कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

थोरै परीक्षण : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भ्याउँदैन, अरुको क्षमता पुग्दैन

वीर अस्पतालमा दैनिक ३० देखि ७० वटासम्म, पाटनमा १५ र धुलिखेल अस्पतालमा ८० जनाको पीसीआर परीक्षण
फातिमा बानु

काठमाडौँ — सरकारले कोरोना भाइरसको परीक्षण दायरा बढाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाहेक अन्य अस्पताललाई जिम्मेवारी दिए पनि अपेक्षित रुपमा संख्या बढ्न सकेको छैन ।

थोरै परीक्षण : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भ्याउँदैन, अरुको क्षमता पुग्दैन

उपत्यकामा राष्ट्रिय प्रयोगशालाबाहेक वीर अस्पताल, पाटन र धुलिखेल अस्पतालले परीक्षण गर्ने जिम्मेवारी पाएका छन् । यी अस्पतालमा थोरैमात्रै परीक्षण हुँदा प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई यसको भार परिरहेको छ । 
स्वास्थ्य मन्त्रालयले यी अस्पतालमा दैनिक दुई सयवटासम्म परीक्षण गर्न निर्देशन दिएको थियो ।

पाटन अस्पतालमा दैनिक मुस्किलले १५ वटासम्म परीक्षण हुने निर्देशक डा. विष्णुप्रसाद शर्माले बताए । जनशक्ति र अनुभव कम भएकाले सरकारले भनेजति परीक्षण गर्न नसकिएको उनको भनाइ थियो ।

‘हामीले पहिलेदेखि गर्दै आएको काम भए पो द्रुत गतिमा परीक्षण गर्न सकिन्थ्यो,’ उनले भने, ‘सिक्दै गर्दैको समयमा छौं, अनुभव बढेपछि परीक्षणको संख्या पनि बढ्छ होला ।’ अस्पतालमा परीक्षणका लागि केमिकल रिएजेन्ट पनि निकै कम भएको उनले बताए । ‘एक त काममा हात बसेको छैन अर्को काम गर्नै चाहे पनि पर्याप्त स्वास्थ्य सामग्री हामीसँग छैन,’ उनले भने, ‘जिम्मेवारी दिँदैमा टेकुकै गतिमा यहाँबाट काम हुन सक्दैन ।’


पाटनमा अहिले कोरोना टेस्टका लागि ६ जनामात्रै प्रयोगशालाकर्मी छन् । सरकारले भनेजति परीक्षण गर्न यो निकै न्यून जनशक्ति भएको निर्देशक शर्माले बताए । पाटनमा अध्यापनलाई मात्रै जोड दिएका कारण परीक्षण प्रभावित भएको अस्पताल स्रोत बताउँछ ।

सरकारले परीक्षणको दायरा बढाउने भन्दै एक महिनाअघि देशभरका अस्पताललाई परीक्षण गर्ने अनुमति दिएको थियो । तर अपेक्षित संख्यामा परीक्षण नभएको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले बताए । ‘अस्पतालले कोरोना परीक्षणलाई कम प्राथमिकता दिएजस्तो देखियो,’ उनले भने, ‘अस्पतालले परीक्षणमा कम काम गर्दा टेकुलाई भार परिरहेको छ ।’


यस्तै शुक्रराज अस्पतालमा कोरोना परीक्षण गराउन र स्वाबको नमुना दिन दैनिक ७ सय जनासम्म आइरहेका छन् । परीक्षण गर्ने तथा स्वाब संकलन गर्ने स्थान बढाएर अस्पतालको भार कम गराउनुपर्ने निर्देशक डा. सागरकुमार राजभण्डारीले बताए । ‘हाम्रा स्वास्थ्यकर्मीले यति धेरै परीक्षण धान्नै नसक्ने स्थिति भइसक्यो,’ उनले भने, ‘अब हामी एक सयभन्दा बढी परीक्षण गर्नै सक्दैनौं । वीर र पाटनले समेत कतिपय परीक्षण गर्न यतै पठाइदिने गरेका छन् ।’ 


मन्त्रालयले भनेजस्तो दैनिक दुई सयवटा परीक्षण गर्न नसकिने वीर अस्पतालका निर्देशक डा. केदारप्रसाद सेञ्चुरीले बताए । पीसीआर परीक्षणका लागि जनशक्ति पनि कम भएकाले धेरै परीक्षण गर्न नभ्याइने उनको भनाइ छ । ‘जेनेटिक ल्याब पनि सानो छ, साँघुरो ठाउँमा एउटै प्रयोगशालाकर्मीलाई धेरैबेर राख्न पनि जोखिम छ,’ उनले भने, ‘६ जना प्रयोगशालाकर्मीले २४ घण्टा काम गर्दा पनि हामी सकिरहेका छैनौं ।’ वीरमा दैनिक ३० देखि ७० वटासम्म परीक्षण भइरहेको उनले बताए । 


धुलिखेल अस्पतालमा आइतबार र बुधबार स्वाब संकलन गरेर अन्य दिन परीक्षण गरिन्छ । अस्पतालले दैनिक सरदर ८० जनाको परीक्षण गर्ने गरेको अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारले बताए । ‘परीक्षण त धेरै गर्न सकिन्छ तर स्रोतसाधनको कमी छ,’ उनले भने ।

स्रोतसाधन अभावको बहानामा अस्पतालले परीक्षण प्रभावित पारिरहेको मन्त्रालयका विशेषज्ञ डा. पोखरेल बताउँछन् । ‘एकै पटक दिन नसके पनि सामानहरू ल्याउँदै दिँदै गरिएका छौं,’ उनले भने, ‘जनशक्ति अभाव हो भने मन्त्रालयमा आएर औपचारिक भन्नुपर्‍यो, हामी दिन तयार छौं ।’

सरकारले भनेजति परीक्षण गर्न नसके अस्पतालमा भएका जनशक्ति टेकुमा दिनुपर्ने उनले बताए । 
देशभर अहिले १८ ठाउँबाट कोरोना परीक्षण भइरहेको छ भने शिक्षण अस्पतालमा पनि छिट्टै सुरु हुन लागेको छ । तोकिएका निकायमा दैनिक पाँच हजार हुने परीक्षण तीन हजारको हाराहारीमा मात्रै भइरहेको डा. पोखरेलले बताए ।

प्रकाशित : जेष्ठ १४, २०७७ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?