प्रतिपक्षी दलका सांसदद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग

काठमाडौँ — प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन रोक्न र वर्तमान परिस्थितिमा सरकारको नेतृत्वमा रहेर जनताको पक्षमा काम गर्न असफल भएको भन्दै सांसदहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । 

प्रतिपक्षी दलका सांसदद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग

सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसदहरूले कोरोनाजस्तो महामारीका बेलामा सरकारले सही ढंगले काम गर्न नसकेको भन्दै राजीनामा दिएर मार्ग प्रसस्त गर्न आग्रह भएको हो ।

कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले जनताको माग एकातिर र सरकारले अर्कै बाटो समातेको भन्दै ओलीको राजीनामा माग गरेका हुन् । मन्त्री र सरकारी अधिकारीले नै प्रधानमन्त्रीलाई असहयोग गर्न थालेको अवस्थामा पदमा बसिरहन नसुहाउने उनको भनाइ थियो । नीति तथा कार्यक्रममा जनताको ज्यान बचाउने, गासको व्यवस्था गर्ने र विदेशबाट आफ्ना नागरिक ल्याउने केही योजना नदेखिएको उल्लेख गर्दै उनले यो परिस्थितिमा प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव दिएका हुन् । ‘अहिलेको परिस्थितिमा प्रधानमन्त्रीलाई आराम गर्न आग्रह गर्दछु । डाक्टरले भनेको छ आराम गर्न, मन्त्रीले साथ दिएका छैनन् । देशलाई बचाउन, जनतालाई भोकबाट बचाउन र बाहिर रहेका नागरिकलाई स्वदेश ल्याउनका लागि काम देखिएनन् । यो सरकारमा सक्षमता देखिएन त्यसैले मौका दिनुस् ।’

प्रधानमन्त्री औलीले नै भयावह स्थिति रहेको भन्दै आए पनि त्यसका लागि योजना नल्याएको उनको भनाइ थियो ।

नीति तथा कार्यक्रममाथिको आइतबार छलफलमा पनि कांग्रेस सांसदहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए । सांसद प्रदिप गिरीले प्रधानमन्त्री ओलीलाई राजीनामा गरेर मार्ग प्रसस्त गर्न आग्रह गरेका थिए । 'या सरकारले समस्या समाधान गरोस्, समस्या समाधान गर्दैन भने ठाउँ छोडोस्,' गिरिले भनेका थिए । आफूले विरोधका लागि विरोध नगरेको भन्दै गिरीले सरकारको नेतृत्वमा समस्या रहेको बताएका थिए । उनले प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रसस्त गर्नु अहिलेको समस्याको समाधान भएको बताए ।

सांसद गगन थापाले आफूमा हुँदै नभएको क्षमता प्रधानमन्त्रीले प्रदर्शन गरिरहेको बताए । प्रधानमन्त्री वरपरका व्यक्तिहरूले पनि प्रधानमन्त्रीलाई त्यस्तो हुँदै नभएको क्षमता छ भनेर उक्साइरहेको र त्यसले मुलुकलाई नै क्षति पुर्‍याइरहेको बताए ।

नीति तथा कार्यक्रममा लेखिएका कुरा मुलुकको वर्तमान क्षमताले भ्याउने अवस्था छैन भन्ने कुराको बोध प्रधानमन्त्रीलाई नभएको थापाको भनाइ थियो ।

भारतीय अतिक्रणमा परेको भूमि नीति तथा कार्यक्रममा लेखिएझैं फिर्ता हुनेमा थापाले आशंका व्यक्त गरे । सीमा क्षेत्र र खाडीमा अलपत्र परेका नागरिकलाई ल्याउन नसक्ने सरकारले भूमि फिर्ता ल्याउनै नसक्ने उनको दाबी थियो । माटो मात्रै राष्ट्रियता नभएको उल्लेख गर्दै उनले मान्छे र माटो दुवै राष्ट्रियता भएको बताए । ‘जसले खाडीमा अलपत्र परेका नागरिकलाई फिर्ता ल्याउन सक्दैन त्यसले मेरो भूमि फिर्ता ल्याइदिन्छ ? यो संसदमा राष्ट्रियताको विषयमा बहस हुन्छ । राष्ट्रियता भनेको माटो हो कि मान्छे हो ? दुवै हो,' उनले भने, 'जसले आफ्नो मान्छे चिन्न र जोगाउन सक्दैन त्यसले आफ्नो माटो जोगाउन सक्दैन । जसलाई पसिनाको गन्धको आनन्दको अनुभूति हुँदैन त्यसले माटोको सुगन्ध पनि थाहा पाउन सक्दैन । मान्छे जोगाउन नसक्ने, मान्छे फिर्ता ल्याउन नसक्ने सरकारले मेरो भूमि फिर्ता ल्याउँछ भन्ने रत्तिभर भ्रम छैन ।’

सांसद उमा रेग्मीले अहिले १० दिनको योजना चाहिएको अवस्थामा १० वर्षको योजना ल्याएर सरकारले आफ्नो असक्षमता देखाएको बताइन् ।

प्रकाशित : जेष्ठ ५, २०७७ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?