काठमाडौँ — शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा शनिबार बिहानैदेखि कोरोना भाइरस संक्रमण भए/नभएको परीक्षण गर्नेको भिड थियो । लकडाउनका बीच पनि विभिन्न जिल्लाबाट काठमाडौं आउने बढी थिए । काठमाडौंमै बसिरहेकाहरु भने निकै कम देखिन्थे ।
१० बजेतिर एक दम्पती मोटरसाइकलमा अस्पताल आइपुगे । काठमाडौंमा बस्ने उनीहरु हेटौंडा आउजाउ गर्थे । विशेष कामले हेटौंडा पुगेर आएको बताउने उनीहरुलाई टोलवासीले घर छिर्नुअघि कोरोना परीक्षण गराउन दबाब दिएपछि टेकु आएका रहेछन् ।
‘रोग बोकेर आएको भनेर टोलवासीले बस्नखानै दिएनन्,’ सँगै आएकी महिलाले भनिन्, ‘प्रहरी र जनप्रतिनिधि बोलाए ।’
उनीहरुको कुरा सुनेपछि चिकित्सकले ‘लक्षण छैन, घरमा गएर केही दिन आराम गर्नु, समुदायसँग हेलमेल नगर्नु’ भनेर सम्झाए । दम्पतीले मान्दै मानेनन् । अस्पतालले ती पुरुषको घाँटीको स्वाब लिएर पीसीआर गर्ने बतायो । उनीहरुले २ घण्टा कुरेर स्वाब दिए ।
‘२४ घण्टामा रिपोर्ट आउँछ, हामी तपाईंलाई आफैं फोन गरेर भन्छौं,’ चिकित्सकले भने, ‘चिन्ता मान्नुपर्ने केही छैन ।’ रिपोर्ट नआएसम्म घर फर्केर समुदायमा के जवाफ दिने भनेर उनीहरु चिन्तित देखिए ।
एकछिनपछि तीनमहिने शिशु लिएर अर्का दम्पती आइपुगे । साथमा दुई जना बालिका पनि थिए । शिशु बिरामी भएर जाँच गराउन उनीहरु नुवाकोटदेखि कान्ति बाल अस्पताल आएका रहेछन् । गाउँ फर्किने गाडी नपाएपछि कालीमाटीस्थित डेरामा बस्ने निर्णय लिए । तर वडावासीले उनीहरुलाई पनि कोठा छिर्न दिएनन् । कोरोना नेगेटिभ भएको रिपोर्ट ल्याउन दबाब दिँदै टेकु पठाए ।
‘हाम्रो गाउँमा कोही संक्रमित छैनन् । हामीले कसैसँग हेलमेल पनि गरेको छैन,’ बच्चा बोकेकी मनमाया तामाङले भनिन्, ‘बच्चालाई ज्वरो आएको भरमै सबैको परीक्षण गर्नू भनेर प्रहरीले पठाए ।’
लक्षण र हिस्ट्री नभएपछि चिकित्सकले ओपीडी पुर्जामा लेखे, ‘उहाँहरु शंकास्पद होइन । परीक्षण गर्न आवश्यक छैन ।’ पुर्जा बोकेर उनीहरु अस्पतालबाट बाहिरिए ।
शनिबार १ बजेसम्म ४० जनाजति यस्तै समस्या लिएर टेकु आएका थिए । बिरामी हेर्नुभन्दा पुर्जामा ‘बिरामीमा कोरोना भाइरस संक्रमणको शंका छैन’ भनेर लेख्दालेख्दा आफूलाई स्वास्थ्यकर्मी नभई प्याथोलोजिस्ट जस्तो लाग्न थालेको आकस्मिक कक्षमा खटिएकी एक चिकित्सकले सुनाइन् । ‘साइरन बजाउँदै एम्बुलेन्स हुत्तेर आउँछ,’ उनले भनिन्, ‘एम्बुलेन्सबाट बिरामी झर्लान् भनेर सतर्क बस्यो । तर, आउने भनेको यस्तै लफडा मात्रै हो ।’
सिन्धुपाल्चोकदेखि काठमाडौं आएकी माइली शाहीलाई पनि चिकित्सकले स्वाब नलिई कोरोना परीक्षण गर्न आवश्यक छैन भनेर कागजमा लेखिदिए । संक्रमण नफैलिएको जिल्लाबाट आएकाले परीक्षण गर्न नपर्ने चिकित्सक टोलीको तर्क थियो ।
दिदीको शल्यक्रियाका लागि गाउँ छोडेर हिँड्नुपरेको उनले बताइन् । घरबाट आउँदा झोला बिसाउन नपाउँदै उनलाई ललितपुर च्यासलस्थित टोलवासीले घेरे । ‘यस्तो बेलामा जिल्ला कटेर आउन त कसलाई रहर थियो र,’ उनले भनिन्, ‘दिदीको बच्चा खेर गएर ज्यानै जाला जस्तो भएपछि भाइरससँग डराएर गाउँमै बस्न सकिएन । मोटरसाइकलमा आइयो ।’
घरबेटीको तनावभन्दा पनि अस्पतालमा अन्य व्यक्तिबाट रोग सर्ला भनेर उनी डराइरहेकी थिइन् ।
लकडाउनको बीचमा धादिङस्थित घर फर्केर आएको भन्दै एक प्रहरी परिवारसहित अस्पताल आइपुगे । धादिङमा पनि संक्रमित भेटिएकाले आफूलाई पनि शंका लागेर उनी आएका रहेछन् । कुपण्डोलमा बस्ने उनको परिवारका कसैलाई रोगको लक्षण भने थिएन । उनलाई पनि घरबेटी र प्रहरीले परीक्षण गर्न दबाब दिएका रहेछन् । गाउँमा कुनै संक्रमित या शंकास्पद व्यक्तिको सम्पर्कमा नआएको उनको भनाइ थियो ।
‘आरडीटीसम्म गराउन पाए राम्रो हुन्थ्यो । बाहिर कतै पाउँछ भने गर्नुस्,’ चिकित्सकले सल्लाह दिए, ‘हाम्रोमा आरडीटी किट सकिएको छ । अहिलेलाई घरमै बस्नुस् । टेन्सन नलिनुस् । समस्या भयो भने फेरि आउनुस् ।’
दिउँसोतिर टाउको दुख्यो भन्दै एक व्यक्ति अस्पताल आइपुगे । दुई महिनाअघि भारतबाट आएका उनी यतिन्जेल होम क्वारेन्टाइनमा बसे । तर, कुनै समस्या देखिएन । ‘लक्षण देखिने भए पहिले देखिन्थ्यो । घरमा बसेर, बढी सोचेर टाउको दुखेको होला निको हुन्छ,’ चिकित्सकले भने । उनको पनि परीक्षण नै नगरी फिर्ता पठाइयो ।
अस्पतालले पहिले विदेशबाट आएका व्यक्तिको लक्षणबिना पनि परीक्षण गर्ने गरेको थियो । अहिले संक्रमण फैलिएको जिल्लाबाट आउनेको पीसीआर परीक्षण हुने गरेको छ । शंकास्पदको भने आरडीटी हुन्थ्यो । अहिले अस्पतालमा किट सकिएपछि धेरै शंकास्पद व्यक्तिको पीसीआर नै गर्ने गरेको उपचारमा खटिएका एक चिकित्सकले बताए ।
‘अहिले नेपालको समुदायमा पनि संक्रमण फैलिसकेको छ,’ उनले भने, ‘त्यसैले परीक्षणको दायरा बढाउन हामीले नियम खुकुलो बनाएका हौं । विदेशबाट आउने क्रम रोकिइसक्यो । जिल्लाबाट आउनेको भिड हुन थालेको छ ।’
आफूहरुले ‘परीक्षण आवश्यक छैन’ भनेर लेखिदिए पनि कतिपय समुदायले विश्वास नगरी कोरोना परीक्षणको रिपोर्ट लिएर आउनु भन्दै दुःख दिने गरेको एक चिकित्सकले बताए ।
