कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हरेक साता दोब्बरले बढ्दै संक्रमित

प्रदेश २ र ५ मा मात्रै कुल संक्रमितको ७५ प्रतिशत
अतुल मिश्र

काठमाडौँ — मुलुकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या सातापिच्छे दोब्बरले बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबार एकैदिनमा कोरोनाका १ सय ५६ नयाँ संक्रमित थपिएपछि कुल संख्या १ हजार ४२ पुगेको छ ।

हरेक साता दोब्बरले बढ्दै संक्रमित

गत शुक्रबार ५ सय १६ जनामा संक्रमण पुष्टि भएकामा ठीक एक सातापछि बिहीबार यो संख्या दोब्बर बनेको हो । अघिल्लो साता २ सय ५८ जनामा संक्रमण पुष्टि भएको थियो ।

‘संक्रमितको संख्या दोब्बर हुन लाग्ने समय एक साता देखिएको छ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले भने ।

बुधबार राति ललितपुरमा ५६ वर्षीय एक कलेजोका दीर्घरोगीको मृत्यु भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । कोरोनाले हालसम्म सबैभन्दा बढी पुरुष ४ र महिला एक जनाको मृत्यु भएको छ । मृतक ५ मध्ये ३ जनामा निमोनिया देखिएकोसमेत डा. पाण्डेले बताए । अन्तर्राष्ट्रिय तथ्यांक र अध्ययनहरूले समेत कोरोनाले पुरुष बढी प्रभावित हुनुका साथै मृत्युसमेत बढी हुने देखिएको छ । कुल संक्रमितमध्ये ९० प्रतिशत अर्थात् ९ सय ४० जना पुरुष छन् भने १० प्रतिशत अर्थात् १ सय २ जना महिला छन् । हाल करिब दुई सय जना कोरोना संक्रमितमा एक जनाको मृत्यु भइरहेको छ । कोरोनाले हुने मृत्युदर ०.४८ प्रतिशत छ ।

प्रदेशहरूमा सबैभन्दा बढी संक्रमण प्रदेश २ र ५ मा देखिएको छ । जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीका अनुसार कुल संक्रमितको ४० प्रतिशत प्रदेश २ र ३५ प्रतिशत प्रदेश ५ का छन् । जसअनुसार प्रदेश २ मा ४ सय १५ र प्रदेश ५ मा ३ सय ६९ जना कोरोना संक्रमित छन् । यस्तै, १२ प्रतिशत हिस्सा प्रदेश १ को, ५ प्रतिशत कर्णालीको, ४ प्रतिशत वाग्मतीको, समान २/२ प्रतिशत गण्डकी र सुदूरपश्चिम प्रदेशको छ ।

हाल तराई मधेसमा कोरोनाको विस्तार बढी देखिए पनि यो संक्रमण बिस्तारै पहाड तथा हिमाल क्षेत्रसम्म समेत विस्तार हुन सक्ने इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी बताउँछन् । बुधबार मात्र सोलुखुम्बुमा १ जना संक्रमित भेटिएका छन् । हाल कोरोनाको संक्रमण ५१ जिल्लामा विस्तार भइसकेको छ ।

संक्रमितमध्ये १ सय ८७ जना निको भएर घर फर्किसकेका छन् । ‘कोरोना निको हुने दर अझै करिब १८ प्रतिशत मात्र छ,’ डा. बीसीले भने, ‘निको हुने दरलाई न्यूनतम ५० प्रतिशतसम्म पुर्‍याउँदा भविष्यमा यो रोगले हुन सक्ने सम्भावित मृत्युदर कम हुन्छ ।’ हाल कोरोना संक्रमणले न्यूनतम २ महिनादेखि अधिकतम ८१ वर्षसम्मका व्यक्तिलाई प्रभावित गरेको छ ।

फागुन मसान्तसम्म नेपालमा १ जना मात्र कोरोना संक्रमित थिए । यो संख्या बढ्दै चैत मसान्तसम्म १२, वैशाख मसान्तसम्ममा २ सय १९ हुँदै मध्यजेठमा हजार नाघिसकेको छ ।

घट्यो पीसीआर परीक्षण

१० दिनयता दिनहुँ सरदर ३ हजारका दरले नियमित रूपमा पीसीआर परीक्षण भइरहे पनि बिहीबार यसमा उल्लेख्य कमी देखिएको छ । यस दिन २ हजार ४ सय १९ नमुनाको मात्रै पीसीआर परीक्षण गरिएको छ । यो बुधबारको तुलनामा १ हजार १ सय ६१ ले कम हो । हालसम्म ६० हजार ६ सय ९६ नमुनाको पीसीआर परीक्षण भएको छ । यस्तै, बिहीबार १ हजार ७ सय ४७ नमुनाको द्रुत परीक्षण किट (आरडीटी) बाट परीक्षण गरिएको छ । हालसम्म यो संख्या १ लाख २ हजार ३४ छ ।

देशभर बिहीबार १ सय ५६ जना नयाँ संक्रमित थपिएर कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । एकैदिनमा यति धेरै व्यक्तिमा पहिलोपटक संक्रमण पुष्टि भएको हो । हालसम्म १ सय ८७ संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । मृत्यु हुनेको संख्या ५ पुगेको छ । थपिएका नयाँ संक्रमितहरू सप्तरी, झापा, पूर्वी नवलपरासी, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, सिरहा, दोलखा, सोलुखुम्बु, बझाङ, सुर्खेत, देलेख, स्याङ्जा, दार्चुला, कैलाली, मकवानपुर र बर्दियाका छन् ।

देशभर ८६ हजार ५७ जना क्वारेन्टाइनमा छन् । क्षेत्रगत रूपमा प्रदेश १ मा २ हजार ९१, प्रदेश २ मा १ हजार ४ सय १४, वाग्मतीमा १ हजार ६ सय ३१, गण्डकीमा २ हजार २ सय ४, प्रदेश ५ मा २९ हजार १ सय ५८, कर्णालीमा १४ हजार ८ सय ३४ र सुदूरपश्चिममा २२ हजार २ सय १५ जना क्वारेन्टाइनमा छन् ।

प्रकाशित : जेष्ठ १६, २०७७ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?