कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दिल्लीमा उपचार गराएर फर्केका थिए चितवनका संक्रमित

रमेशकुमार पौडेल

चितवन — शुक्रबार बिहान कोरोना भाइरसको संक्रमण पुष्टि भएकामध्ये चितवनका दुई जनामध्ये एक जना भारतको दिल्लीमा क्यान्सर रोगको उपचार गराएर फर्केका व्यक्ति भएको खुलेको छ ।

दिल्लीमा उपचार गराएर फर्केका थिए चितवनका संक्रमित

संक्रमण पुष्टि भएका भरतपुर महानगरपालिका–६ केशरबागका ७४ वर्षीय पुरुष राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार गराउन भारत गएका थिए । संक्रमित अर्की ७३ वर्षीया महिला उनैकी श्रीमती हुन् । उनी पनि श्रीमान्‌को उपचारका लागि सँगै दिल्ली गएकी थिइन् ।

संक्रमित दुवै जनालाई भरतपुरको कोरोना विशेष अस्थायी अस्पतालमा राखिएको छ । सो अस्पतालको समेत व्यवस्थापन सम्हालेको भरतपुरको सरकारी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा.श्रीराम तिवारीले संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । शुक्रबार नै कोरोना पुष्टि भएका नवलपुरका विनयी त्रिवेणी गाउँपालिका–६ का ४५ वर्षीय पुरुषलाई पनि सोही अस्पतालमा ल्याएर राखिएको छ ।

भरतपुरका संक्रमित व्यक्तिहरु दिल्लीबाट एम्बुलेन्समा जेठ ३ गते घर आएका थिए । ‘दिल्लीबाट कृष्णनगरसम्म भारतको एम्बुलेन्स र त्यहाँबाट नेपालको एम्बुलेन्समा आएको भन्ने बुझिएको छ । यहाँ आएपछि उहाँहरु पूर्ण सावधानीका साथ होम क्वारेन्टाइनमा हुनुहुन्थ्यो,’ भरतपुर महानगरपालिका–६ का वडाध्यक्ष हरिबिलास कोइरालाले भने । उनीहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुको सोधीखोजी सुरु भएको छ ।

‘भारतबाट फर्केपछि उहाँहरु घरमै सुरक्षित तरिकाले रहेको भन्ने छ । त्यही पनि हामी आजदेखि थप कुराहरु बुझ्ने प्रक्रियामा छौं । मिहीन तरिकाले नै कन्ट्याक्ट ट्रेसिङको काम हुने छ।’ भरतपुर महानगरपालिकाको जनस्वास्थ्य शाखाका प्रमुख दीपक सुवेदीले भने । अर्का संक्रमित नवलपुरका व्यक्ति जेठ १ गते भारतको गुजरातबाट घर आएको बुझिएको छ ।

चितवनमा अहिलेसम्म एक हजार २६३ जनाको स्वाब परीक्षण भएको छ । जसमध्ये ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये चितवनका दुईजना उपचारपछि निको भएर घर फर्केका छन् । उपचारमा रहेका चारजना मध्ये दुईजना चितवन र दुई जना नवलपरासी पूर्वका हुन् । चैत्र २३ पछि स्वाबको पीसीआर परीक्षण भरतपुरमै हुने गरेको छ ।

सम्बन्धित समाचार

सर्लाहीका १५ सहित थप ३० जनामा कोरोना, संक्रमितको संख्या ४८७ पुग्यो

प्रकाशित : जेष्ठ ९, २०७७ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?