कोरोना नियन्त्रण दूत !

भुइँमा खसेको एउटा क्याप्सुल झुक्किएर कुल्चिएपछि नर्स आत्तिएर कराउन पुगी, ‘लौ न नि, यो त खोक्रो पो रहेछ !’ उसलाई तत्काल अर्को अस्पतालमा पुर्‍याइयो । विस्तृत जाँचपछि ऊ मानसिक असन्तुलनकी रोगी रहेको ठहर भयो ।
शरच्चन्द्र वस्ती

‘प्रिय कमरेड, ‘कोरोना नियन्त्रणमा तपाईंले हासिल गरेको सफलताले विश्व नै चकित भएको जानकारी तपाईंसँगको फोनवार्ताबाट प्राप्त भएपछि म चकित भएको छु । म समेत चकित भइसकेपछि अब विश्वमा तपाईंको कार्यबाट चकित हुन कोही बाँकी छैन भन्ने तथ्यमा विश्वस्त गराउन चाहन्छु ।

कोरोना नियन्त्रण दूत !

‘कोरोनाको सम्भावित आक्रमणबाट सन्त्रस्त हाम्रो मुलुकका लागि तपाईंको विशेषज्ञता वरदान साबित हुनसक्छ । तसर्थ तपाईंको प्रत्यक्ष निर्देशनमा काम गरेका एक जना वरिष्ठ कमरेडलाई कोरोना नियन्त्रण दूतका रूपमा हाम्रो देशमा पठाइदिनुहुन हार्दिक अनुरोध गर्दछु । निजलाई मन्त्रिस्तरीय हैसियत र सुविधा प्रदान गरिनेछ । यसबाट हाम्रा दुई देशबीचको मित्रता नयाँ उँचाइमा पुग्ने विश्वास लिएको छु ।’

दक्षिण–पूर्वी एशियाको एउटा मित्र मुलुकबाट यस्तो पत्र आएको तेस्रो दिन प्रधानमन्त्रीले कमरेड दिगम्बरलाई त्यसतर्फ रवाना गराए । कोरोना प्रकरणमा उनी पर्दापछाडिका तेजिला खेलाडी साबित भएका थिए । आफ्नो अनुभव र दक्षताबाट उनले त्यहाँ कोरोना नियन्त्रणको नयाँ क्षितिज उद्घाटन गर्ने कुरामा प्रधानमन्त्रीलाई कुनै शंका थिएन ।

मित्रदेशमा दिगम्बरको भव्य स्वागत भयो । अत्याधुनिक सुविधासम्पन्न राजकीय आवासमा एक दिन विश्राम गरेर दोस्रो दिन उनले कार्यभार ग्रहण गरे । सम्बन्धित मन्त्री र सचिवहरूसँगको बैठकमा उनको पहिलो प्रश्न थियो, ‘अहिलेको सबैभन्दा ठूलो समस्या के हो ?’

‘किनमेल गर्न विदेश गएका हाम्रा आफन्तहरू हवाई सेवा बन्द भएकाले उतै अड्किएका छन् ।’

‘यसमा के समस्या भो त ? हवाइजहाज चार्टर गरेर झिकाउनोस् र एउटा फाइव स्टार होटल बुक गरेर दुई हप्ता क्वारेन्टाइनमा राख्नोस् । खानपीन, मनोरञ्जन, खेलकूद, मसाज आदिको व्यवस्था त्यहीं भइहाल्छ । आफ्ना जनताको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता हो ।’

‘तिनै मुलुकमा मजदूरी गर्न गएका चार लाख मानिस पनि अलपत्र परेका छन् । तिनलाई चाहिं के गर्ने नि ?’

‘ती कोरोनाका संवाहक हुन सक्छन् । सेना खटाएर तत्काल सीमा बन्द गर्नोस् । एक जना पनि छिर्न नपाओस् । जबर्जस्ती गर्न खोज्नेमाथि निर्धक्क बल प्रयोग गर्नोस् । आम जनतालाई कोरोनाबाट जोगाउनु सरकारको पहिलो कर्तव्य हो ।’

सरकारको प्राथमिकता र कर्तव्य यति स्पष्टसँग छर्लंग पारिदिएपछि दिगम्बरको बौद्धिक उँचाइबाट सबै अभिभूत भए । उनको दोस्रो प्रश्न थियो, ‘कोरोना संक्रमितको संख्या कति पुगेको छ ?’

‘आजसम्म त एक जना पनि भेटिएको छैन ।’

‘ठीक छ । तर संक्रमण हुन सक्ने खतरा छ । त्यसैले आजै बेलुकादेखि लकडाउन जारी गर्नोस् । जो जहाँ छ, उसलाई त्यहीं बसाउने । हलचल गर्न नदिने । घरबाहिर निस्क्यो कि ढाड सोझ्याउने ।’

‘गाडी पनि बन्द गर्ने ? हाम्रो शुक्रवारे पार्टी त बरबाद हुन्छ नि !’

‘कोही आफ्नै कार चढेर हिंड्छ, मल–सुपरमार्केट जान्छ भने नरोक्ने । तर बस, मिनिबस जस्ता जो पायो त्यही चढ्ने गाडी पूरै बन्द गर्ने । ठेलागाडा झन् खतरनाक हो, त्यसबाट रोगीको ओसारपसार हुन सक्छ । त्यसमा पनि प्रतिबन्ध लगाउने । जनतालाई कोरोनाबाट जोगाउन कुनै सम्झौता नगर्ने ।’

बैठकपछिको ककटेल पार्टीमा गृहमन्त्रीले जिज्ञासा प्रकट गरे, ‘यत्ति गरे पुग्छ त कमरेड ?’

‘कोरोनै देखा परेन भने त सक्किगो नि । तपाईं–हाम्रो के काम भो र, होइन ?’ दिगम्बरले हाँस्तै उनलाई कुनातिर लगे र एकछिन कानेखुसी गरे ।

पर्सिपल्ट तीन जिल्लामा कोरोना संक्रमित चार जना पक्राउ परे । २४ घण्टामा उनीहरूको सम्पर्कमा आएका ४६ जनालाई पहिचान गरी क्वारेन्टाइनमा राखियो । निजी सञ्चारमाध्यम नभएको र सामाजिक सञ्जालको चुस्त निगरानी गरिएको त्यस मुलुकमा नजाने कसरी यो खबर डढेलोसरि फैलियो ।

तुरुन्तै उच्चस्तरीय बैठक बस्यो । स्वास्थ्यमन्त्रीले गृहमन्त्रीलाई झम्टिए, ‘सीमा बन्द गरिएको बेला चार–चार जना विदेशबाट कसरी छिरे ?’

‘कहाँ के कमजोरी भएको हो, म बुझ्दैछु,’ गृहमन्त्रीको जवाफ चीसो थियो ।

ओठमा अव्यक्त मुस्कान खेलाउँदै दिगम्बरले भने, ‘यो सब छोड्नोस् मन्त्रीजी । नलाग्नु कोरोना लागिसक्यो । अब हजारौं लाखौंको जाँच गर्नुपर्छ । जाँच गर्ने उपकरण छ तपाईंसँग ?’

‘छैन’ स्वास्थ्यमन्त्री अलमल्ल परे । दिगम्बरले घण्टी बजाए । एउटा अर्ध तालुखुइले बैठकमा प्रवेश गर्‍यो । उसतर्फ इशारा गर्दै दिगम्बरले भने, ‘रातभरिमा उहाँले मगाइदिनुहुन्छ ।’

‘तपाईं त स्टेशनरी पसले होइन र ?’ स्वास्थ्यमन्त्रीले ठम्याउन खोजे ।

‘म एजेन्टको सम्पर्कमा छु’ ऊ कारोबारी कुरामा केन्द्रित भयो, ‘छिमेकी मुलुक घुमेर आएका दुई ट्रक उपकरण हाम्रै सीमानामा अडिएका छन् । दाम चाहिं अलि बढी छ । सात गुणा जति भन्छ ।’

स्वास्थ्यमन्त्रीलाई एकछिन छुट्टै कुरा बुझाएर दिगम्बरले भने, ‘ल निर्णय भयो । मगाइहाल्नोस् । यस्तो वेला दामको के कुरा भो र ? अनि त्यो क्याप्सुल पनि है !’

‘त्यो पनि पर्सिसम्ममा आइपुग्छ हजूर !’

जाँच गर्ने उपकरण अस्पताल पुगेपछि डाक्टरहरूले लिन मानेनन् । उनीहरूको भनाइ थियो, ‘यसले काम गर्दैन । दुनियाँले पत्रु भनेर मिल्काइसकेको जिनिस किन ल्याएको ?’

दिगम्बर विद्युत् गतिमा सक्रिय भए । वरिष्ठ डाक्टरहरू जगेडा समूहमा राखी मन्त्रालयमा हाजिर गराइए । तिनका ठाउँमा पार्टी पंक्तिका जिम्मेदार कमरेडहरूलाई वर्दीधारी अंगरक्षकका साथ सेतो गाउन, मास्क र स्टेथोस्कोप दिएर अस्पतालमा खटाइयो । तिनको नेतृत्वमा कनिष्ठ डाक्टर र नर्सहरूले अनुशासित रूपमा काम गर्न थाले ।

क्याप्सुल भने डाक्टर कमरेडको नियन्त्रणमा हुन्थ्यो । बिहान–बेलुका रोगीलाई स्वयं उनीहरूले ख्वाउने गर्थे । एक दिन भुइँमा खसेको एउटा क्याप्सुल झुक्किएर एउटी नर्सले कुल्चिएपछि ऊ आत्तिएर कराउन पुगी, ‘लौ न नि, यो त खोक्रो पो रहेछ !’ उसलाई तत्काल अर्को अस्पतालमा पुर्‍याइयो । विस्तृत जाँचपछि ऊ मानसिक असन्तुलनकी रोगी रहेको ठहर भयो । ऊ सेवामुक्त भई । त्यसपछि कसैले क्याप्सुल कुल्चिएन ।

कोरोना नियन्त्रणको काम युद्धस्तरमा अघि बढ्यो । केही हप्तामै पचासौं हजारको परीक्षण गरियो । हजारौंलाई अस्पतालमा राखियो । जाँच उपकरण र क्याप्सुलको निर्वाध आपूर्ति भइरह्यो ।

तिनका विरुद्ध मन्त्रालयको क्यान्टिनमा साउती गरिरहेका जगेडाका दुई डाक्टर जेल परे । दिगम्बरले कोरोनाबाट कोही मर्नुहुँदैन भन्ने लक्ष्य तोकिदिएका थिए । भयो पनि त्यस्तै । अझ केही चिहान–व्यवस्थापकले त मृतकको चाप साबिक भन्दा कम भएको बताउन थाले । विद्युत् शवदाहगृह सर्वसाधारणका लागि बन्द गरिएका थिए । तिनमा प्रहरी र सेनाका ट्रकले मात्र प्रवेश पाउँथे । त्यो पनि राति मात्र ।

यसबीच तीनवटा घटना भए । क. कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन गृह मन्त्रालयले तेल पिलाइएका कटबाँस र गोलीहरू ठूलो परिमाणमा आयात गर्‍यो । ख. देशको एकमात्र दूरसञ्चार कम्पनीले एक महीनाभित्र दुई लाख ग्राहक घटेको गोप्य प्रतिवेदन सरकारलाई बुझायो । ग. सरकारका तर्फबाट दिगम्बरको नागरिक अभिनन्दन गरियो ।

हरेक शुक्रवार दिगम्बर आफ्ना प्रधानमन्त्रीलाई प्रगति विवरण पठाउँथे । डेढ महीनापछि त्यो क्रम अचानक रोकियो । अर्को साता मित्र–मुलुकबाट प्रधानमन्त्रीकहाँ एउटा पत्र आइपुग्यो । पत्रमा लेखिएको थियो :

‘प्रिय कमरेड,

‘हाम्रो अनुरोधमा तपाईंले पठाएका कोरोना नियन्त्रण दूत कमरेड दिगम्बरले हामीलाई अवर्णनीय गुन लगाउनुभएको छ । उहाँबाट कोरोना नियन्त्रणमा मात्र नभई राज्य सञ्चालनमा समेत हामीले अमूल्य दिशानिर्देश प्राप्त गरेका छौं । कमरेडबाट पूरै एक वर्ष लाभान्वित हुने हाम्रो चाहना भए पनि हाल तदनुकूल परिस्थिति नदेखिएकाले गहन पीडाबोध गरिरहेका छौं ।

‘उहाँका जनपक्षीय क्रियाकलापबाट विचलित दुई जना निहत्था प्रतिक्रियावादी तत्त्वले गत शुक्रवार उहाँलाई निवासभित्रैबाट लछारपछार पार्दै फोहोर ओसार्ने ट्रकमा हाली डम्पिङ साइटको भीरबाट गुल्टयाउने भत्र्सनीय काम गरेका छन् । सीसी टीभी फुटेज मगाई हेर्दा उक्त घटना भइरहँदा सबै सुरक्षाकर्मी र जनसाधारणले लामबद्ध भई ताली बजाएको देखिएको छ, जुन कुरा विपक्षी दलविहीन यस देशका निम्ति गम्भीर चिन्ताको विषय हो ।

‘हामीले उसै दिन कमरेडको उद्धार गरी सघन उपचार गराइरहेका छौं । स्वास्थ्यलाभ गर्नासाथ उहाँलाई ससम्मान तपाईंकहाँ फिर्ता पठाउनेछौं । उहाँको निवासमा फेला परेका, डलर भरिएका चारवटा सूटकेस पनि कूटनीतिक उन्मुक्ति अन्तर्गत उहाँसँगै पठाइदिने विश्वास दिलाउन चाहन्छौं । हाम्रो मित्रता अमर रहोस् !’

प्रकाशित : वैशाख २८, २०७७ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?