धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजिटिभ

थप यकिन गर्न नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकाे अस्पतालको भनाई

जेष्ठ ३, २०७७

मकर श्रेष्ठ, नगेन्द्र अधिकारी

काठमाडौँ — कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पताल मृत्यु भएपछि अस्पतालमा उच्च सतर्कता अपनाइएको छ । मृत्युपछि धुलिखेल अस्पतालमै गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको बताइएको छ । बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो ।

अस्पताल उच्च स्रोतका अनुसार राति साढे ९ बजे इमर्जेन्सीमा ल्याउँदा उनको अवस्था निकै गम्भिर थियो । साथै स्वास फेर्न समेत निकै कठिन भइरहेको थियो ।

‘हामीले अनेक प्रयास गर्‍यौं । स्वास फेर्न गाह्रो भएको थियो । ट्युब राखेर भेन्टिलेट गर्दा पनि बचाउन सकेनौं,’ उनले भने, ‘त्यसपछि हामीले स्वाब लिएर परीक्षण गर्दा आज बिहान रिपोर्ट पोजिटिभ आयो । थप यकिन गर्न हामीले नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पनि पठाएका छौं ।’

स्रोतका अनुसार २९ वर्षकी ती महिलाले बैशाख २३ गते काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बच्चा जन्माउनको लागि भर्ना भएकी थिइन् । उनले २४ गते बच्चालाई जन्म दिएकी थिइन् । शिक्षण अस्पतालबाट २५ गते डिस्चार्ज भएकी उनलाई बाह्रबिसे पुगेपछि स्वास्थ्यमा समस्या देखिएको जानकारी प्राप्त भएको छ ।

कोरोना संक्रमणको आशंकामा उनको स्वाव संकलन गरी पीसीआर परिक्षण गर्दा शंकास्पद रिपोर्ट आएपछि पुनः परीक्षण गर्न पठाइएको धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकी ती महिलाको मृत्यु भएपछि अस्पतालबाट ५ सय मिटरको दुरीसम्म कसैलाई प्रवेश दिइएको छैन । ‘सतर्कता अपनाएका हौं, संक्रमणको पुष्टी भइसकेको छैन,’ जिल्ला विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले भने, ‘रिपोर्ट आएपछि सोही अनुसारको निर्णय गर्छौं ।’

मकर विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका श्रेष्ठ शिक्षा, संसदीय मामिला र सुशासनका विषयमा लेख्छन्।

नगेन्द्र

Link copied successfully