काठमाडौँ — नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले कोरोना भाइरसको महामारीले अर्थतन्त्रमा पार्ने प्रभावको मूल्य राजनीतिले चुकाउनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।
प्रतिनिधिसभाको अर्थ समितिको सोमबारको बैठकमा वैदेशिक रोजगारीमा गएकाहरू रोजगारी गुमेर फर्किएपछि व्यवस्थापन गर्न नसक्दा त्यो अवस्था आउनसक्ने बताएका हुन् ।
'खाडी र भारतमा ठूलो संख्यामा युवाहरू गएका छन् । उनीहरू स्वदेश फर्किएर आएर रोजगारी नपाएर जुलुस गर्न थाले भने त्यसको राजनीतिले मूल्य चुकाउनुपर्ने हुनसक्छ,' उनले थपे, 'उनीहरुको सीपअनुसारको काम दिन सके स्वदेशी उत्पादन बढ्नेछ, दिन सकिएन भने अहिलेको बजेट प्रहरीलाई लट्ठी उपलब्ध गराउनमै खर्च हुनसक्छ ।'
वैदेशिक रोजगारीबाट फर्किएर आउनेहरूका लागि बजेटमा स्पष्ट योजना ल्याउनुपर्ने पाण्डेको सुझाव थियो । खाडी मुलुकहरू, कोरिया र भारतमा काम गर्न गएकाहरू कोरोनाको प्रभावबाट कति फर्किन्छन् भन्ने यकिन नभसकेको अवस्थामा सरकारले समयमा नै सचेत बन्नुपर्ने उनको सुझाव थियो । स्थानीय तहहरूलाई कति मानिस वैदेशिक रोजगारीबाट फर्किएका छन् भन्ने तथ्यांक लिन भन्नुपर्ने उनले सरकारलाई सुझाएका छन् ।
वैदेशिक लगानी आउने अवस्था न्यून रहेको, विश्वका वित्तीय संस्थाहरूले सहयोग दिन नसक्ने, विभिन्न मुलुकहरूले दिने आर्थिक सहयोग उनीहरू नै समस्यामा पर्ने भएकाले आउन नसक्ने कुराको आकलन गरेर सरकारले बजेट तयार पार्नुपर्ने उनको भनाइ छ ।
अनावश्यक खर्च कटौती गरेर त्यस्तो कुराको क्षतिपूर्ति गर्नुपर्ने उनको भनाइ छ । निजामती सेवाका कर्मचारीमा नयाँ भर्ना नलिने, सुरक्षाकर्मीमा नयाँ भर्ना नलिने, एउटै भवनबाट विभन्न मन्त्रालय र कार्यालय सञ्चालन गरेर अनावश्यक भौतिक पूर्वाधारमा खर्च गर्न नहुने उनको सुझाव छ ।
त्यस्तै, आगामी बजेटमा सञ्चालनमा रहेका तत्काल आयआर्जन हुने परियोजना सम्पन्न गर्नुपर्नेमा ध्यान दिनुपर्ने पाण्डेको सुझाव छ । मेलम्ची खानेपानी, माथिल्लो तामाकोशी, अन्तर्राष्ट्रिय विमानस्थलजस्ता परियोजना सम्पन्न गर्नका लागि बजेट विनियोजन गर्न पाण्डेले अर्थमन्त्री युवराज खतिवडालाई सुझाव दिएका छन् ।
सँगै प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, युवा स्वरोजगारजस्ता कार्यक्रमका रकम कटौती गरेर वैदेशिक रोजगारबाट फर्किएकाहरूका लागि विभिन्न काम गर्नका लागि लगानी दिनका लागि कोष खडा गर्नुपर्ने उनले सुझाए ।
'पर्यटन क्षेत्र उकास्न कर्मचारीलाई १ महिना घुम्ने योजना बनाऔं'
नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका पाण्डेले मुलुकको पर्यटन क्षेत्रमा कोरोना भाइरसको प्रकोपले ठूलो धक्का पुगेको बताए । नेपाली अर्थतन्त्रको ठूलो आधार पर्यटन क्षेत्र सुधारका लागि सरकारले आन्तरिक पर्यटन विस्तार गर्नुपर्ने बताए ।
बाह्य पर्यटन तत्काल आउन सक्ने सम्भावना नरहेको बताउँदै उनले भने, 'पर्यटन क्षेत्र करिब २ वर्ष खत्तम हुने अवस्था देखिन्छ । पर्यटन क्षेत्रका संलग्नहरूको जीविका चलाउनका लागि बजेटमा व्यवस्था गर्नुपर्छ । त्यसका लागि आन्तरिक पर्यटनलाई बढावा दिनुपर्छ । कर्मचारीलाई १ महिनाको तलब भ्रमणमा जनका लागि प्रोत्साहन गरौं ।'
यसरी आन्तरिक पर्यटन बढावा दिएमा होटल व्यवसाय र पर्यटन व्यवसायमा सुधार हुने उनको भनाइ थियो ।
