सुरक्षा परिषद् बैठक बसेर सीमामा सेना पठाउनुपर्छ : सांसद प्रधान

काठमाडौँ — प्रतिपक्षी कांग्रेसका सांसदले तत्काल सुरक्षा परिषद् बैठक बोलाएर भारतले मिचेको नेपाली भूमि रक्षाका लागि सेना परिचालन गर्न सुझाव दिएका छन् । पूर्वरक्षामन्त्रीसमेत रहेका सांसद भीमसेनदास प्रधानले सीमाबारे भारतसँग वार्ता गरिराख्ने र सेनालाई सीमा रक्षामा पनि खटाउनुपर्ने बताएका हुन् । 

सुरक्षा परिषद् बैठक बसेर सीमामा सेना पठाउनुपर्छ : सांसद प्रधान

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद प्रधानले सुरक्षा परिषद्को बैठक तत्काल बोलाउन माग गरेका हुन् । उनले भूकम्प र बाढी आउँदा मात्रै सुरक्षा परिषद्को बैठक बस्ने गरेकोप्रति असन्तुष्टि जनाए ।

'हाम्रोमा बाढी र भूकम्प गएपछि मात्रै सुरक्षा परिषद्को बैठक बस्ने गरेको छ । तत्काल सुरक्षा परिषद् बैठक बोलाएर सेनालाई सीमा सुरक्षामा पठाउनुपर्छ,' उनले भने, 'वार्ता हुँदै गर्छ । सेनालाई सीमामा पठाउनुपर्छ । आफ्नो सीमा रक्षा गर्ने दायित्व सरकारको हो । सीमा खाली छोडेमा मिच्नेले मिचिराख्छ ।'

राष्ट्रवाद र भारतविरोधी भाषण गरेर सत्तामा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल यो निर्णय लिनुपर्ने प्रधानको सुझाव थियो । कालापानी, लिपुलेक र लिम्पियाधुरामा तत्काल सेना खटाउनुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहेको सुरक्षा परिषद् बैठक लामो समयदेखि बस्न सकेको छैन । भूमि भारतले मिच्दा पनि सुरक्षा परिषद् बैठक नबसेकोमा सांसदहरूले आवाज उठाएका हुन् ।

नीति तथा कार्यक्रममा भारतीय अतिक्रमणमा परेको लिपुलेक, लिम्पियाधुरा र कालापानी राखेर नयाँ नक्सा प्रकाशित गर्ने सरकारले घोषणा गरेको छ । भारतले मिचेको भूमिमा सडक निर्माण गरेपछि नेपालमा भारतको आलोचना बढेको छ ।

सम्बन्धित समाचारः

प्रकाशित : जेष्ठ ५, २०७७ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?