कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नेपालगन्जमा पहिलो चरणको ट्रेसिङ सकियो

संक्रमितले आउजाउ गरेका रानीतलाउ, सब्जीमण्डी, पान पसल, किराना तथा खाद्यान्न पसल र आसपास वडाका ३७२ जनाको ट्रेसिङ र स्वाब संकलन, २३७ को परीक्षण नतिजा आउन बाँकी

नेपालगन्ज, कपिलवस्तु — नेपालगन्ज उपमहानगरपालिका–८, जोलहनपुर्वाका २४ संक्रमितको पहिलो सम्पर्कमा आएका व्यक्तिको ट्रेसिङ सकिएको छ । ट्रेसिङ गरिएकामध्ये अधिकांश एउटै टोलका छन् । संक्रमितले आउजाउ गरेका रानीतलाउ, सब्जीमण्डी, पान पसल, किराना तथा खाद्यान्न पसल र आसपासका वडाका व्यक्तिको ट्रेसिङ पूरा गरेर स्वाब संकलन गरिएको हो ।

नेपालगन्जमा पहिलो चरणको ट्रेसिङ सकियो

नेपालगन्ज–८ र ११ वडाका १ सय ६२ जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ । ट्रेसिङ गरिएका जामा मस्जिद क्षेत्रका ७५ जनाको स्वाब भेरी अस्पतालको प्रयोगशालामा जॉच भइरहेको छ । नेपालगन्ज र काठमाडौं पठाइएको स्वाब परीक्षणको रिपोर्ट आइतबार साँझसम्म सार्वजनिक गरिएको छैन । ‘पहिलो संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्ति र त्यसपछि संक्रमित भएका व्यक्तिको सम्पर्कमा आएकाहरूको ट्रेसिङ गरी स्वाब संकलनको काम सकिएको छ,’ जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले भने, ‘शनिबार संकलन गरिएको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी छ ।’ अहिलेसम्म संक्रमित र उनीहरूको सम्पर्कमा आएका ३ सय ७२ जनाको ट्रेसिङ गरी स्वाब संकलन गरिसकिएको छ ।

संक्रमितहरूको सम्पर्कमा आएका व्यक्तिहरूको ट्रेसिङ सकिएपछि आइतबारदेखि सीमासँग जोडिएको नेपालगन्ज–१६, जयसपुर र कोहलपुर नगरपालिका–४, ८ र ९ वडाका ३० जनाको स्वाब संकलन गरिएको छ । कोहलपुरबाट ३० जनाको स्वाब संकलन गरी परीक्षणका लागि भेरी अस्पतालको ल्याबमा पठाइएको छ । जयसपुरमा ९८ जनाले स्वाब जाँचका लागि नाम लेखाएका छन् । हावाहुरीका कारण स्वाब संकलन अवरुद्ध भएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले बताए । यहाँ ट्रेसिङको दायरा बढाएको उनले जनाए ।

‘प्रभावित क्षेत्रमा ट्रेसिङ सकिएपछि अन्य वडामा पनि जाँच बढाएका छौं । अन्य स्थानमा पनि ट्रेसिङ गरेर जाँच गर्छौं,’ उनले भने । सरकारले नेपालगन्जका लागि एक हजार भीटीआर र दुई हजार पीसीआर पठाएपछि ट्रेसिङ र टेस्टिङको काम तीव्र गतिमा भइरहेको छ । कोरोनाको परीक्षण तीव्र हुन थालेपछि नियन्त्रण सहज हुने विश्वास गरिएको छ । कोरोना संक्रमण देखिएको जोलहनपुर्वालाई पूर्ण रूपमा सिल गरिएको छ ।

भारतबाट आउनेका कारण जोखिम

कोभिड–१९ को संक्रमण समुदायमा सरेपछि नियन्त्रणमा चुनौती थपिएका बेला भारतबाट लुकीछिपी आउने क्रम नरोकिँदा अन्य पालिकामा पनि जोखिम बढेको छ । नेपालगन्जमा कोभिड–१९ को संक्रमण समुदायमा सरेपछि नियन्त्रणमा चुनौती थपिएका बेला भारतबाट लुकीछिपी आउने क्रम नरोकिँदा अन्य पालिकामा पनि जोखिम बढेको हो । नेपालगन्जमा पहिलो संक्रमित व्यक्ति भारतको नानपाराबाट आएका थिए । त्यसलगत्तै उनको सम्पर्कमा आएका व्यक्तिको स्वाब जाँच गर्दा एउटै टोलका २३ जनामा कोरोनाको संक्रमण देखिएको हो । छिमेकी मुलुक भारतमा महामारीका रूपमा कोरोना फैलिएका कारण त्यहाँबाट भागेर आउनेहरू बढेका हुन् । रातिको समयमा सुरक्षाकर्मीलाई झुक्याएर सीमावर्ती गाउँमा घुलमिल हुँदा जोखिम बढेको हो । लुकेर आउने व्यक्तिको खोजी गर्न समस्या हुँदा कोरोना जाँच गर्न मुस्किल हुने गरेको छ ।

भारतसँगै जोडिएको बाँकेको पूर्वीदक्षिण गाउँपालिका नरैनापुर नाकाबाट दैनिक दर्जनौं व्यक्ति नेपाल पसिरहेको बताइन्छ । भारतीय सुरक्षाकर्मीले पारि लखेट्छन् । वारि आउन नेपालका सुरक्षाकर्मीले रोक्ने गरेका छन् । नरैनापुर गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक साहले भारतबाट आउन खोज्नेलाई रोक्न समस्या भइरहेको बताए । ‘अझै पनि १५/२० जना सीमाको जंगलमा बसेका छन् । उनका परिवारले ल्याई दिन दबाब दिन्छन् । तर उनीहरू क्वारेन्टाइनमा बस्न नमान्ने भएकाले ल्याउन समस्या छ,’ उनले भने, ‘सीमा पूर्ण रूपमा बन्द गर्न नसक्ने हो भने कोरोना फैलिन्छ, फैलिन्छ ।’

सीमामा सशस्त्र र नेपाल प्रहरी तैनाथ गरिएका छन् । तर, जनशक्ति अभावका कारण ग्रामीण नाकामा बाक्लो गरी सुरक्षाकर्मीको उपस्थिति छैन । ‘सीमा पूरै खुला छ । रातिको समयमा सुरक्षाकर्मीलाई झुक्याएर नेपाल छिर्छन्,’ गाउँपालिका अध्यक्ष साहले भने, ‘कोरोना भित्रिन नदिने हो भने सीमामा थप जनशक्ति परिचालन गर्न आवश्यक छ ।’

खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले दुई/तीन दिनअघि भारतको दिल्लीबाट आएका दुई व्यक्ति सीमाका सुरक्षाकर्मीलाई झुक्याएर घर आएको जानकारी आएको बताए । हाल दिल्लीमा कोरोनाको महामारी फैलिएको छ । उक्त पालिका भारतको सीमासँगै जोडिएको छ । ‘दिल्लीबाट आएका दुई व्यक्ति सीमा पार गरेर आएको खबर आएपछि खोजी गर्‍यौं । उनीहरूलाई घरमै क्वारेन्टाइनमा बस्न भनेका छौं,’ उनले भने, ‘उनीहरूको कोरोना जाँच गराउन पहल भइरहेको छ ।’ बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले लकडाउनका बेला १६ जना तेस्रो मुलुक र २ सय ४६ जना भारतबाट घर फर्किएकाहरूको परीक्षण हुन नसकेको जनाए ।

भारतका विभिन्न राज्यमा फैलिएको कोरोना संक्रमणलाई मध्यनजर गरी सरकारले कुनै पनि व्यक्ति प्रवेश गर्न नपाउने निर्देशन दिए पनि गत साता भारत महाराष्ट्र, झाँसी, कानपुर, दिल्ली र पन्जाबबाट लुकीछिपी २१ जना कामदार नरैनापुर फर्किएका छन् । भारत श्रावस्ती जिल्ला भिन्गास्थित क्वारेन्टाइनले उनीहरूलाई राख्न नमानेपछि भारतीय प्रहरीले नरैनापुर गाउँपालिका–१, सुइया नाकाबाट उनीहरूलाई नेपाल प्रवेश गराएको थियो । मजदुर फर्किएको सूचना प्राप्त हुनेबित्तिकै उनीहरूलाई आदर्श मावि लक्ष्मणपुरमा रहेको क्वारेन्टाइनमा राखिएको थियो । २१ जनालाई लगेर दशगजामा राखेको छ । सीमा क्षेत्रमा अहिले पनि एक सयभन्दा बढी कामदार अलपत्र छन् ।

एक दर्जनसित घुलमिल

कपिलवस्तुमा एक साताअघि सीमाबाट लुकेर आएका पाँच जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । आइतबार पनि उनीहरूको कन्ट्याक्ट ट्रेसिङको काम भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तीन जना संक्रमित पाइएको मायादेवी गाउँपालिका–२, अभिरावलाई सिल गरिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट डा. यदुचन्द्र घिमिरे नेतृत्वको टोलीले अभिरावमा पुगेर उनीहरूको कन्ट्याक्ट ट्रेसिङ संकलन गरेको थियो । उनीहरूको पहिलो सम्पर्कमा आएका केही व्यक्तिलाई होम क्वारेन्टाइनमा राखिएको उनले बताए । ‘मायादेवी गाउँपालिकाको क्वारेन्टाइनमा बस्दा संक्रमितले १० जनाभन्दा बढीसित घुलमिल गरेको पाइयो,’ उनले भने, ‘संक्रमितको सम्पर्कमा आएका उनीहरूलाई छुट्टै बस्न भनेका छौं ।’ अहिले ती व्यक्तिलाई ट्रेसिङ फर्म भर्न लगाइएको र त्यो पूरा भएपछि थप विश्लेषण गरेर सतर्कता अपनाइने घिमिरेले बताए ।

प्रकाशित : वैशाख २९, २०७७ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?