कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सरकारको नीति तथा कार्यक्रम 'पोस्ट कोभिड'का योजनासहितको छ : पौडेल

काठमाडौँ — सरकारको नीति तथा कार्यक्रमले कोरोना भाइरसको महामारीपछि कसरी सामाजिक र आर्थिक क्षेत्रलाई अगाडि बढाउने भन्‍ने योजना ल्याएको सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रम 'पोस्ट कोभिड'का योजनासहितको छ : पौडेल

प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले कोरोनाबाट सामाजिक र आर्थिक क्षेत्रमा थप क्षति हुन नदिने कार्यक्रम ल्याएको पनि दाबी गरे ।

नीति तथा कार्यक्रम कोभिड– १९ को महामारी र त्यसले मानव जीवनको रक्षा तथा आर्थिक–सामाजिक क्षेत्रमा सिर्जना गरेको चुनौतीको सामना कसरी गर्ने भन्ने प्रश्नको जवाफसहित आएको पौडेलको भनाइ थियो ।

'कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई कसरी प्रभावकारी बनाउने ? प्रकृतिको सुन्दरतम् सृष्टि मानव जीवनको रक्षा कसरी गर्ने ? यसले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभावलाई कसरी सामना गर्ने ? भन्ने जस्ता विषयहरूमा तत्कालका अभिभारा निश्तित गरेको मात्र होइन, पोस्ट कोभिड योजना सहित प्रस्तुत भएको छ,' उनले भने, 'आर्थिक तथा सामाजिक क्षेत्रमा थप क्षति हुन नदिन र अर्थतन्त्रलाई गतिशील तुल्याउँदै उच्चदरको आर्थिक वृद्धि हासिल गर्नमा केन्द्रित भएको छ ।'

नीति तथा कार्यक्रमले अनावश्यक सपना नबोकेको दाबी गर्दै पौडेलले भने, 'आधारहीन सपना बाँडेको छैन, बरु यो स्पष्ट उद्देश्य, लक्ष्य, कार्यान्वयनको कार्ययोजना र परिणाम प्राप्त गर्ने अठोटका साथ आएको छ ।' नीति तथा कार्यक्रम महत्वाकांक्षी नभएर उच्च आकांक्षासहित आएको उनको तर्क थियो । 'स्रोत, साधन र सामर्थ्यको अधिकतम परिचालन गर्दा कार्यान्वयन गर्न सकिने प्रकृतिको छ । मेरो विचारमा नीति तथा कार्यक्रम संभावनाको न्यूनतम् सीमारेखाको नजिक होइन, उच्चतम सीमारेखाको नजिक भएरै आउनु पर्दछ र यसरी नै आएको पनि छ,' उनले भने ।

कोरोनाबाट सरकार विचलित हुन नहुने र नभएको पनि पौडेलको भनाइ थियो । सरकारले जस्तासुकै संकटको पनि सामना गर्न र राष्ट्र तथा जनताको आम वा आधारभूत आवश्यकता पुरा गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ अघि बढ्नु पर्ने उनले बताए । उनले भने, 'नीति तथा कार्यक्रम कोभिड–१९ ले सिर्जना गरेको चुनौतीमा अल्झिएर बस्ने होइन, त्यसलाई सुझबुझ, साहस र वस्तुनिष्ठ योजनाका साथ सामना गर्ने, आर्थिक–समाजिक जीवनलाई गतिशील बनाउने, विकास, समृद्धि र सामाजिक न्याय हासिल गर्ने र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाँक्षा पुरा गर्ने संकल्पका साथ प्रस्तुत भएको छ ।'

सरकारले कोरोना भाइरससँग लड्ने योजना ल्याउनुका साथै अन्य आधारभूत आवश्यकताका काम पनि जारी राख्नुपर्ने पौडेलको भनाइ थियो । त्यसका लागि नीति तथा कार्यक्रममा कोभिड – १९ नियन्त्रण गर्ने र स्वास्थ्य, शिक्षा, कृषि, उद्योग र रोजगारीका क्षेत्रमा लगानी केन्द्रित गर्ने, थप क्षति हुन नदिने र अर्थतन्त्रलाई गतिशील तुल्याउने योजना रहेको उनको भनाइ थियो ।

त्यस्तै, राष्ट्रिय एकता र स्वाधिनता रक्षाका लागि नीति तथा कार्यक्रममा स्पष्ट व्यवस्था रहेको पौडेलले बताए । छिमेकी राष्ट्रहरूसँग राम्रो सम्बन्ध राख्ने र विवादका विषय वार्ताद्वारा समाधान गर्ने नीति सरकारको रहेको उनको भनाइ थियो । 'सरकार राष्ट्रियहितको पक्षमा दृढताका साथ उभिँदै छिमेकी मित्रराष्ट्रहरूसँग असल सम्बन्ध राख्न चाहन्छ । विगत देखि थाती रहँदै आएका वा हाल उत्पन्न भएका समस्यालाई वार्ताका माध्यबाट समाधान गर्न चाहन्छ र तथ्यको जगमा खडा भएर कुटनीतिक वा राजनीतिक वार्ताद्वारा समस्याको समाधान चाहन्छ भन्ने स्पष्ट गरेको छ,' उनले भने ।

प्रकाशित : जेष्ठ ५, २०७७ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?