१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

दर्ता भएन राजपाको संविधान संशोधन विधेयक

समाजवादी छैन सहभागि
जयसिंह महरा

काठमाडौँ — संविधान संशोधन प्रस्ताव लिएर संसद सचिवालय पुगेका राष्ट्रिय जनता पार्टीका नेताहरु विधेयक दर्ता नगराइ फर्किएका छन् । संघीय संसदका महासचिव भरतराज गौतमले अध्ययन र परामर्शपछि मात्रै दर्ता गर्ने जवाफ दिएर राजपाका नेताहरूलाई फर्काएका हुन् । 

दर्ता भएन राजपाको संविधान संशोधन विधेयक

राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्रराय यादव, अनिल झालगायतका नेताहरू संविधान संशोधन प्रस्ताव लिएर संसद सचिवालय सिंहदरबार पुगेका थिए । लक्ष्मणलाल कर्ण प्रस्तावक रहेको यो गैरसरकारी विधेयकमा राजपाकै अन्य सांसद समर्थक रहेका छन् ।

विधेयकका प्रस्तावक लक्ष्मणलाल कर्णले भने, 'महासचिवले सभामुखसँग सल्लाह गरेर आइतबार निर्णय गर्छु भन्नुभएको छ ।'

राजपाको तर्फबाट दर्ता गराउन लागेको संविधान संशोधन विधेयकको विषयबारे कर्णले भने, 'भाषा, नागरिकता, प्रदेशको सिमांकन परिवर्तन सम्बन्धमा जुन जुन प्रदेशको सीमासँग सम्बन्धित हो त्यसको मात्रै सल्लाह लिनुपर्ने भन्‍ने प्रस्ताव गरिएको छ । त्यस्तै, राज्य पुनर्संरचनाका लागि संयन्त्र बनाउनुपर्ने माग राखेका छौं । हाम्रा विगतका माग नै यथावत रूपमा विधेयकमा राखेका छौं ।'

उनले सरकारले प्रस्तुत गरेको विधेयकबारे राजपाको विधेयक कसरी अगाडि बढ्छ त्यस आधारमा निर्णय लिने बताए । 'हाम्रो विधेयक पनि साथमा राखेर अगाडि बढाउन भन्छौं सरकारलाई । सरकारले के गर्छ त्यसपछि उहाँहरूको विधेयकमा के गर्ने भन्ने निर्णय हुन्छ,' कर्णले भने ।

संविधान संशोधन प्रस्ताव लिएर सिंहदरबार पुगेका राजपा नेता केशव झाले महासचिव गौतमले आफ्नो अधिकार प्रयोग नगरी फर्काएको बताए । उनले भने, 'महासचिव गौतमले दर्ता गरिदिनुभएन । पर्सि आइतबार आउनुस् भनेर फर्काउनुभयो । उहाँले सभामुखसँग सल्लाह गरेर दर्ता गर्ने जवाफ दिनुयभो ।'

संविधान संशोधन विधेयक दर्ता गर्ने अधिकार महाचसिवसँग हुन्छ । त्यसका लागि सभामुखसँग सल्लाह गर्न आवश्यक नभए पनि महासचिवले आलटाल गरेको राजपा नेताहरूको आरोप छ ।

राजपाको संविधान संशोधन विधेयकमा समाजवादी पार्टी भने सहभागि छैन । त्यस्तै राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले पनि उक्त विधेयकबारे आफूलाई जानकारी नभएको बताए । उनले भने, 'म घरमै छु । विधेयक तयार भएको भन्ने सुनेको छु । उहाँहरू संसदीय दलको कार्यालयमा हुनुहुन्छ भन्ने सुनेको छु । उहाँहरूलाई नै सोध्नुहोला ।'

समाजवादी र राजपाबीच पार्टी एकता गर्ने निर्णय बैशाख ११ गते भएको थियो । संविधान संशोधनलाई लिएर यी दुई दलका समान धारणा भए पनि राजपाले एकलौटी रूपमा दर्ता गराउन खोजेको समाजवादीका नेताहरूले बताएका छन् ।

समाजवादीका सांसद रामसहायप्रसाद यादवले राजपाका नेताहरूले दर्ता गराउन लागेको विधेयकबारे आफूलाई जानकारी नभएको र सरकारले दर्ता गरेको विधेयकमा पार्टीको समर्थन रहेको बताए ।

यता राजपाका नेताहरूले भने आफूहरूले दर्ता गरेको विधेयकबारे सरकारले सम्बोधन नगरेमा सरकारी विधेयकविरुद्ध जाने बताएका छन् । सरकारले गत शुक्रबार नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्नका लागि संविधान संशोधन विधेयक संसदमा दर्ता गरेको छ ।

उक्त विधेयकमा सर्वसहमति जुटाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका थिए । सर्वदलीय बैठकमा राजपा र समाजवादीका नेताहरूले आफूहरूले विगतदेखि नै उठाउँदै आएका माग सम्बोधन गर्नुपर्ने माग राखेका थिए । सरकारको विधेयक राष्ट्रियतासँग जोडिएको हुनाले सबै एकठाउँमा उभिनुपर्ने आग्रह गरेको छ ।

प्रकाशित : जेष्ठ १६, २०७७ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?