगर्ने प्रवृत्ति छ । खेती गर्न, तरकारी बेच्न, साना पसल राख्न हिचकिचाइन्छ तर अब त्यस्तो गरेर हुन्न । परिस्थितिअनुसार हरेक काम गर्न तयार हुनुपर्छ । सकेसम्म व्यक्तिगत र पारिवारिक खर्च कटौती गर्नुपर्छ । राज्यले लकडाउन खोलेर नागरिकलाई यस्तो कामहरूमा प्रोत्साहित गर्नुपर्छ ।

‘कोरोनाबाट बच्न नागरिक पनि सचेत भइसके’

शिवा घिमिरे, गृहिणी

लकडाउन सुरु हुने बेला कोरोना भाइरसबारे धेरै जानकारी थिएन, लाग्नासाथ मरिहालिन्छ जस्तो लाग्थ्यो तर त्यस्तो होइन रहेछ । हामीले सतर्कता अपनायौं भने लाग्ने सम्भावना पनि कम हुँदोरहेछ, लागिहाले पनि बाँच्न सकिँदोरहेछ । नेपालमै धेरै जना भाइरसमुक्त भएर घर फर्कनुभएको छ । यो खुसीको कुरा हो । मान्छेहरू धेरै सचेत भइसके, त्यसैले अब लकडाउन लम्ब्याइरहनुपर्छ जस्तो लाग्दैन । मान्छेहरूले कोरोनाबाट बच्दै काम गर्न सक्छन् ।

लकडाउनले सबैको काम खोसिएको छ, दिनभर पसिना बगाएर साँझ–बिहान छाक टार्नेलाई धेरै समस्या छ, बच्चाहरू स्कुल जान पाएका छैनन् । घरभित्र उकुसमुकुस बढ्दो छ । कति त बिरामी हुँदा अस्पताल जानसमेत पाउँदैनन्, कोही डराएर जाँदैनन् । त्यसैले अब सरकारले कोरोनामात्र होइन, अरू समस्याहरूतिर ध्यान दिनुपर्छ ।

समाचारहरू हेर्दा हाम्रो तराई क्षेत्रमा धेरै संक्रमण देखिएको छ । पहाडी भेगमा कम छ । हिमाली भेगमा अझ थोरै छ । त्यसैले जहाँ संक्रमित धेरै छन्, त्यहाँ लकडाउन गर्नु राम्रो होला । अब पनि सबैतिर गर्नु भनेको झन् अप्ठ्यारो स्थिति निम्त्याउनु हो । सरकारले भाषणमा खान नपाएर कोही मर्दैन भन्ने गर्छ, काठमाडौंमै खान नपाएर सडकमा भरिया मर्नुपर्‍यो, बाहिरी जिल्लाबाट पनि यस्तै दुःखद खबर आइरहेका छन्, लकडाउन नहुँदो हो त ज्यान गुमाउनु पर्थेन । राहत पनि नदिने, काम पनि गर्न नदिने, घरभित्रै थुनिराख्ने गर्नु भएन । लकडाउन हटाउनुपर्‍यो ।

प्रकाशित : जेष्ठ १८, २०७७ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?