कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

२६ घण्टासम्म पनि गुल्मीका संक्रमितको शव उठेन

अस्पतालबाट कसले उठाउने भन्‍नेमै विवाद
घनश्याम गौतम

बुटवल — मृत्यु घोषणा भएको २६ घण्टा बितिसक्दा पनि रूपन्देहीको क्रिमसन अस्पतालमा बिहीबार बिहान मृत्यु भएका गुल्मीका कोरोना संक्रमितको शव उठन सकेको छैन ।

२६ घण्टासम्म पनि गुल्मीका संक्रमितको शव उठेन

अस्पतालको आईसीयू बेडमा रहेको शव अस्पतालकै सुरक्षाकर्मी वा स्वास्थ्यकर्मीले बाहिर निकालिदिनु पर्ने अडानमा स्थानीय प्रशासन छ । अस्पताल प्रशासनले भने मृत्यु भइसकेको संक्रमितको शव सुरक्षाकर्मीले नै व्यवस्थापन गर्नु पर्ने अडान राखेपछि २६ घण्टादेखि शव नउठेको हो । शव व्यवस्थापनका लागि दुई पटक शववाहन अस्पताल परिषरमा पुर्‍याएर फर्काइएको छ । तिलोत्तमा नगरपालिका–३ मगरघाटमा शव जलाउने स्थानीय प्रशासनको तयारी छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी जनक थापाले कार्यविधिमा स्पष्ट उल्लेख नभएकाले अस्पतालबाट शव निकाल्नै समस्या परिरहेको बताए । ‘अहिले पनि जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैठक बसिरहेको छ,’ उनले भने, ‘केही बेरमा निकास आउला ।’ अस्पतालमा जेठ १ गतेदेखि उपचार गराइरहेका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका शिक्षकलाई जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कार्यविधिमा संक्रमितको मृत्यु भइसकेपछि सुरक्षा सामग्रीको प्रयोग गरेर सकेसम्म छिटो शव व्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।

संक्रमितको बिहीबार बिहान ७ बजेर १० मिनेट जाँदा मृत्यु भएको थियो ।

ट्राभल हिस्ट्री नभएको र भारत वा तेस्रो मुलुकबाट आएका व्यक्तिको सम्पर्कमा समेत नभएकाले उनका परिवार र आफन्तले पुन: परीक्षणको माग गर्दै आएका छन् । उनले बुटवल आउनुअघि स्वास्थ्य परीक्षण गराएका अर्घाखाँचीस्थित छायाँ पोलिक्लिनिकका १० स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएको छ । त्यस्तै क्रिमसन अस्पतालकै १९ स्वास्थ्यकर्मीको पनि रिपोर्ट नेगेटिभ आइसकेको छ । परिवार, आफन्त र अन्य स्वास्थ्यकर्मी गरी ४० जनाको रिपोर्ट आउन बाँकी छ ।

प्रकाशित : जेष्ठ ९, २०७७ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?