प्रतिनिधिसभाको आइतबारको सम्भावित कार्यसूचीमा संविधान संशोधन विधेयक

काठमाडौँ — सरकारले निसान छापलाई अध्यावधिक गरिएको नक्साअनुसार परिमार्जन गर्न दर्ता गरेको संविधान संशोधन विधेयक आइतबारको प्रतिनिधिसभा बैठकमा पेस हुने भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकका लागि तयार पारिएको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पेस गर्ने राखिएको छ ।

प्रतिनिधिसभाको आइतबारको सम्भावित कार्यसूचीमा संविधान संशोधन विधेयक

यसअघि बुधबारको प्रतिनिधिसभाका लागि सम्भावित कार्यसूचीमा परेको संविधान संशोधन विधेयक पेस गर्ने कार्यक्रम सरकारले पछि हटाएको थियो । प्रतिपक्षी कांग्रेसको शनिबारको बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने सबैजसो केन्द्रीय सदस्यले यसको समर्थन गरेका छन् ।

आइतबार ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नेछिन् । सदनले अनुमति दिएपछि उनले 'नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७' पेस गर्ने सम्भावित कार्यसूचीमा लेखिएको छ ।

मन्त्री तुम्बाहाङ्फेले मन्त्रिपरिषद्को निर्णयअनुसार जेठ ९ गते शुक्रबार संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेकी थिइन् । उक्त विधेयकमा नेपालको नक्सा अद्यावधिक गरिएकाले नेपालको निसान छापमा उक्त नक्सा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्नुपर्ने व्यहोरा उल्लेख गरिएको छ ।

संविधान संशोधन विधेयकबारे सबै दलबीच सहमति जुटाउनका लागि संसदको कार्यव्यवस्था परामर्श समितिले सरकारसँग आग्रह गरेको थियो । जेठ ११ गते आइतबारको कार्यव्यवस्था परामर्श समितिमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयक संसदबाट सर्वसम्मत पास गराउनका लागि आफूले पनि भूमिका खेल्ने बताएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमा सहमति जुटाउनका लागि सर्वदलीय बैठक आह्वान गरेका थिए । उक्त बैठकमा कांग्रेसले संविधान संशोधनबारे केन्द्रीय कार्यसमितिबाट निर्णय गराउनका लागि समय माग गरेको थियो भने राजपा र समाजवादीले आफूहरूले उठाउँदै आएका मागलाई लिएर संविधान संशोधन गर्नुपर्ने अडान राखेका थिए ।

आइतबार संविधान संशोधन विधेयक संसदमा पेस भएसँगै छोटो विधिबाट पास गराउन सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसका नेताहरू सहमत भएका छन् । संविधान संशोधनको लामो विधि हुने भएकाले नियम निलम्बनका साथै अन्य प्रक्रिया छोट्याएर संविधान संशोधन गर्नेमा मुख्य दुई दलको एकमत छ ।

राजपाले पनि संविधान संशोधन विधेयक दर्ता गराउने प्रक्रिया थालेको छ । राजपाका नेताहरूले शुक्रबार संसद सचिवालयमा गएर संविधान संशोधन विधेयक बुझाएका छन् । उक्त विधेयकबारे संघीय संसदका महासचिव भरतराज गौतमले आइतबार नै निर्णय लिने भएका छन् । राजपाको संविधान संशोधन विधेयकमा समाजवादी पार्टीको भने सहमति छैन ।

संविधान संशोधन भएसँगै भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्र समेटिएको नेपालको नक्सा निसान छापमा राखिनेछ ।

भारतले लिपुलेकमा सडक निर्माण गरेपछि सरकारले तीनवटै क्षेत्र समेटेर नक्सा जारी गरेको थियो । ती क्षेत्र फिर्ता गर्नेबारे सरकारले कूटनीतिक पहल गर्ने बताउँदै आएको छ ।

सम्बन्धित समाचारः

प्रकाशित : जेष्ठ १७, २०७७ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?