मस्को — विश्वव्यापी रूपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पछिल्लो समय रुसमा निकै तीव्र भएको छ । रुसमा मार्च मध्यसम्म नयाँ संक्रमित फाट्टफुट्ट रूपमा भेटिने गरेका थिए । मार्च पहिलो सातासम्ममा जम्मा १७ जना संक्रमित रहेकामा अन्त्यमा २ हजार ३ सय पुगेका थिए । त्यसयता संक्रमित संख्या क्रमश: थपिँदै गएको हो ।
कोभिड–१९ का कारण रुसमा हालसम्म १ हजार ८ सय २७ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या १ लाख ९८ हजार ६ सय ७६ पुगेको छ । संक्रमणका आधारमा रुस हाल विश्वकै सातौं स्थानमा छ । रुसमा भन्दा पहिले संक्रमण देखिएका चीन, इरान, टर्कीलगायत देश रुसभन्दा पछि छन् ।
रुसमा शनिबार १० हजार ८ सय १७ जना संक्रमित थपिएका छन् भने १ सय ४ जनाको मृत्यु भएको छ । शुक्रबार १० हजार ६ सय ९९ र बिहीबार ११ हजार २ सय ३१ जनामा संक्रमण देखिएको थियो । बिहीबारको संख्या एकैदिन संक्रमित हुने हालसम्मकै उच्च हो । नयाँ संक्रमितमध्ये आधाभन्दा बढी राजधानी मस्कोका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पछिल्लो समय भाइरसको परीक्षण निकै ठूलो संख्यामा भएकाले नयाँ संक्रमित बढी भेटिएको दाबी गरेका छन् । उनका अनुसार रुसमा हाल दैनिक करिब १ लाख ५० हजार भन्दा बढी मानिसमा कोभिड–१९ को परीक्षण हुने गरेको छ । रुसमा हालसम्म ३५ लाखभन्दा बढीको परीक्षण गरिसकिएको छ ।
राष्ट्रपति पुटिनले संक्रमितको संख्या उच्च बिन्दुमा अझै नपुगेको जनाएका छन् । ‘भाइरसको भयानक खतरा अझै बाँकी छ,’ पुटिनको भनाइ छ, ‘अहिले भाइरसविरुद्ध एक भएर लड्नुको विकल्प छैन ।’ रुसले काम गर्न नपाइने अवधि मे ११ सम्मका लागि यसअघि नै घोषित गरिसकेको छ । भाइरसको संक्रमण नियन्त्रणका लागि के कस्ता कदम चाल्नेबारे विस्तृत योजना बनाउन अधिकारीहरूलाई निर्देशन दिइएको उनको भनाइ छ ।
मस्को सबैभन्दा बढी प्रभावित
कोभिड–१९ का कारण राजधानी मस्को सबैभन्दा बढी प्रभावित भएको छ । देशभरिका संक्रमितमध्ये करिब आधा मस्कोका छन् । मस्कोका स्थानीयलाई अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन मार्च अन्त्यदेखि नै प्रतिबन्ध लगाइसकिएको छ । मस्कोमा करिब १ करोड २५ लाख मानिस बस्छन् ।
मस्कोका मेयर सर्गेइ सोब्यानिमले मस्कोवासीलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन अपिल गरेका छन् । उनले अत्यावश्यक कामका लागि बाहिर निकस्ने मानिसले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने बताए । सोब्यानिमले लकडाउन अवधि ३१ मेसम्मका लागि बढाइएको घोषणा गरेका छन् । मस्कोमा हालसम्म ३ लाखभन्दा बढीमा संक्रमण भएको अनुमान गरिएको उनले बताए । तर परीक्षणपछि पुष्टि भएकाको संख्या करिब ९५ हजार छ ।
सोब्यानिमले सघन उपचार कक्षमा बिरामीको संख्या बढिहरेको जनाउँदै संक्रमित हुनेको संख्यामा तत्काल सुधार आउने संकेत नदेखिएको बताएका छन् । उनले १० हजारभन्दा बढी बिरामीको उपचार गर्न सकिने गरी मस्कोमा ४४ वटा अस्थायी अस्पताल बनिरहेको जनाए ।
प्रधानमन्त्री र मन्त्री नै संक्रमित
रुसी प्रधानमन्त्री मिखाइल मिसुस्टिनले गतसाता आफूलाई कोरोना संक्रमण भएको बताएका थिए । उनी रुसमा राष्ट्रपतिपछिका वरिष्ठ अधिकारी हुन् ।
संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री मिसुस्टिनले अस्थायी रूपमा पदीय जिम्मेवारी त्यागिसकेका छन् । उनलाई गत जनवरीमा पुटिनले प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । प्रथम उपप्रधानमन्त्री आन्द्रेइ बेलोसोभले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।
त्यसैगरी, निर्माणमन्त्री भ्लादिमिर याकुसेभ पनि कोभिड–१९ बाट संक्रमित भएको शुक्रबार पुष्टि भएको थियो । उनको हाल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
स्वास्थ्य उपकरण अभाव
संक्रमितको संख्या बढेसँगै रुसमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगायतका स्वास्थ्य सामग्रीको अभाव भएको छ । जसका कारण कोभिड–१९ का बिरामीको उपचारसमेत प्रभावित भएको जनाइएको छ । संक्रमितको संख्या बढेसँगै सैनिक पार्क र एक्स्पो सेन्टरमा अस्थायी अस्पतालहरू बनाएर उपचार थालिएको छ ।
अधिकारीहरूले सामग्रीको अभाव हुन नदिन उत्पादन तथा आयातमा वृद्धि गरिएको जनाएका छन् । उनीहरूका अनुसार हाल दैनिक करिब एक लाखको संख्यामा पीपीई उत्पादन हुने गरेको छ । मार्चमा करिब दैनिक ३ हजार पीपीई उत्पादन हुने गरेको थियो । यसअघि राष्ट्रपति पुटिनले चिकित्सकहरूलाई पीपीई तथा उपकरणहरूको अभाव रहेको स्विकार्दै उत्पादन बढाउने बताएका थिए ।
कार्यबोझ भएको भन्दै चिकित्सकद्वारा आत्महत्या
रुसमा कोभिड–१९ संक्रमित बिरामीको उपचारमा संलग्न तीन जना चिकित्सकले आत्महत्या गरेका छन् । रुसी सञ्चार माध्यमका अनुसार उनीहरूले कार्यबोझ निकै बढेको तथा स्वास्थ्य उपकरणको अभाव भएको भन्दै आत्महत्या गरेका हुन् ।
आफू कार्यरत अस्पतालका झ्यालबाट हाम फालेका तीनमध्ये दुई चिकित्सकको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
रुसका एक दर्जनभन्दा बढी अस्पतालका चिकित्सकहरूले गतसातादेखि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अभाव भएको तथा संक्रमण रोक्ने कार्यविधिमाथि प्रश्न उठाउँदै आएका छन् । त्यसका साथै चिकित्सकहरूलाई सार्वजनिक रूपमा आफ्ना गुनासो भन्न रोक लगाइएको र कुनै चिकित्सकले सरकारी आदेश बेवास्ता गरे जागिरबाट हटाइने धम्की दिने गरिएको उनीहरूको भनाइ छ ।
अस्पतालका झ्यालबाट हामफाल्ने चिकित्सकमध्ये दुई जनाले कार्यस्थलका विषयमा विमति राखेका थिए । अर्का एकमाथि साथीलाई कोरोना सारेको आरोप लगाइएको थियो । उपचारका क्रममा कोरोनाबाट संक्रमित भएका उनको आफू कार्यरत अस्पतालमै उपचार भइरहेको थियो ।
