भारतीय सञ्‍चारमाध्यममा प्रकाशित समाचार भ्रामक, काल्पनिक र निराधार : नेपाली सेना

जेष्ठ १६, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — केही भारतीय मिडियामा आएका समाचारलाई लिएर नेपाली सेनाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सैनिक मुख्यालयबाट बिहीबार राति जारी गरिएको विज्ञप्तिमा केही भारतीय सञ्चारमाध्यममा आएका समाचार दुई देशका सेनाबीच सम्बन्धमा खलल पुऱ्याउने खालका भएको बताइएको छ । 

‘उक्त भ्रामक समाचार दुई मित्र राष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पर्‍याउने उद्देश्यबाट प्रेरित देखिन्छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । केही भारतीय मिडियामा भारतका सेनाध्यक्ष एमएम नरवणेले केही समयअघि दिएको वक्तव्यलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई प्रतिक्रिया दिन भनेको तर प्रधानसेनापति थापाले ‘आफूले त्यस विषयमा नबोल्ने’ भनेको समाचार आएका थिए । 

‘राष्ट्रिय एकता थप मजबुत बनाउनुपर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले नेपाली सेनाप्रति लक्षित यस प्रकारको अफवाहहरुमा विश्वास नगर्न आमपाठक तथा स्वाभिमानी नेपाली नागरिकलाई हार्दिक अनुरोध गरिन्छ,’ विज्ञप्तिमार्फत सेनाले भनेको छ । 

यस्तै, सेनाले यस सम्बन्धमा उपप्रधान तथा रक्षामन्त्री (ईश्वर पोखरेल) बाट समेत धारणा सार्वजनिक भइसकेको जानकारी उल्लेख गर्दै नेपाली सेना नेपालको संविधानअनुरुप नेपाल सरकारबाट प्राप्त वैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिबद्ध रहेको पनि जानकारी विज्ञप्तिमार्फत दिएको छ ।

कान्तिपुर

Link copied successfully