कान्टेलाई संक्रमणको डर
लन्डन — एन’गोलो कान्टेलाई चेल्सीले फेरि सुरु गरेको अभ्यासमा सहभागी नहुने गरेर घरमै रहने छुट दिइएको छ । उनलाई कोरोना भाइरस संक्रमणको चर्को डर रहेको छ ।
फ्रान्सेली विश्वकप विजेता टिमका सदस्य कान्टेले मंगलबार मात्र चेल्सीको अभ्यास सत्रमा भाग लिएका थिए । तर २९ वर्षीय कान्टे फेरि बुधबारको अभ्यासमा पुगेनन् ।
प्रशिक्षक फ्रायन्क लाम्पार्डले उनलाई घरमै रहने छुट दिएका छन् । कोरोना भाइरस परिक्षणबाट गुज्रिसकेका कान्टेलाई संक्रमण होला भन्ने डरले सताइरहेको छ । अश्वेत र जातीय अल्पसख्यकलाई संक्रमणको बढी सम्भावना रहेको बताइएको छ ।
दुई वर्ष अगाडि उनी चेल्सीका लागि अभ्यास गर्ने क्रममा बेहोस भएर ढलेका थिए । मुटु सम्बन्धी केही रोग नभए पनि उनले त्यसपछिका केही खेल गुमाएका थिए ।
कान्टेका दाजु निमहको सन् २०१८ को विश्वकप अगाडि ह्दयघातले मृत्यु भएको थियो ।
प्रकाशित : जेष्ठ १०, २०७७ ०६:२१