सिन्धुली — आरडीटी किटको अभावमा क्वारेन्टाइनमा राखिएकाहरुको परीक्षण हुन सकेको छैन । मरिण गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १८ जनाको किटको अभावमा आरडीटी परिक्षण हुन नसकेको हो ।
चार दिनअघिदेखि क्वारेन्टाइनमा रहेका धेरैजसोको स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य रहेको र किटको अभावमा आरडीटी परीक्षण गर्न नपाएको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले बताए । समन्वय गरेर किट माग गरिएको र आरडीटी किट आएपछि परीक्षण हुने उनले जानकारी दिए । कवारेन्टाइनमा रहेका तीन जनामा सामान्य ज्वरो देखिएको छ । मरिण गाउँपालिका–७ का थामी समुदायका ती उनीहरु रौतहटको इँटाभट्टामा काम गर्ने श्रमिक हुन् ।
लकडाउनले गर्दा खान, बस्नलाई समस्या भएपछि हिँडेर सिन्धुलीस्थित आफ्नो घर आउने क्रममा हरिहरपुरगढी गाउँपालिकाले पनि उनीहरुलाइ क्वारेन्टाइनमा राखेको थियो । क्वारेन्टाइनमा राखिएका मध्ये १३ जना पुरुष र ५ जना महिला रहेको छन् । तीमध्ये पनि चारजना बालबालिका रहेका छन् । उनीहरुको दैनिक तीन पटकसम्म स्वास्थ्य जाँच भइरहेको छ ।
जिल्ला स्वास्थ्य कर्यालयले जिल्लामा आरडीटी परीक्षण ५५३ जनाको र पीसीआर परीक्षण आठ जनाको गरेकोमा सबैको नतिजा नेगेटिभ आएको जनाएको छ । कार्यालय प्रमुख जितेन्द्र साहले पीसीआर परीक्षण गर्न पाँज जनाको स्वाब पठाएकोमा नतिजा आइनसकेको बताए । उनले जिल्लामा ६ सय आरडीटी किट आएकोमा सबै सकिएको जनाए । सर्लाहीबाट आएका पाँच जना सिन्धुलीमाढीको क्वारेन्टाइनमा रहेको बताइएको छ ।
