एकै सातामा संक्रमित दोब्बर

कन्ट्याक्ट ट्रेसिङ नसकिएकाले संक्रमण अझै तीव्र गतिमा बढ्न सक्ने
‘संक्रमण दोब्बर हुने समय जति धेरै कम हुन्छ, रोग त्यति नै तीव्र गतिले फैलिरहेको बुझिन्छ’
अतुल मिश्र

काठमाडौँ — मुलुकमा कोरोना भाइरस रोगका संक्रमितको संख्या एक सातामा दोब्बर भएको छ । गत माघ ९ मा पहिलो कोरोना संक्रमित पहिचान भएको थियो । त्यसयता शुक्रबार संक्रमण ४० जिल्लामा विस्तार भएको खुलेको छ । मृत्यु भएका तीन जनासहित मुलुकमा संक्रमितको संख्या ५ सय १६ पुगेको छ । एक साताअघि अघिल्लो शुक्रबार २ सय ५८ संक्रमित पुष्टि भएका थिए ।

‘अहिले देशमा संक्रमण दोब्बर हुने समय सात दिन देखिएको छ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले भने, ‘संक्रमण दोब्बर हुने समय जति कम हुन्छ, रोग त्यति धेरै तीव्र गतिले फैलिरहेको बुझिन्छ ।’

हाल विश्वमा नेपालको हाराहारी मंगोलिया र हैटीमा ६ दिन संक्रमण दोब्बर भएको देखिएका छन् । विश्वमै सबैभन्दा छोटो समयमा संक्रमण दोब्बर भएको कोमोरसमा हो । त्यहाँ दुई दिनमै संक्रमितको संख्या दोब्बर भएको थियो ।

संक्रमण कम फैलिनु मुख्य रूपमा दुईवटा कारण रहेको महतो आंैल्याउँछन् । ‘केस रिपोर्टिङ (संक्रमणको पहिचान) प्रारम्भिक अवस्थामा रहे थोरै तथ्यांक भएकाले संक्रमण दोब्बर हुने समय कम देखिन सक्छ,’ उनी भन्छन्, ‘अर्को कुरा यदि साँच्चै संक्रमणको फैलावट छिटो भइरहेको छ भने पनि दोब्बर हुने समय कम देखाउँछ ।’

छिमेकी मुलुकहरूमा संक्रमण दोब्बर हुने समयले नेपालभन्दा ढिला देखिएका छन् । हाल पाकिस्तानमा १५ दिन, भारतमा १४ दिन, बंगलादेशमा १२ दिन र भुटानमा १० दिनमा संक्रमितको संख्या दोब्बर भएको छ । संक्रमण दोब्बर हुने समय बढी रहेका मुलुकमा संक्रमणको दर कम भइरहेको बुझिने महतो बताउँछन् । चीनमा निकै ढिला संक्रमण दोब्बर भएको थियो । त्यहाँ १ सय १ दिनमा कोरोनाको संक्रमण दोब्बर भएको थियो । यस्तै बेलायतमा ३१ दिन, फ्रान्समा ४५ दिन, जर्मनीमा ४७ दिन, इटली र स्पेनमा ४९ दिन संक्रमण दोब्बर भएको थियो ।

कोरोना संक्रमणका शंकास्पद व्यक्ति धेरै भए पनि तीव्र गतिले यो फैलिन्छ । ‘शंकास्पद जनसंख्या बढी भयो भने संक्रमण दोब्बर हुने समय कम हुन्छ । शंकास्पद जनसंख्या बढी भयो भने संक्रमण दोब्बर हुने समय बढी हुन्छ,’ महतोको भनाइ छ । संक्रमण कति छिटो फैलिने भन्ने कुरा रोकथाम नियन्त्रण कसरी भइरहेको कामले निर्धारण गर्छ ।

दुई महिना लकडाउन भए पनि मानिसहरूको सक्रियता, ओहोरदोहोर उल्लेख्य रूपमा नियन्त्रित नहुनु, गुणस्तरीय क्वारेन्टाइनको समुचित उपयोगसमेत नभएकाले संक्रमणको भित्रभित्रै विस्तार भइरहेको स्वास्थ्य मन्त्रालयका एक पदाधिकारी बताउँछन् । उनका अनुसार परीक्षणको दर बढ्दा संक्रमितहरू देखिन थालेपछि संक्रमण कुन हदसम्म फैलिन्छ भन्ने अनुमान गर्न गाह्रो छ ।

एक सातायता मुलुकमा पहिलेको दाँजोमा पीसीआर परीक्षणको दायरामा वृद्घि भएको छ । तीन दिनयता मुलुकमा १० हजार १ सय २० नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

‘जति मात्रामा जसरी पीसीआरलगायत परीक्षण हुनुपर्ने हो, त्यो अझै भएकै छैन,’ नारायणी अस्पतालका डा. निरज सिंह भन्छन्, ‘परीक्षणमा मुलुक सुहाउँदो विस्तार भए संक्रमितको संख्या झन् बढी हुन्छ । यसपछि वास्तविक संक्रमितको तथ्यांक अनुमान गर्न सकिन्छ । महामारीसम्बन्धी आकलन सही रूपमा गर्न सकिन्छ ।’

स्वास्थ्य मन्त्रालयका पदाधिकारी पीसीआर विधिबाट परीक्षणको दर अपेक्षित रूपमा बढ्न नसकेको स्वीकार गर्छन् । ‘तर दिनमा करिब ३ हजार पीसीआर परीक्षण हुनु राम्रो भए पनि हालको अवस्थामा दिनहुँ दर झन् बढी गर्नैपर्छ,’ उनले भने ।

अझै पनि संक्रमितहरूको पर्याप्त कन्ट्याक्ट ट्रेसिङ नभएको चिकित्सकहरूको भनाइ छ । डा. सिंह मुलुकको आवश्यकताअनुसार दिनहुँ उल्लेख्य संख्यामा परीक्षण हुनुपर्ने बताउँछन् ।

संक्रमित ५०० नाघे, ७० निको भए

मुलुकमा कोभिड–१९ संक्रमितको संख्या ५ सय १६ पुगेको छ । शुक्रबार ४० जिल्ला गरी थप ५९ जना नयाँ संक्रमित देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार हालसम्म संक्रमण पुष्टि भएकाहरूमा ४ सय ४० जना पुरुष र ७६ जना महिला छन् ।

शुक्रबार २१ जना डिस्चार्ज भएपछि हालसम्म अस्पतालबाट स्वस्थ भएर घर फर्किनेको संख्या ७० पुगेको छ । उनीहरू १७ देखि २० दिनमा अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

हालसम्म प्रदेश १ बाट २६, प्रदेश २ बाट ६, वाग्मतीबाट ९, गण्डकीबाट २, प्रदेश ५ बाट २२ र सुदूरपश्चिम प्रदेशबाट ५ जना डिस्चार्ज भएर घर फर्केका हुन् ।

मुलुकमा शुक्रबार पीसीआर विधिबाट ३ हजार ८ सय १९ शंकास्पद नमुनाको कोरोना परीक्षण गरिएको छ । हालसम्म ४२ हजार ४ सय ८८ नमुनाको पीसीआरबाट परीक्षण गरिएको हो । यस्तै द्रुत परीक्षण किट (आरडीटी) बाट शुक्रबार ३ हजार ४ सय २१ नमुनाको परीक्षण गरिएको छ । हालसम्म आरडीटीबाट मुलुकमा गरिएको नमुना परीक्षणको संख्या ८२ हजार १ सय १६ पुगेको छ ।

हाल मुलुकका विभिन्न क्वारेन्टाइनमा २७ हजार ८ सय २९ जना छन् । प्रदेश १ मा १ हजार ४ सय १४, प्रदेश २ मा ५ हजार ९ सय ६, वाग्मतीमा ४ सय ७८, गण्डकीमा ६ सय ७८, प्रदेश ५ मा १५ हजार ९ सय ९९, कर्णालीमा ७ सय ३५ र सुदूरपश्चिम प्रदेशमा २ हजार ६ सय २९ जना क्वारेन्टाइनमा छन् ।

यस्तै मुलुकका विभिन्न स्थानका उपचार केन्द्रको आइसोलेसनमा ४ सय ३३ जना छन् । प्रदेश १ मा ५८, प्रदेश २ मा १ सय ४५, वाग्मतीमा १८, गण्डकीमा ३, प्रदेश ५ मा २ सय ३, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना आइसोलेसनमा रहेका हुन् । प्रकाशित : जेष्ठ १०, २०७७ ०६:४१

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

जब अध्याँरोमा जून देखियो

संक्रमण देखिँदा कोरोना सर्ने डरले बोल्नसमेत डराएर घरभित्र लुकेका टोलवासीले २१ दिनपछि २१ जना निको भएर फर्कँदा ठूलो स्वागतद्वार बनाए । फूलमाला लगाइदिए । बाजाजागासहित टोलमा भित्र्याए ।
ठाकुरसिंह थारु, रुपा गहतराज

नेपालगन्ज — रमजानको अन्तिम शुक्रबार । इदको पूर्वसन्ध्यामा नमाज पढ्न उनी घरमै आइपुगे । नेपालगन्ज–८ का ३० वर्षीय उनले खजुरास्थित कोरोना अस्पतालको आइसोलेसन कक्षमा नमाज पढेनन् । रोजा पनि बसेनन् । नेपालगन्ज–७ का ६० वर्षीय व्यक्तिसँगै उनका भान्जा मदरसामा पढ्न जान्थे ।

नेपालगन्जमा पहिलोपटक ती वृद्धमा संक्रमण पुष्टि भएको थियो । वृद्धको सम्पर्क पहिल्याउँदै जाँदा उनीसमेत भान्जा, उनकी आमा र बहिनीमा संक्रमण देखियो । आइसोलेसन सेन्टरमा तीन साता सकसपूर्ण तरिकाले बिताए । शारीरिक रूपमा ठिकै भए पनि मानसिक रूपमा ‘गलेको’ उनले बताए । ‘मनमनै डर लागिरहेको थियो,’ उनले भने, ‘आफ्नो भन्दा परिवारको चिन्ता बढी थियो ।’ घरमा बहिनी एक्लै थिइन् ।

चिकित्सकले आएर बिहीबार राति ‘अब तपाईं घर फर्कंदै हुनहुुन्छ’ भनेपछि उनी रातभरि सुत्न सकेनन् । टोलमा फर्किएपछि स्थानीयको स्वागतले झन् उत्साहित तुल्यायो । ‘कुनै युद्ध जितेर आएजस्तो लाग्यो,’ उनले भने, ‘हुन त कोरोनालाई जितेर आएको हुँ ।’ दैनिक मजदुरी गरेर परिवारको गुजारा चलाइरहेका थिए । घर आएपछि परिवार कसरी चलाउने भन्ने चिन्ता लागेको छ । ‘काम गर्ने मान्छे कोठाभित्र थुनिएर बस्नु परेको थियो,’ उनले भने, ‘अहिले सबै जना निको भएर आयौं, खुसी लागेको छ ।’

बाँकेको खजुरास्थित अस्पतालबाट कोरोना जितेर घर फर्कि‌दै गरेका नेपालगन्ज–८ जोलहनपर्वाका संक्रमितहरु । तस्बिर : ठाकुरसिंह थारु । कान्तिपुर

चिकित्सकले दुई सातासम्म घरभित्रै बस्न सल्लाह दिएका छन् । घरमा के गर्ने ? के नगर्ने सम्पूर्ण कुरा सम्झाएर पठाएका छन् । ‘सामाजिक दूरीमा ध्यान दिन भन्नुभएको छ,’ उनले भने, ‘आफूलाई बचाउन आफैंले सावधानी अपनाउनुबाहेक विकल्प रहेनछ ।’

उनीहरू आउँदो आइतबार वा सोमबार इद मनाउँदै छन् । ‘सायद आइतबार नै इदको सम्भावना छ,’ हल्का मुस्कानमा उनले भने, ‘हामीले आजै चाँद देख्यौं ।’

नेपालगन्ज–८ का ५७ वर्षीय वृद्धले २० दिनसम्म घामको झुल्को देख्न पाएनन् । शुक्रबार कोरोना जितेर सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाहिर जेठको गर्मी पनि उनलाई न्यानो लाग्यो । ‘आज तो धुप भी अच्छा लगा,’ उनले भने, ‘जीवन मे नयाँ अनुभव हुवा ।’ संक्रमण पुष्टि भएपछि आत्तिएका थिए । अस्पतालमै थलिने चिन्तामा थिए । छोरी र पत्नीसहित कोरोना अस्पतालमा तीन साता बिताएका नेपालगन्ज–८ का ३७ वर्षीयले आइसोलेसनमा खान, बस्न र दिन बिताउन सहज वातावरण रहेको सुनाए । आफू सुरुमा निराश रहेको उनले बताए । ‘आइसोलेसनमा बस्नु भनेको आफू पनि सुरक्षित हुनु र अरूलाई पनि बचाउनु रहेछ,’ उनले भने, ‘आज निको भएर घर फर्किन पाउँदा ठूलो युद्ध जितेको महसुस भएको छु ।’

शुक्रबार अस्पताल परिसरमा सात वर्षीया बालिकाले पनि कोरोना भाइरसलाई पराजित गरेर घर फर्कंदै गर्दाको दृश्यले सबैलाई भावुक बनायो । उनको दायाँ हातमा चिकित्सकले दिएको फूल, बायाँ हातमा कोरोना जितेको स्वास्थ्य रिपोर्ट थियो । झोला भिरेकी थिइन् । चिकित्सक र नर्सले खादा लगाएर अस्पतालबाट बिदाइ गरेपछि खुसीको सीमा रहेन । ‘डाक्टरले रोग ठीक भइसकेको छ भन्नु भो । अब घर जान्छु । मम्मीलाई भेट्छु,’ उनले भनिन्, ‘धेरै दिन भो मम्मीलाई भेटेकी छैन ।’

बाँकेको खजुरास्थित आइसोलेसन अस्पतालबाट कोरोना जितेर घर फर्किंदै गरेकी एक वर्षीय छोरा बोकेकी महिला । तस्बिर : ठाकुरसिंह थारु । कान्तिपुर

एक वर्षीय छोरालाई आफूसँगै अस्पतालमा राखेर कोरोना पराजित गरेकी अर्की महिला अस्पतालबाट बाहिरिँदै गर्दा भावुक बनिन् । आमा संक्रमित भए पनि बालकमा संक्रमण थिएन । तर, आमाले बच्चालाई आफूसँगै राखिन् । परीक्षणमा बालकको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालबाट बाहिरिँदा उनले काखमा छोरा बोकेकी थिइन् । बालक मुस्काइरहेका थिए । बालक ‘खिलखिलाए’पछि अस्पतालको वातावरणमै खुसीयाली छायो । चिकित्सकहरूले कोरोना नेगेटिभ छोरालाई सँगै नराख्न सुझाएका थिए । आमाले दुधे बालक छोड्न नसक्ने अडान लिएपछि चिकित्सकको केही लागेन । ‘म पनि ठीक भइसकें, छोरा पनि ठीक छ,’ उनले भनिन् । शुक्रबार कोरोना जितेर घर फर्कनेमा एक जना गर्भवती पनि छन् ।

यहाँ नेपालगन्ज–७ का ६० वर्षीय पुरुषमा सुरुमा कोरोना पुष्टि भएको थियो । कन्ट्याक्ट ट्रेसिङ गरेपछि ती व्यक्ति आउजाउ गर्ने नेपालगन्ज–८ जोलहनपुर्वाका २४ जनामा संक्रमण पाइएको हो । यहाँ समुदायमा संक्रमण फैलिएपछि त्रासको वातावरण थियो । दुई वडाका गरेर २५ जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये २१ जना २१ दिनपछि कोरोना संक्रमणमुक्त भएर घर फर्किएका हुन् ।

६० वर्षीय पुरुषमा पहिलोपल्ट संक्रमण पुष्टि भएपछि नेपालगन्ज उपमहानगरमा खैलाबैला मच्चिएको थियो । संक्रमित व्यक्ति बस्ने वडा ७ र उनी दैनिक आउजाउ गर्ने वडा ८ जोलहनपुर्वामा ट्रेसिङ गर्दा सात वर्षीया बालिकासहित २५ जना संक्रमित पाइए । जोलहनपुर्वाका स्थानीय स्तब्ध भए । टोल सिल गरियो । आइसोलेसन वार्डमा राख्न खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल लैजाँदा संक्रमितहरू त्रस्त थिए ।

स्थानीय पनि संक्रमणको डरले घरभित्रै सीमित भए । संक्रमितसँग बोल्नसमेत डराएका थिए । तर, शुक्रबार त्यही टोलका २१ जना कोरोना जितेर घर फर्किने खबरले स्थानीयमा खुसीको सीमा रहेन । बिहानै स्थानीय स्वागतको तयारीमा जुटे । घर फर्कनेलाई फूलमाला लगाइदिए । ढोल, बाजा बजाएर भव्य स्वागत गरे । जोलहनपूर्वामा ठूलो स्वागतद्वार नै बनाइएको थियो ।

नेपालगन्ज–८ जोलहनपर्वाका डिस्चार्ज भएका संक्रमितको स्वागत गर्दै स्थानीय । तस्बिर : ठाकुरसिंह थारु । कान्तिपुर

कोरोना जितेर घर फर्किनेको खुसीको सीमा थिएन । त्यसअघि उपचारमा खटिएका चिकित्सक र स्वास्थ्कर्मीले पनि क्यान्सर अस्पतालबाट बिदाइ गर्दा खादा लगाइदिनुका साथै फूलका गुच्छा दिएका थिए । चिकित्सकको स्वागतले उनीहरूलाई भावुक बनायो । कोरोनासँगको युुद्धमा सफलता पाएका व्यक्तिलाई भेट्न आफन्त र परिवार पुगेका थिए । ‘अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीले निकै राम्रो व्यवहार गर्नु भो । खानपिन र बस्न निकै राम्रो छ । हामीलाई जोगाउने सबैलाई धेरैधेरै धन्यवाद छ,’ घर फर्किरहेका एक युवकले भने, ‘घर फर्किएपछि केही दिन आराम गर्छु । कोरोनाबारे जनचेतना फैलाउने काममा लाग्छु ।’

भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले उपचारपछि २१ जनालाई घर पठाउन पाएकामा निकै खुसी लागेको बताए । उपचारमा खटिएका स्वास्थ्यकर्मी र चिकित्सकलाई उनले धन्यवाद दिए । ‘कोरोनाको लडाइँमा सबै एकजुट हुन सके जित्न सकिन्छ,’ उनले भने । स्थानीय अगुवा शम्सुद्दिन सिद्दिकीले कोरोना पराजित गर्ने स्थानीयको भव्य स्वागत गरिएको बताए । ‘हामी टोलबासी निकै खुसी छौं,’ उनले भने ।

दोस्रोपटक पनि कोरोना जाँच गर्दा नेगेटिभ नतिजा आएपछि उनीहरूलाई शुक्रबार घर पठाइएको भेरी अस्पतालका मेडिकल विभाग प्रमुख डा. राजन पाण्डेले बताए । संक्रमितको उपचारमा अस्पताल प्रमुख थापा र पाण्डे खटिने गरेका छन् । घर फर्किनेमा नौ महिला र १२ पुरुष छन् । पहिलो संक्रमित ६० वर्षीय वृद्ध पनि निको भएर फर्किएका छन् ।

सम्बन्धित समाचार

७ वर्षीया संक्रमितका बाबु भन्छन्- 'छोरी रोइरहन्छे, म सुन्‍नै सक्दिनँ'

प्रकाशित : जेष्ठ १०, २०७७ ०६:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×