कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमणमा भारतले चीनलाई उछिन्यो

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतले कोरोना भाइरसको संक्रमणमा चीनलाई उछिनेको छ । शनिबार बिहानसम्ममा भारतमा संक्रमितको संख्या  ८५ हजार ९ सयभन्दा बढी पुगेको छ ।

कोरोना संक्रमणमा भारतले चीनलाई उछिन्यो

कोरोना भाइरसको उद्‍गमस्थथल मानिएको चीनमा अहिलेसम्म ८४ हजार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनमा कोरोना स‌ंक्रमणबाट हालसम्म ४ हजार ६ सय ३७ जनाको मृत्यु भएको छ । केही हप्तायता चीनमा संक्रमित थपिने क्रम नगण्य छ भने संक्रमणबाट कसैको मृत्यु भएको छैन ।

भारतमा पहिलो कोरोना भाइरसको संक्रमण चीनमा पहिलो संक्रमण पुष्टि भएको करिब अढाई महिनापछि मात्र ३० जनवरीमा देखिएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार चीनमा कोरोना भाइरसको पुष्टि ८ डिसेम्बर, २०१९ मा भएको थियो । भारतमा विगत केही दिनयतासंक्रमणको दरमा उच्च वृद्धि देखिएको छ ।

पछिल्लो चौबीस घन्टामा मात्रै चार हजारभन्दा बढीमा संक्रमण देखिएको छ । भारतमा सबैभन्दा बढी संक्रमण महाराष्ट्रमा देखिएको छ । महाराष्ट्रमा संक्रमितको संख्या २९ हजार १ सय नाघेको छ । त्यहाँ मात्र १ हजार ६८ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाइसकेका छन् । त्यसपछि उच्च संक्रमण देखिनेमा क्रमशः गुजरात, दिल्ली र मध्यप्रदेश राज्यहरु छन् । भारतमा हालसम्म २ हजार ७ सय ५२ जनाले ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणको नियन्त्रणमा सबैतिरबाट प्रशंसा पाइरहेको केरलामा समेत विगत तीन दिनमा ५२ जना नयाँ बिरामी थपिएका छन् । नयाँ बिरामीमध्ये २२ जना विदेशबाट फर्किएकाहरु भएको बताइएको छ ।

त्यसैगरी गएको एक महिनामा एउटा पनि नयाँ संक्रमित नथपिएको गोवामा पछिल्लो दुई दिनमै आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै अवस्था हिमाचल र असमलगायतका राज्यको पनि छ ।

कोरोना भाइरसको संक्रमणलाई केही हदसम्म नियन्त्रणमा राख्न सफल भएका यी राज्यहरुमा समेत विगत केही दिनयता संक्रमणमा एकाएक वृद्धि देखिएपछि भारतमा संक्रमणको दोस्रो चरण सुरु भएको हो कि भन्ने आशंका पनि गर्न थालिएको छ । लकडाउनका खुकुलो भएसँगै रेललगायतका सार्वजनिक यातायातका कारण पनि संक्रमण फैलिएको अनुमान गरिएको छ । सँगै विदेशमा अलपत्र परेका भारतीयहरुलाई विशेष अभियानमार्फत् स्वदेश ल्याउने क्रम पनि जारी छ । ओडिशा, बिहार, केरलामा विगत केही दिनयता संक्रमितको संख्यामा भएको उच्च वृद्धिले पनि केही हदसम्म त्यो पुष्टि गर्छ ।

प्रकाशित : जेष्ठ ३, २०७७ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?