सबभन्दा गाह्रो जाडो हुने र ज्वरो आउने भयो । ज्वरो १०३/१०४ डिग्रीसम्म आउँथ्यो । पसिना आउने, थकाइ लाग्ने भइरह्यो । कति संक्रमितले हिँड्नै गाह्रो भयो भने तर मलाई त्यस्तो भएन । जीउ भने एकदमै थाक्ने, गल्ने र दुख्ने हुन्थ्यो ।
मैले काम गर्ने रोयल फ्री हस्पिटलमा कोभिड–१९ का संक्रमित आइसकेका थिए । त्यति बेला मेरो अस्पतालमा दिनमा १० जनाको मात्र टेस्ट हुन्थ्यो, सबैको टेस्ट गर्न सम्भव थिएन । त्यसैले लक्षण देखिएपछि आफूलाई आइसोलेट गर्नैपर्थ्याे । मलाई ज्वरो आयो । हस्पिटलको ड्युटीमा नगई मार्च ३१ देखि घरको एउटा कोठामा एक्लै बसेँ । सरुवा रोग विशेषज्ञलाई फोन गरेँ । लक्षण त्यही (कोभिड–१९ को) छ । विज्ञले अलि गाह्रो भयो भने मात्र हस्पिटल आउन सुझाव दिए ।
अरूमा सर्छ कि भन्ने डर भयो । ढोका बन्द गरेर बसेँ । झ्याल दिउँसो खोल्थेँ । फोनबाट बाहिर खाना छ है भनिएपछि मास्क लाएर खाना लिन्थेँ । एन–९५ मास्क लाएर मात्र ढोका खोल्थेँ । इन्फेक्सन भएको व्यक्तिले मास्क लाउनुपर्छ तर एन–९५ नै हुनुपर्छ भनेको छैन विश्व स्वास्थ्य संगठनले ।
सहनै नसक्ने दुखाइ
मलाई सबभन्दा गाह्रो जाडो हुने र ज्वरो आउने भयो । ज्वरो १०३—१०४ डिग्रीसम्म आउँथ्यो । पसिना आउने, थकाइ लाग्ने भइरह्यो । कति संक्रमितले हिँड्नै गाह्रो भयो भने तर मलाई त्यस्तो भएन । जीउ भने एकदमै थाक्ने, गल्ने र दुख्ने हुन्थ्यो । शारीरिक व्यायाम नगरेको मान्छेले एकैपल्ट धेरै कडा एक्सरसाइज गरेजस्तो भयो । स्कुलमा हाफ म्याराथनमा सहभागी हुँदा चार दिनसम्म हिँड्नै गाह्रो भएको थियो, त्यस्तै भयो यसपालि । सहनै नसक्ने गरी जीउ दुख्यो ।
सुरुमा ४—५ दिन ज्वरो आयो । त्यसपछि ठीक भयो कि भन्ने लाग्यो । एक सातापछि निस्किन पाउँछु, काममा आउँछु होला पनि भनेको थिएँ । तर सातौं दिनपछि फेरि ज्वरो आउन थाल्यो । थकाइ पनि बढी नै लाग्न थाल्यो । खोकी अलिअलि थियो । नाकभित्र दुखिरहेकै थियो । खानेकुराको स्वाद त अहिलेसम्म पनि आउँदैन । छाती दुख्ने र सास फेर्न गाह्रो चाहिँ भएन ।
हामीले अस्पतालमा उत्तानोभन्दा घोप्टो परेर सुत्नु फाइदा हुन्छ भनेर परामर्श दिइरहेका हुन्छौं । म पनि त्यसैगरी सुतेँ, सजिलो भयो पनि । अक्सिजन स्याचुरेसन मापक राखेको थिएँ, त्यसमा चेक गरिरहेँ । नर्मल मान्छेको ९५ प्रतिशतमाथि हुन्छ । नर्मलभन्दा तल भयो भने मात्र अक्सिजन लिनपुर्छ । मेरो नर्मलभन्दा तल गएन ।
ज्वरो १२ औं दिन कम भयो । तर १३ औं दिनपछि फेरि बढ्यो । १६ औं दिनपछि मात्रै ज्वरो आउन छाड्यो । थकाइचाहिँ लागिरह्यो । २० दिनजति घर बसेँ । अनि सबै ठीक भयो र काममा फर्किएँ । काममा फर्केको दुई साता भयो । थकाइ भने अझै लाग्छ । उकालो हिँड्दा सास फुल्छ, त्यो अलिकति कम हुन थालेको छ । अब नर्मल हुँदै गएजस्तो छ ।
रोयल फ्री हस्पिटल १२ तले छ । पहिला भर्याङबाट उक्लिने, ओलिर्ने र बाहिर पनि हिँड्ने गर्थें । लिफ्ट खासै प्रयोग गर्दिनँ । तर कोभिड–१९ बाट मुक्त भएर फर्किंदा ३–४ तलामै सास फेर्न गाह्रो भयो । विस्तारै हल्का हुँदै छ ।
कोभिड–१९ को महामारीले हस्पिटलको नियमित काम अहिले बन्द छ । इमर्जेन्सी काम हुन्छ । क्षमता बढाएर ७ सय बेडको बनाइएको यो हस्पिटलमा दुईतिहाइ बिरामी कोभिड–१९ संक्रमित छन् । उनीहरूलाई मैले पनि हेर्नुपर्छ । यहाँ १ सय १० बेडमा भेन्टिलेटर छ ।
पीपीई लगाएरै बिरामीलाई हेर्छौं । आफूलाई जोखिममा राखेर गर्नुपर्छ । स्टाफ अभाव भएकाले महामारीमा अरूलाई पनि हेर्नुपर्छ । युरोलोजीको इमर्जेन्सी केस आयो र अपरेसन गर्नुपर्ने भए प्लान गर्छौं अनि सकेसम्म छिट्टै डिस्चार्ज दिन्छौं । कोभिड–१९ संक्रमणको संख्या लन्डनतिर अलि घटेको छ । यूकेको अरू क्षेत्रमा भने बढिरहेकै छ ।
रोगी भाइरस
यो भाइरस रोगी हो, सबभन्दा महत्त्वपूर्ण यसको संक्रमणबाट बच्ने नै हो । हात धुने, सामाजिक दूरी कायम गर्ने (अरूभन्दा २ मिटर टाढै बस्ने), मास्क लगाउने, जहाँसुकै नछुने । जर्मनी र सिंगापुरले मास्क अनिवार्य लगाउन भनिसके । संक्रमितले आफूलाई आइसोलेट (अरूबाट टाढै) राख्ने हो । रोग (संक्रमण) भएका ७० प्रतिशतको टेस्ट नेगेटिभ आएको छ । त्यसैले संक्रमितले आफूलाई आइसोलेट राख्नुपर्छ ।
मान्छे डराउँछन् मर्छ भनेर । तर धेरैमा आफैं निको हुँदै जान्छ । चिकित्सकले प्यारासिटामोल मात्रै खानु भनेको छ । ब्रुफेनलगायत अरू औषधि नाखनू भनेको छ । पानी प्रशस्तै अनि राम्रो खानेकुरा बढी खानुपर्छ । अल्कोहल, चुरोट खानै हुँदैन ।
क्यालोरी र प्रोटिनयुक्त खाना
मैले ब्रेकफास्टमा अन्डा, पाउरोटी, चिया लिएँ । लन्चमा दालभात र कहिलेकाहीँ रोटी र डिनरमा दालभात वा पास्ता, स्पागेटी खाएँ । खानामा त्यस्तो बन्देज गर्नुपर्ने केही छैन । हरेक भाइरलमा क्यालोरी र प्रोटिन अलि बढी चाहिने हुन्छ शरीरलाई ।
म दुई सातामा ७ केजीजति घटे । संक्रमितलाई बढी इनर्जी चाहिन्छ । त्यसका लागि खाएर इनर्जी दिनुपर्छ नत्र शरीरमा समस्या हुन सक्छ । सुरुका ५–६ दिन खानामा राम्रै रुचि थियो । त्यसपछि रुचि घट्न थाल्यो । स्वाद र गन्ध नआउने भयो । अहिले पनि स्वाद आउँदैन । कतिलाई झाडापखाला लाग्ने पनि हुन्छ, मलाई भएन । विभिन्न मान्छेलाई विभिन्न खालको लक्षण देखिन्छ । करिब ९० प्रतिशतलाई ज्वरो आउने, ६० प्रतिशतलाई खोकी लाग्ने भएको छ ।
सामाजिक दूरी महत्त्वपूर्ण
कोभिड–१९ विरुद्ध विभिन्न देशको रणनीति फरक छ । इटालीलगायत केही देशमा अलि बढी मानिसको मृत्यु भए पनि समष्टिगत रूपमा हेर्दा ३ देखि ५ प्रतिशत मात्रै मरेका छन् ।
लक्षण नदेखिएको मान्छेले अरूलाई सार्ने सम्भावना उच्च हुन्छ । दक्षिण कोरिया र जापानमा रहेको डायमन्ड प्रिन्सेस (पानीजहाज) का अनुसार ५० प्रतिशतभन्दा बढी सार्ने सम्भावना हुन्छ । लक्षण नदेखिए पनि टेस्टमा पोजिटिभ आउन सक्छ, देखिएको छ । त्यो भनेको लक्षण नभएको तर भाइरस रहेको हो । यस्तो अवस्थामा आफुलाई केही असर नगरे पनि अरुमा भाइरस पास हुन सक्छ । कोभिड–१९ मा सबभन्दा ठूलो डर नै यही हो । त्यसैले सामाजिक दूरी हुनुपर्छ । नत्र एक जनामा भाइरस छ भने त्यसले ३ जना र त्यो ३ हँुदै १० स्टेपमा १५ सय जना जति संक्रमित हुन सक्छ ।
एन्जाइटी र स्वाथ्यकर्मी
म आइसोलेट भएको कोठाको ढोकाबाहिर कसैलाई बस्न दिइएन । एउटै घरभित्र पत्नी, छोरी र छोरासँग फोनबाटै कुरा हुन्थ्यो । दुईतले घरको माथिल्लो तलाको कोठामा म बसेको थिएँ । यसमा बाथरुम पनि भएकाले सजिलो भयो । ज्वरो नआएका बेला कोठामै स्ट्रेचिङ गरे । घाम झ्यालबाट छिर्थ्याे ।
यस्तो बेला एन्जाइटी भइहाल्छ, कस्तो के हुने हो भनेर । धेरैजस्तो निको हुने भए पनि व्यक्तिगत रूपमा कस्तो हुन्छ भन्ने चिन्ता लाग्छ । कोभिड १९ संक्रमित ८० प्रतिशत आफै ठीक हुन्छन् । तर त्यसमा को पर्छ भन्ने समयले मात्रै देखाउँछ । यो शरीरले संक्रमणलाई कसरी लिन्छ भन्नेमा भर पर्छ । तर यसमा वैज्ञानिकता छैन ।
मलाई हस्पिटलमा डाक्टर चिनेकाले सजिलो भयो । यो महामारीमा सबै स्वाथ्यकर्मी उच्च जोखिममा हुन्छन् । त्यसैले संक्रमण भइहाले घरमा कसरी कुन ठाउँमा क्वारेन्टाइन बस्ने भन्ने योजना बनाउनुपर्छ । मैले काम गर्ने हस्पिटलमा धेरै डाक्टर, स्वास्थ्कर्मीलाई संक्रमण भएको छ । भाग्यवश कसैको मृत्यु भएको छैन । दुई जना भेन्टिलेटरसम्म पुगे । सबै काममा फर्किसकेका छन् ।
साबुन–पानीले भाइरस मर्छ
सबभन्दा राम्रो संक्रमण हुन नदिनु नै हो । भाइरस भनेको श्वासबाट मात्रै हुन्छ । हाच्छिउँ गर्दा भाइरस पोल, ह्यान्डल वा टेबलमा गयो भने त्यसमा छुँदाखेरि सर्न सक्छ । त्यसैले हात धोइरहने र मान्छेसँग टाढा रहने गर्नुपर्छ । श्वासप्रश्वास र साधनमा ख्याल गर्नुपर्छ । हातले मुख छुने गर्नु हुन्न ।
न्यु इंग्यान्ड जर्नलअनुसार भाइरसको आरएनए देखिँदैमा जिउँदो भाइरस भन्न मिल्दैन तर मानव शरीरबाहिर ७ दिनसम्म पनि देखिएको छ । सबभन्दा कम तापमा ४ घण्टासम्म कोरोना भाइरस बाँच्छ भने स्टिल र प्लास्टिकमा ७ दिनसम्म । साबुनपानीले यो भाइरस मर्छ । भाइरसको बाहिरी तहमा बोसो हुन्छ, त्यो साबुनपानीले नष्ट हुन्छ, अनि भाइरस बाँच्दैन । बोसो हुने लेयरमा स्पाइक प्रोटिन हुन्छ, त्यससँगै भाइरस हाम्रो शरीरभित्र पस्छ, फोक्सोमा पुग्छ र सास फेर्न समस्या पार्छ ।
को हस्पिटल जाने, को नजाने ?
मैले युरोलोजिस्टको रूपमा पाटन हस्पिटलको इमर्जेन्सी र आईसीयूमा १ वर्ष तथा वीर हस्पिटलमा ४ वर्ष काम गरेँ । त्यो बेलाभन्दा अहिले कोठमाडौंको हस्पिटलमा सुविधा बढेको छ । तर जनसंख्या पनि बढेको छ।
यस्तो महामारीमा देशको स्रोत जति कम भयो, त्यति गाह्रो हुन्छ । त्यसैले सकेसम्म संक्रमण हुन नदिनेमै जोड दिनुपर्छ । संक्रमण बढेपछि गाह्रो हुन्छ । अमेरिकालाई पनि गाह्रो भएको छ ।
यो ज्यानै जाने रोग होइन, ठीक हुन्छ । यूकेमा संक्रमितलाई घरमै बस्न भनिएको छ, गाह्रो भयो भने मात्रै हस्पिटल जान पाइन्छ । नेपालमा हस्पिटलमै राखिएको छ । बिरामीलाई क्वारेन्टाइनमा राखेरै सिधै डाक्टरको निगरानीमा राख्नु राम्रो हो । तर संक्रमण बढ्दै गयो भने कसलाई हस्पिटल राख्ने र कसलाई घरमै राख्ने भन्ने छुट्याउनुपर्छ । यूकेमा सबै संक्रमितलाई हस्पिटलमा राख्नु सम्भव छैन । नेपालको हस्पिटलमा को जाने को नजाने भनेर जनचेतना जगाउनुपर्छ ।
यूकेमा पनि धेरै टेस्ट भएको छैन । विश्व स्वास्थ्य संगठनले प्रस्टै भनेको छ सबैलाई टेस्ट नभए पनि कति जनालाई ठीक भयो भनेर हेर्न मिल्छ । तर डायग्नोसिसका लागि पीसीआर टेस्ट नै गर्नुपर्छ ।
(कोभिड–१९ संक्रमणपछि निको भएर काममा फर्केका लन्डनस्थित रोयल फ्री हस्पिटलमा कार्यरत ४५ वर्षीय युरोलोजिस्ट डा. पारस सिंहसँग कान्तिपुरका राजु घिसिङले गरेकाे कुराकानीमा आधारित)
