पहिचान लुकाउँदा कन्ट्याक्ट ट्रेसिङ जटिल

केही संक्रमितले विपरीत लिंगका व्यक्तिसँगको भेटघाट लुकाउने गरेको स्वास्थ्यकर्मीको भनाइ

वैशाख २४, २०७७

अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ का संक्रमित र तिनको सम्पर्कमा आएकाहरू नखुल्दा कन्ट्याक्ट ट्रेसिङ मा जटिलता देखिएको छ । संक्रमित पुष्टि भएकासँग परीक्षण नतिजा आउनुअघि सम्पर्क भएका व्यक्तिहरू खुल्न चाहेका छैनन् । यसले संक्रमण फैलिँदै जाने जोखिम रहेको छ ।

संक्रमितहरूले आफ्नो यात्रा, भेटघाटबारे स्पष्ट रूपमा नबताउने गरेको स्वास्थ्यकर्मीहरूले जनाएका छन् । उनीहरूका अनुसार संक्रमितको सम्पर्कमा आएकाहरूले समेत जानकारी दिन आनाकानी गरिरहेका छन् । केही व्यक्तिले काल्पनिक कथा सुनाएर भ्रममा पार्न खोजेको पनि पाइएको छ । एक स्वास्थ्यकर्मीले केही संक्रमितले आफूसँग सम्पर्कमा आएका विपरीत लिंगीय व्यक्तिसितको भेटबारे लुकाउने गरेको पाइएको बताए ।

‘कुनै व्यक्तिमा संक्रमण प्रमाणित भयो भने सोधखोज गर्दा सूचना लुकाउने, थाहा छैन भन्ने गरेको देखिन्छ,’ स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले भने, ‘बाहिरबाट आएकाहरूको विस्तृत अभिलेखीकरण हुँदैन, उनीहरूले फारमसमेत राम्ररी भर्दैनन् ।’

कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङ महत्त्वपूर्ण हुन्छ तर यहाँ त्यही काम चुनौतीपूर्ण बनेको छ । डा. पोखरेलले संक्रमित र निजका सम्पर्कमा आएकाहरूको ‘ट्रेस’ प्रभावकारी हुन नसकेको औंल्याए । उलने हाल मुलुकमा कन्ट्याक्ट ट्रेसिङका लागि सामान्य रूपमा ‘पारामेडिक्स’ र कहिलेकाहीं माथिल्लोस्तरको जनशक्ति पठाउने गरिएको बताए ।

स्वास्थ्य मन्त्रालयका एक पदाधिकारीका अनुसार स्थानीयस्तरमा कार्यरत स्वास्थ्यकर्मी पहिले कन्ट्याक्ट ट्रेसिङ किन, कसरी गर्नेबारे स्पष्ट थिएनन् । ‘कन्ट्याक्ट ट्रेसिङको फारम अंग्रेजीमा भएकाले समेत स्वास्थ्यकर्मी प्रस्ट हुन नसक्दा सही जानकारी आउन सकेको थिएन । अहिले फारमलाई नेपालीमा अनुवाद गरिएपछि केही सहज भएको छ,’ उनले भने ।

कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी बनाउन स्थानीयस्तरका स्वास्थ्यकर्मीलाई व्यक्तिगत प्रशिक्षण जरुरी रहेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । कन्ट्याक्ट ट्रेसिङ गरिएका व्यक्तिलाई हरेक दिन फोन गरी १४ दिनसम्म स्वास्थ्य स्थितिलगायत बारे जानकारी लिने गरिन्छ । कन्ट्याक्ट ट्रेसिङअन्तर्गत टिपोट गर्दा नाम, फोन नम्बर, हालको विस्तृत ठेगाना, तत्काल केही स्वास्थ्य समस्या भए, नभएको, कुन कुन ठाउँमा घुमफिर गरेको, संक्रमित व्यक्तिसँग कुन खालको सम्पर्क तथा कस्तो नाता रहेको लगायतका जानकारी लिइन्छ । संक्रमितसँग अन्तिम सम्पर्कको मिति र स्थानको पनि जानकारी राखिन्छ । बिरामी भएको भए कुन अस्पताल, स्वास्थ्य निकायमा गएको, स्वास्थ्यकर्मी लगायतकाले सेवा दिँदा कस्तो सावधानी अपनाएको लगायतका सूचनासमेत लिइन्छ ।

‘कन्ट्याक्ट ट्रेसिङले उच्च जोखिम, सामान्य जोखिममा कति जना छन् भन्नेबारे समेत जानकारी दिन्छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागका एक पदाधिकारीले भने,

‘यसबाट कसलाई पीसीआर र आरडीटी परीक्षण गर्नुपर्ने, कसलाई आइसोलेसनमा राख्नुपर्ने, कतिलाई क्वारेन्टाइनमा बसाउनुपर्ने भन्नेबारे थाहा हुन्छ ।’

कन्ट्याक्ट ट्रेसिङबाट आएको जानकारी स्वास्थ्य मन्त्रालयले ‘गो डाटा’ सºटवेयरमा हाल्दा यसले विस्तृत मार्गचित्र देखाउँछ । ‘कुन ठाउँ, कुन समुदाय, महिला वा पुरुष, कुन कुन उमेरका कति प्रभावित छन्, कति शंकास्पद छन् आदिबारे गो डाटा सºटवेयरले विस्तृत जानकारी दिन्छ,’ इपिडिमियोलोजीका एक अधिकारीले व्याख्या गरे ।

स्वास्थ्य मन्त्रालयका एक पदाधिकारीका अनुसार ‘लकडाउन’ को अवस्थामा एक जना संक्रमितले २५ देखि ३० जनासँग प्रत्यक्ष सम्पर्क गरेको पाइएको छ । ‘मुलुक लकडाउनमा रहेकाले संक्रमणको लामो चेन छैन,’ ती पदाधिकारीले भने, ‘लकडाउन नभएको भए यो चेन व्यापक हुन्थ्यो ।’कन्ट्याक्ट ट्रेसिङबाट प्राप्त जानकारीअनुसार उदयपुरमा संक्रमित एक जना चालकले टेम्पु लकडाउनको एक दिनअघिसम्म चलाएको पाइएको थियो भने एक जना सुचीकारले दुई–चार सय मास्क सिलाएर गाउँ–टोलमा बाँडेका थिए । नेपालगन्जका पहिलो संक्रमतिको सम्पर्क भने व्यापक देखिएको स्वास्थ्य मन्त्रालयका अधिकारीको भनाइ छ ।

थप सात संक्रमित

बाँकेका ७ जनामा मंगलबार कोभिड–१९ पुष्टि भएपछि मुलुकमा कुल संक्रमितको संख्या ८२ पुगेको छ । संक्रमित भएकामध्ये ६१ जना पुरुष र २१ जना महिला छन् । ६६ जना विभिन्न अस्पतालमा उपचाररत छन् । अन्य निको भएर फर्किएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाको अनुसार हाल विराटनगरमा ३१, नेपालगन्जमा २३, वीरगन्जमा ९, रूपन्देहीमा १, धनगढीमा १ र भरतपुरमा १ जनाको उपचार भइरहेको छ । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य छ । मुलुकमा हालसम्म १३ हजार ८ सय ५० नमुनाको पीसीआर परीक्षण गरिएको छ । यस्तै, आरडीटी किटबाट ५२ हजार २ सय २७ नमुनाको परीक्षण भइसकेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा समेत पीसीआरबाट कोभिड–१९ परीक्षण गर्न थालिएको छ । अब पीसीआर परीक्षण गर्ने प्रयोगशालाको संख्या देशभरमा १८ पुगेको छ ।

हाल देशभरिमा २१ हजार ९९ जना क्वारेन्टाइनमा छन् । प्रदेश १ मा २ हजार १ सय २४, प्रदेश २ मा १ हजार २ सय ९०, वाग्मतीमा २ सय ५८, गण्डकीमा ७ सय २६, प्रदेश ५ मा ८ हजार ९ सय २२, कर्णाली प्रदेशमा ३ हजार ७ सय २४ र सुदूरपश्चिममा ४ हजार २५ जना क्वारेन्टाइनमा छन् ।

कोरोना भाइरस

अतुल मिश्र कान्तिपुर दैनिकमा प्रमुख उप-सम्पादकका रुपमा कार्यरत छन् । उनी स्वास्थ्थ तथा विज्ञान विषयमा विगत २५ वर्ष देखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully