हेटौंडा — हेटौंडामा कोरोना भाइरस संक्रमणको पीसीआर विधिबाट परीक्षण पुन: सुरु भएको छ । पीसीआर किट सकिएपछि रोकिएको कोरोना भाइरसको परीक्षण शनिबारबाट पुन: सुरु भएको हो ।
संघीय सरकारले प्रदेश सरकारको समाजिक विकास मन्त्रालयमार्फत् चार सय थान पीसीआर किट उपलब्ध गराएपछि शनिबारबाट पुन: हेटौंडामा कोरोना परीक्षण सुरु भएको हो । पीसीआर किट सकिँदा बिहीबार र शुक्रबार हेटौंडामा कोरोनाको परीक्षण नभएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता तथा चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तम सेढाईंले जानकारी दिए ।
पहिलो चरणमा पाँच सय किट ल्याइएको हेटौंडा प्रयोगशालामा ४ सय ६२ र बाँकी वीरगञ्जस्थित नारायणी अस्पतालमा कोरोना परीक्षणका लागि पठाइएको थियो । ‘छिमेकी जिल्ला बारा, पर्सा र रौतहटमा कोरोना संक्रमित बढिरहेको समयमा हेटौंडाका किटको अभाव हुँदा नागरिकहरु निरास भइरहेका थिए । हामीले संघीय सरकारलाई किट सकिएको विषयमा पहिल्यै जानकारी गराएका थियौं,’ सेढाईंले भने । उनले बजारमा यस किट किन्न नपाउने भएका कारण संघीय सरकारको भर पर्नुपर्ने अवस्था सिर्जना भएको बताए । यस किटको बजार मूल्य प्रतिकिट करिब १३ हजार रुपैयाँ रहेको छ ।
उनका अनुसार शुक्रबार प्रयोगशालामा स्वाबसमेत आएको थिएन । शनिबार प्रयोगशालामा सातवटा स्वाब प्राप्त भएको र परीक्षण रिपोर्ट आइतबार आउने उनले बताए । ‘हामीले पहिलो चरणमा विभिन्न देशबाट फर्किएकाहरु, क्वारेन्टाइन र आइसोलेसनमा रहेकाहरुको पीसीआर विधिबाट स्वाब संकलन गरी कोरोना परीक्षण गरिरहेका थियो । अब स्थानीय तहको सिफारिसको आधारमा र शंकास्पद बिरामीहरुको परीक्षण गर्नेछौं,’ उनले भने ।
चारसय किट उपलब्ध भएका कारण अब परीक्षणमा कुनै समस्या नभएको दाबी गर्दै उनले करिब दशदिनका लागि किट पुग्ने बताए । ‘प्रतिदिन ६५ जनाको पीसीआर परीक्षण गर्न सकिन्छ । हामीले स्वाब प्राप्त आधारमा परीक्षण गरिरहेका छौं । जसको कारणले गर्दा पनि अब केही समयलाई यस किटले पुग्छ,’ उनले भने ।
हेटौंडामा चैत २७ गतेबाट पीसीआर विधिबाट कोरोना संक्रमणको परीक्षण सुरु गरिएको थियो । मन्त्रालयको तथ्यांकअनुसार शुक्रबारसम्म प्रदेशभर २ हजार ३ सय ६ जनाको पीसिआर परीक्षण गरिएको छ । हेटौंडामा मकवानपुर, सिन्धुली, बारा, पर्सा र रौतहटबाट स्वाब संकलन गरेर परीक्षण भइरहेको छ । वाग्मती प्रदेशको हेटौंडा, भरतपुर, धुलिखेल, टेकु तथा वीर अस्पतालमा कोरोनाको परीक्षण भइरहेको छ ।
संघीय सरकारसँग प्रदेश सरकारले आरडीटी किट माग गरेको भए पनि अझै उपलब्ध नभएको मन्त्रालयले जनाएको छ । यसअघि दश हजार आरडीटी किट प्राप्त भएको भए पनि विभिन्न जिल्लामा किटको अभावमा एन्टिबडी परीक्षण रोकिएको छ । हालसम्म आरडीटी किटबाट नौहजार एकसय पाँचजनाको एन्टिबडी परीक्षण गरिएको छ । ‘आरडीटी किट कहिले प्राप्त हुन्छ थाहा छैन । तर, हामीले सकिएको विषयमा जानकारी गराइसकेका छौं ।’, उनले थपे ।
