३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

राजपाले संविधान संशोधन प्रस्ताव दर्ता गर्दै

जयसिंह महरा

काठमाडौँ — राष्ट्रिय जनता पार्टीले संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । उसले शुक्रबार साँझ संघीय संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गर्न लागेको हो । 

राजपाले संविधान संशोधन प्रस्ताव दर्ता गर्दै

संविधान संशोधन प्रस्ताव दर्ता गर्नका लागि राजपाका नेताहरू महन्थ ठाकुर, महिन्द्रराय यादव, लक्ष्मणलाल कर्ण लगायत संसद सचिवालय पुगेका छन् । राजपाका नेता केशव झाका अनुसार अहिले संविधान संशोधन प्रस्ताव दर्ता गर्ने क्रममा रहेको छ ।

संविधान संशोधनको प्रस्तावक राजपा नेता लक्ष्मणलाल कर्ण रहेका छन् । समर्थक अन्य सांसदहरू रहेका छन् ।

आफूले दर्ता गरेको संविधान संशोधन प्रस्ताव र सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव सँगै पास गर्नुपर्ने राजपा नेताहरूले बताएका छन् । उनीहरूले आफूहरूका माग सम्बोधन नगरिए सरकारले ल्याएको संविधान संशोधन विधेयकमा सहमति हुन नसकिने बताएका छन् ।

संसद सचिवालयका एक कर्मचारीका अनुसार राजपाका नेताहरूले संविधान संशोधन प्रस्ताव दर्ता गराउनका लागि समय माग गरेको थियो । सरकारले नयाँ नक्साअनुसार नेपालको निशान छाप संशोधन गर्नका लागि संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ । त्यसमा राजपा र समाजवादीले आफ्ना माग पनि समाहित गर्नुपर्ने बताउँदै आएका छन् ।

राजपाले दर्ता गर्ने संविधान संशोधन प्रस्तावबारे समाजवादीसँग भने छलफल नभएको बताइएको छ । समाजवादीका सांसद रामसहायप्रसाद यादवले संविधान संशोधनबारे आफूहरूसँग छलफल नभएको बताए । उनले सरकारले दर्ता गरेको संविधान संशोधनमा आफ्नो दलको समर्थन रहेको बताए ।

प्रकाशित : जेष्ठ १६, २०७७ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?