कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय सञ्‍चारमाध्यममा प्रकाशित समाचार भ्रामक, काल्पनिक र निराधार : नेपाली सेना

काठमाडौँ — केही भारतीय मिडियामा आएका समाचारलाई लिएर नेपाली सेनाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सैनिक मुख्यालयबाट बिहीबार राति जारी गरिएको विज्ञप्तिमा केही भारतीय सञ्चारमाध्यममा आएका समाचार दुई देशका सेनाबीच सम्बन्धमा खलल पुऱ्याउने खालका भएको बताइएको छ । 

भारतीय सञ्‍चारमाध्यममा प्रकाशित समाचार भ्रामक, काल्पनिक र निराधार : नेपाली सेना

‘उक्त भ्रामक समाचार दुई मित्र राष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पर्‍याउने उद्देश्यबाट प्रेरित देखिन्छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । केही भारतीय मिडियामा भारतका सेनाध्यक्ष एमएम नरवणेले केही समयअघि दिएको वक्तव्यलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई प्रतिक्रिया दिन भनेको तर प्रधानसेनापति थापाले ‘आफूले त्यस विषयमा नबोल्ने’ भनेको समाचार आएका थिए ।

‘राष्ट्रिय एकता थप मजबुत बनाउनुपर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले नेपाली सेनाप्रति लक्षित यस प्रकारको अफवाहहरुमा विश्वास नगर्न आमपाठक तथा स्वाभिमानी नेपाली नागरिकलाई हार्दिक अनुरोध गरिन्छ,’ विज्ञप्तिमार्फत सेनाले भनेको छ ।

यस्तै, सेनाले यस सम्बन्धमा उपप्रधान तथा रक्षामन्त्री (ईश्वर पोखरेल) बाट समेत धारणा सार्वजनिक भइसकेको जानकारी उल्लेख गर्दै नेपाली सेना नेपालको संविधानअनुरुप नेपाल सरकारबाट प्राप्त वैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिबद्ध रहेको पनि जानकारी विज्ञप्तिमार्फत दिएको छ ।

प्रकाशित : जेष्ठ १६, २०७७ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?