१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रोजगारी गुमाएका, श्रमिक र किसानलाई महिनाको ५ हजार दिन पूर्वअर्थमन्त्रीको प्रस्ताव

काठमाडौँ — प्रतिपक्षी दल कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले न्यून आय भएका, किसान र रोजगारी गुमाएकालाई महिनाको ५ हजार नगद रकम उपलब्ध गराउन सरकारसामू प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले तीन महिनाका लागि रोजगारी गुमाएका, श्रमिक र किसानलाई रकम उपलब्ध गराउन सरकारसँग प्रस्ताव गरेका हुन् । 

रोजगारी गुमाएका, श्रमिक र किसानलाई महिनाको ५ हजार दिन पूर्वअर्थमन्त्रीको प्रस्ताव

'मुलुकलाई रोग र भोकबाट जोगाउनुपर्छ । जनताका लागि रोग र भोकबाट जोगाउनका लागि काम गुमाएका मजदुर, श्रमिक र समाजको तल्लो तहमा रहेका विपन्न किसानलाई तीन महिना महिनाका लागि ५ हजारको दरले १५ हजार रुपैयाँ देओस् र उनीहरूलाई जीवन सहज पार्न भूमिका खेलोस्,' कार्कीले भने ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले कोरोना भाइरसले सिर्जना गरेको वर्तमान समस्यालाई समाधान गर्न नसक्ने कार्कीको भनाइ थियो । 'अहिलेको सरकारको प्राथमिकता मानव संकट, स्वास्थ्य उपचार, राहत र अर्थतन्त्रको पुनर्बहालीमा केन्द्रित हुनुपर्थ्यो,' उनले भने, 'तर यो यथार्थलाई ख्याल नगरीकन नीति तथा कार्यक्रमले अहिलेको समस्या समाधान गर्न नभएर झन् विकराल गर्न अग्रसर भएको देखिन्छ ।'

बजेट ल्याउने क्रममा वर्तमान नेपालको यथार्थलाई ध्यान दिन पनि कार्कीले सुझाव दिएका छन् । बजेट मितव्ययी हुनुपर्ने उनको भनाइ छ । सरकारले ठूला परियोजना निर्माणमा ध्यान दिनुभन्दा पनि छिटो प्रतिफल दिने आयोजना सम्पन्न गर्नुपर्ने उनको सुझाव थियो ।

एमसीसी सत्तारुढ दलको आन्तरिक विवादको विषय हुन नहुने कार्कीको भनाइ थियो । कार्की अर्थमन्त्री भएको बेला एमसीसी सम्झौता भएको थियो । उनले एमसीसीलाई संसदमा पेश गरेर बहस गर्न पनि उनले सुझाव दिएका छन् । 'सत्तारुढ दलले आन्तरिक विवादको विषय बनाएको छ । यसलाई त्यस्तो बन्न दिन हुँदैन । सरकारले एमसीसी संसदमा पेश गरोस् र संसदमा गहन बहस होस्,' उनले भने ।

सम्बन्धित समाचारः

प्रकाशित : जेष्ठ ५, २०७७ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?